काठमाडौँ, असोज २२ : नेपाललाई १० लाख १८ हजार एक सय डोज हैजा रोग विरुद्धको खोप प्राप्त भएको छ । पर्सा र बारा जिल्लामा हैजा रोगको महामारी विरुद्ध खोप अभियान सञ्चालनका लागि नेपालले १० लाख १८ हजार एक सय खोप प्राप्त गरेको हो ।
बुधबार स्वास्थ्य सेवा विभाग, टेकुमा एक कार्यक्रमका बिच विश्व स्वास्थ्य सङ्गठन तथा युनिसेफका प्रतिनिधिले स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टङ्कप्रसाद बारकोटीलाई सो खोप हस्तान्तरण गरेका हुन ।
सरकारले “एक वर्ष उमेर माथिका” सबैलाई यही असोज–कार्तिक महिनामा हैजा विरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको छ ।
पर्सा जिल्लाको सबै पालिका र बारा जिल्लाका छ वटा स्थानीय तह कलैया उप–महानगरपालिका, जितपुर–सिमरा उप–महानगरपालिका, परवानीपुर गाउँपालिका, प्रसौनी गाउँपालिका, फेटा गाउँपालिका र विश्रामपुर गाउँपालिकामा एक वर्ष उमेर माथिका सबै बालबालिकालाई यही असोज–कार्तिक महिनामा उक्त हैजा विरुद्धको खोप दिन लागेको परिवारकल्याण महाशाखाले जनाएको छ ।
चिकित्सकका अनुसार हैजा रोग विरुद्धको खोप मुखबाट खुवाइन्छ । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार हैजा भिब्रियो कोलेरी प्रजातीको जीवाणुबाट मानिसमा लाग्ने अति सङ्क्रामक झाडापखाला सम्बन्धि रोग हो ।
यो रोग दुषित खाना वा पानीको माध्यमबाट स्वस्थ व्यक्तिमा सर्छ । पातलो, चौलानी पानी जस्तो दिसा हुने, वाकवाकी लाग्ने बान्ता हुने कडा जलवियोजन हुने यो रोगको प्रमुख लक्षण हुन् ।