घोडाघोडी(कैलाली), कात्तिक ४ : पछिल्लो समय कैलालीका किसान व्यवसायी पुष्प खेतीप्रति आकर्षित हुँदै गएका छन् । पुष्प खेतीबाट आकर्षण आम्दानी हुन थालेपछि पुष्पखेती गर्नेहरूको सङ्ख्या बढ्दै गएको हो । धनगढी उपमहानगरपालिका वडा नम्बर ६ का शङ्कर विष्टले कृषी व्यवसाय गर्न थालेको दस वर्ष भयो । पुष्प खेती सुरु गरेपछि विष्टको पछिल्लो तीन वर्षमा अन्य कृषि बालीमा भन्दा आम्दानी राम्रो भएको अनुभव छ ।
विष्ट भन्नुहुन्छ, “मैले सिजनेवल मात्र नभएर अफसिजनमा समेत पुष्प खेती गर्दै आएको छु । व्यवसायी पुष्प खेतीबाट राम्रै आम्दानी भएपछि तीन वर्ष भयो एक बिघा जमिनमा पुष्प खेती गर्दै आएको छु ।”
धनगढी उपमहानगरपालिकाले समेत पछिल्लोसमय भारतीय आयातलाई निरुत्साहित गर्दै स्थानीय उत्पादनलाई जोड दिन सहयोग गरेपछि विष्टलगायत अन्यलाई झनै सहज भएको छ ।
विष्ट धनगढी उपमहानगरपालिका पुष्प व्यवसायी समुहको सचिवसमेत हुनुहुन्छ । उहाँले धेरै थोरै पुष्प व्यवसाय गर्ने सबै समुहमा जोडिएर पुष्प खेतीलाई निरन्तर दिनुका साथै सामूहिक भण्डारण र बजारीकरणमा उपमहानगरपालिकाले सहयोग पुर्याएको बताउनुभयो । उहाँले हालैमात्र जिल्लाभरि रहेका पुष्प व्यवासायीलाई एकजुट बनाउन कैलाली जिल्ला पुष्प व्यवसायी सङ्घ तर्दथ समिति गठन गरेको र उक्त समितिको आफू अध्यक्षसमेत रहेको जानकारी दिनुभयो ।
विष्टले भन्नुभयो, “फूलको दर भाउ कायम गर्न, व्यवसायी एकता र बजार प्रवर्धनका लागि समिति बनाएका छौं, कैलालीको टिकापुर, गौरीगङ्गा, घोडाघोडी, गोदावरी र धनगढीमा व्यवसायी फूल खेती गर्नेको लिस्ट बनाएका छौं । १७ जना अहिलेसम्म व्यवसायी फूल खेती गर्दै आएको हामीसंँग जोडिनु भएको छ ।”
विष्टले यो सिजनमा २० क्विन्टल फूल बेच्ने योजना सुनाउनु भयो । उहाँले प्रति क्विन्टल ३५ हजार देखि ४० हजार रुपियाँ दरमा बिक्री हुने बताउनुभयो । जिल्लामा विष्टसँगै लामोसमय पुष्प व्यवसाय गर्ने अर्का हुनुहुन्छ टीकापुर नगरपालिका–१, दक्षिणपूर्वा वनगाउँका ५४ वर्षीय सीताराम चौधरी । उहाँलाई यतिखेर मखमली, सयपत्रीको माला र फूल बिक्री वितरणमा भ्याइनभ्याई छ ।
२०७४ सालदेखि पुष्प व्यवसायी सुरु गर्नुभएका सीतारामलाई फूलखेतीले राम्रो आम्दानी मात्र दिएको छैन, जिल्लामै पुष्प व्यवसायीका रूपमा स्थापित र नमुना व्यवसायी हुनुभएको छ । उहाँ पुष्प व्यवसाय प्रशिक्षकका रूपमा पनि स्थापित हुनुहुन्छ भने हालै गठन भएको पुष्प व्यवसायी सङ्घको जिल्ला उपाध्यक्ष हुनुहुन्छ ।
स्नातक तहसम्म अध्ययन गरेका सीतारामलाई सुरुमा पुष्प व्यवसायबाट यतिको आम्दानी हुन्छ भन्ने लागेको थिएन ।
फूलखेतीको सुरुवाती दिन सम्झँदै सीताराम भन्नुहुन्छ, “फूल खेती गर्नुभन्दा पहिला सामान्य धान गहुँ खेतीमै रमाएको थिए । गाउँमै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष थिएँ । विद्यालयमा कुनै कार्यक्रम भयो भने विद्यार्थीलाई फूल लिएर आउन भनिन्थ्यो तर कसैले पनि फूल ल्याउँदैन थे, त्यतिखेर फूल लगाउनमा कसैको चासो थिएन, मैले फूलखेती गर्ने सोच बनाएँ र सुरु गरेँ ।”
एक सिजनमा सात लाख रुपियाँसम्म फूल खेतीबाट आम्दानी गर्नुभएको सीतारामले विगतको वर्षमा तिहारमा एकै दिनमा पाँच लाख बढीको फूल बिक्री गरेको अनुभव सुनाउनुभयो । एक बिगा पाँच कट्ठा जमिनमा पुष्प खेती गर्नु भएका उहाँले तिहारमा मखमली र सयपत्रीको अत्यघिक माग हुने भएकाले यसको बढि नै खेती गर्नुभएको छ ।
बाह्रैमास फूल खेती गर्ने सीतारामले फूल उत्पादनदेखि प्याकिङसम्मको तालिम लिएको बताउनुभयो । उहाँले उत्पादन गरेको फूल नेपालका विभिन्न ठाउँमा पुग्ने गर्दछ । जिल्लामा अन्य पुष्प व्यावसायीलाई एकजुट बनाइएर पुष्प व्यवसायलाई अझ बृहत् बनाउन आफूले पुष्प व्यवसायसम्बन्धी तालिम दिने गरेको समेत उहाँले बताउनुभयो । तिहारमा तीन लाखको फूल बेच्ने योजना रहेको सीतारामले सुनाउनुभयो ।
– चाँदनी आचार्य