
काठमाडौँ, २९ असोज : दशक लामो कांग्रेसको नेतृत्व सम्हालेका शेरबहादुर देउवा औपचारिक रुपमा मंगलबारदेखि पार्टीको कार्यकारी भूमिकाबाट बिदा भएका छन् । आगामी १५ औं महाधिवेशनमा विधानले उनलाई उम्मेदवार हुन दिने छैन तर देउवा स्वयंले भने केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै मंगलबार अब आफू उम्मेदवार नहुने घोषणा गरे ।
पार्टीको १५ औं महाधिवेशन सम्पन्न गर्न देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यकारी सभापतिको जिम्मेवारी तोकेका छन् । यही सन्दर्भमा राजनीतिक विश्लेषक तथा प्राध्यापक कृष्ण खनालसँग कुलचन्द्र न्यौपानेले गरेको कुराकानी :
कांग्रेस सभापति शेरबहादुर देउवाले कार्यकारी भूमिका छाड्ने कुरालाई कसरी लिनु भएको छ ?
अहिलेको परिस्थितिमा देउवाजीले कार्यवाहक दिएर मात्रै हुन्न । उहाँले आफैंले महसुस गरेर नेतृत्व छोड्नुपर्छ भन्ने धारणा बनिसकेको छ । कार्यभार हस्तान्तरण गर्ने औचित्य र सन्दर्भसमेत अब कमजोर भइसकेको थियो । केन्द्रीय कार्य समितिलाई पूर्ण रूपमा छाडिदिनु पर्दथ्यो । महाधिवेशनका लागि नयाँ संयोजक बनाएर अलग बसिदिए राम्रो हुन्थ्यो । अब कांग्रेस उहाँको प्रतिदिनको निगरानीमा चल्ने अवस्थामा छैन । उहाँ जति दिन रहनुहुन्छ, कांग्रेस त्यति नै कमजोर हुँदै जान्छ । अहिले उहाँले कार्यभार दिएपछि अब पूर्ण विश्राम लिनुपर्छ, फेरि सक्रिय हुने आशय नराखी ।
कार्यवाहक दिएर मात्रै हुँदैन भन्नु भएको हो ?
नियमित महाधिवेशनमार्फत तत्काल नेतृत्व परिवर्तन गर्नु पर्ने बेला हो । मंसिरभित्र नयाँ नेतृत्वसहित चुनावी तयारी नगरे कांग्रेसलाई ठूलो धक्का लाग्नेछ । प्रतिनिधिसभा पुनर्स्थापना हुन्छ भन्ने आशामा अब बस्न मिल्दैन । फेरि पनि ओली र देउवाको पुरानै खेल चल्दैन । यसले न कांग्रेस बन्छ न मुलुक । जेन–जी आन्दोलनले ओली, देउवा र प्रचण्डको खेल समाप्त गरिसकेको छ । चुनाव भएन भने न प्रतिनिधिसभा पक्का हुन्छ भनेर फेरि कांग्रेस–एमालेले अपेक्षा गरेजस्तो अवस्था अब फर्किन्न । नेपाली राजनीति अब त्योभन्दा धेरै अगाडि पुगिसकेको छ ।
तीनवटा नेताहरुले विश्राम लिनुपर्छ भन्ने तपाईंको भनाइ हो ?
देउवा, प्रचण्ड र ओलीले पनि जिम्मेवारी छोड्नुपर्छ । ओलीको टिप्पणीले समाजमा असन्तोषको विस्फोट निम्त्याउने काम गरेको छ । कांग्रेस र एमाले सत्तामा हुँदा सुरक्षा निकायहरू असफल रहे । यसमा घूसपैठ मात्रै भयो भनेर उनीहरु उम्कने ठाउँ छैन । यिनीहरुबाट शासन अब चल्नु हुन्न । चल्न दिन हुन्न । तीनै जना नेताहरुले विश्राम लिनुपर्छ ।
कांग्रेसमा देउवाले कार्यकारिणी भूमिका छोडेर कार्यवाहक दिएपछि भइ हाल्यो नि भन्ने मत पनि छ नि ?
कार्यवाहक सभापतिको हैसियतले पूर्णबहादुर खड्कालाई जिम्मेवारी दिए । अब म आउँदिन भन्ने संकेत देउवाजीले गर्नुभएको हो भने त्यसलाई एक हदमा सकारात्मक रूपमा मान्नुपर्छ । तर, उपसभापतिले कार्यवाहकको नेतृत्व गरेर कांग्रेसका चुनौती पार गर्न सक्दैन । नयाँ उत्साह, ऊर्जा र नेतृत्वको स्पष्टतासहित कांग्रेस चुनावतर्फ जानुपर्छ । स्पष्ट रूपमा भन्नुपर्छः जसको नेतृत्वमा कांग्रेस चुनाव लड्दैछ, उसले परिणाम दिन नसके राजनीतिबाट विश्राम लिनेछ ।
६ दशक लामो देउवाको राजनीतिलाई संक्षिप्त रुपमा भन्नुपर्दा तपाईं कसरी मूल्याकंन गर्नुहुन्छ ?
मैले कहिल्यै देउवालाई सफल राजनीतिक सोच भएको नेतृत्वको रूपमा लिन सकेको छैन । विशेषगरी २०५९ सालमा दरबारको सारथि भएर प्रतिनिधिसभा विघटनमा संलग्न भएपछि उनको राजनीतिक विश्वसनीयता समाप्त भयो । फेरि पनि भाग्यले होइन, कांग्रेसभित्र प्रतिस्पर्धी नेतृत्वको निर्माण नहुनु र कार्यकर्ताहरूको लाचारीका कारण उनले पटक–पटक प्रधानमन्त्री बन्ने मौका पाए । चुनाव गर्ने भन्दै प्रतिनिधिसभा विघटन गर्न खोज्दा असक्षम, अनि तीनै राजाद्वारा हटाइएका व्यक्तिलाई फेरि प्रधानमन्त्री नियुक्त गर्दा गोरखाका राजाले ‘न्याय दिएँ’ भन्ने उनको राजनीतिक दृष्टिकोण स्वार्थमा आधारित मात्रै छ । पार्टीले सशक्त चुनौती दिन नसक्दा र प्रतिस्पर्धी समूह कमजोर बन्दा नै देउवाले पटक–पटक प्रधानमन्त्री हुने मौका पाएका हुन् । पार्टीले उनको अयोग्यताको पहिचान नै गर्न सकेन । सडकले त्यो अयोग्यतालाई अहिले आएर उजागर गरेको छ ।
– कुलचन्द्र न्यौपाने