10/21/2025, 21:09:40
मङ्गलबार, कार्तिक ०५, २०८२

इटालीको अर्थतन्त्रका लागि आप्रवासी कामदार महत्वपूर्ण रहेको ठहर


रोम, कात्तिक ४ : इटालीमा विदेशी उद्यमीको सङ्ख्या बढ्दै गएको र आप्रवासी कामदारले सन् २०२४ मा इटालीको अर्थतन्त्र र जनसाङ्खिकीयमा महत्वपूर्ण भूमिका खेलेका सोमबार जारी गरिएको एक रिपोर्टले देखाएको छ ।

भेनिसस्थित लियोन मोरेसा फाउन्डेसनले गरेको आप्रवासन अर्थतन्त्र सम्बन्धी प्रतिवेदनका अनुसार गत वर्ष विदेशी कामदारले करिब १७७ अर्ब युरो (२०६ अर्ब अमेरिकी डलर) आम्दानी गरेका थिए, जुन इटालीको कुल गार्हस्थ्य उत्पादनको नौ प्रतिशत बराबर हो । इटालीमा रहेका ५४ लाख विदेशी बासिन्दा मध्ये सन् २०२४ मा २५ लाख विदेशबाट आएका कामदार रहेका र यो राष्ट्रिय श्रमशक्तिको १०.५ प्रतिशत हो ।

इटालीले स्थानीय श्रम अभावको सामना गरिरहेका क्षेत्रमा आप्रवासी श्रमिकको भर्ती जारी राखेको छ,” रिपोर्टमा भनिएको छ । अधिकांश आप्रवासी प्रगतिको सीमित सम्भावनासहित कम दक्ष र अनिश्चित रोजगारीमा छन् । आप्रवासी सम्भावनाको राम्रो पहिचानले कुल गार्हस्थ्य उत्पादन, उपभोग र सार्वजनिक राजस्वमा थप वृद्धि गर्न सक्ने प्रतिवेदनमा उल्लेख छ ।

देशमा विदेशी उद्यमशीलता पनि विस्तार भएको छ । गत वर्ष सात लाख ८७ हजार आप्रवासी आफ्नो स्वामित्वको व्यवसायसहित इटालीमा कार्यरत थिए । यो राष्ट्रिय कुल श्रमशक्तिको १०.६ प्रतिशत हो र सन् २०१४ को तुलनामा २४.४ प्रतिशत बढी हो । सोही अवधिमा इटालीको स्वामित्वमा रहेका कम्पनी ५.७ प्रतिशतले घटेका छन् ।

आप्रवासीले इटालीको जनसाङ्ख्यिक सन्तुलनलाई पनि बलियो बनाएका देखिन्छ । इटालीमा सन् २०२४ मा प्रति एक हजार आप्रबासी व्यक्तिमा करिब १० जन्मदर रेकर्ड भएको छ यो सङ्ख्या इटालियनमा ६.१ छ भने मृत्यु दर पनि कम छ । अनुसन्धानकर्ताले आप्रवासनको वृद्धिमा सुस्तता आएको र इटाली स्थिरीकरणको चरणमा प्रवेश गरेको बताएका छन् ।

इटाली पुग्ने आप्रबासी कामदार पठाउने रोमानिया, अल्बानिया, मोरक्को र चीन प्रमुख विदेशी समुदाय हुन् । यदि राम्रोसँग व्यवस्थापन गरियो भने, आप्रवासनले इटालीको अर्थव्यवस्था, जनसङ्ख्यिकी र सार्वजनिक वित्तमा सकारात्मक योगदान पुर्याउँछ भन्ने प्रतिवेदनले निष्कर्ष निकालेको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..