10/06/2025, 11:25:19
सोमबार, असोज २०, २०८२

अन्तर्वार्ता : मौसम पूर्वानुमान सही बनाउन उच्चतम प्रविधि आवश्यक – वरिष्ठ मौसमविद् विभूति पोखरेल

हामीसँग त्यस्तो अत्याधुनिक, ‘एक्युरेट’ प्रविधि छैन । केवल हाम्रो देशमा मात्र होइन, समग्र मौसमी प्रणालीमा भएको उतारचढावबारे सबैको अध्ययन र अनुसन्धानको विषय बनेको छ । जलवायु परिवर्तनको कारणले यस्तो अवस्था उत्पन्न भएको हो । यसले विश्वस्तरमा सबैलाई प्रभावित गरेको छ । कहिलेकाहीँ हामीले सोचेभन्दा छिटो घटनाहरू हुन्छन् । यस पटक पनि आइतबार–सोमबारसम्म बढी पानी पर्ने अनुमान थियो तर मौसम छिटो परिवर्तन भएका कारण अवस्था फरक देखियो ।

©PHOTO CREDIT : KANTIPUR TV

काठमाडौँ, असोज २० : यस वर्षको मनसुनले असोजको अन्त्यतिर अप्रत्याशित रूपमा भारी वर्षा ल्याएर ठूलो धनजनको क्षति भयो । मौसम सफा रहनुपर्ने महिना भए पनि लगातार दुई वर्ष उही समयमा ठूलो वर्षा भएको छ र जनधनको क्षति हुन पुगेको छ । त्यसो त सम्भावित क्षतिलाई न्यूनीकरण गर्न सरकारले निकै सक्रियता देखायो ।

जनधनको क्षति भए पनि सरकारको सक्रियताले प्रशंसा पाइरहेको बेला मौसम पूर्वानुमानन र सरकारको पूर्वतयारीका सन्दर्भमा जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् तथा प्रवक्ता विभूति पोखरेलसँग कुलचन्द्र न्यौपानेले गरेको कुराकानी :

मनसुनको अन्तिम चरणमा यसरी अचानक ठूलो वर्षा हुनु सामान्य प्रक्रिया हो वा जलवायु परिवर्तनसँग सम्बन्धित छ ?

मनसुन हुँदै नहुने चीज होइन । अन्त्यतिर जसरी सक्रिय देखियो, अक्टोबरसम्मै वा नेपाली बुझाइमा दसैंसम्म जसरी लम्बिएको छ, त्यसलाई जलवायु परिवर्तनसँग पनि जोडेर हेर्न सक्छौं । वर्षा चाँडै र ढिलो गराउने हाम्रो प्रणाली र ऋतुहरूको जुन चक्र छ, त्यसैलाई ‘ट्रिगर’ गर्ने हो ।

जस्तो– यही वर्षको मनसुनको कुरा गर्दा बढी वर्षा हुन्छ भन्ने अनुमान थियो । तर, जुलाई त एकदमै सुक्खा भयो । लामो ब्रेक भयो । त्यसपछि केही–केही सक्रिय देखियो । तर यतिको सक्रियताचाहिँ देखिएको थिएन । सामान्य भाषामा बुझ्दा जुलाई र अगस्ट भनेको चाहिँ मनसुन एक्टिभ हुनुपर्ने अवस्था हो । हामीले बुझ्ने भाषामा मनसुनलाई कृषिसँग जोडेर बुझ्छौं । तर यस पटक त्यो चक्र ब्रेक भयो । सामान्य प्रक्रियामा नभईकन दसैं आउने बेलामा मनसुन एक्टिभ भयो ।

यसलाई जलवायु परिवर्तनकै रूपमा बुझ्न सकिन्छ ?

दसैं नजिकिँदा हामी पहिले बुझ्थ्यौं कि मनसुन सकिएको हुन्छ र वातावरण स्थिर हुन्छ । तर यस पटक ब्रेक भएको मनसुनमा केही साता सक्रिय हुने र फेरि ब्रेक हुने क्रम देखियो । यो न्यून चापीय रेखा उत्तरतिर आएर वर्षा गराउँछ र बिस्तारै दक्षिणतिर भारतमा फैलिन्छ । ब्रेक लामो भए भूभाग सुक्खा हुन्छ । यस पटक भएको भारी वर्षालाई सामान्य मौसमी प्रक्रियाको हिस्सा मात्र ठान्न सकिँदैन ।

परम्परागत रूपमा मनसुन असार र साउनमा सक्रिय हुन्छ र दसैंको समयमा सफा हुने अपेक्षा गरिन्छ । तर, पछिल्लो समय मनसुनको चक्रमा परिवर्तन देखियो । यसलाई परिवर्तनको प्रभावसँग जोडेर हेर्न सकिन्छ । अहिलेको वर्षा मनसुनको सामान्य प्रक्रियाभन्दा फरक छ किनभने मनसुनको अन्त्यतिर यस्तो तीव्रता अपेक्षित हुँदैन । जलवायु परिवर्तनले मौसम प्रणालीमा पनि अनियमितता ल्याएको छ, जसले वर्षा ढिलो हुने, लामो समयसम्म खडेरी रहने र अचानक भारी वर्षा हुनेजस्ता विषम परिस्थिति निम्त्याइरहेको छ ।

मनसुनको चक्रमा देखिएको यो परिवर्तनलाई तपाईंहरूले कसरी विश्लेषण गर्नुभएको छ ?

सामान्यतः जुलाई र अगस्टमा मनसुन सक्रिय हुन्छ, जुन नेपालको कृषि र अन्य क्षेत्रका लागि महत्त्वपूर्ण हो । तर, यो वर्ष जुलाईमा खडेरी पर्‍यो र मनसुनको सक्रियता अपेक्षाकृत कम देखियो । असोजको अन्त्यमा भने अचानक भारी वर्षा भयो । यो परिवर्तनले मनसुनको न्यून चापीय रेखाको गतिशीलतामा आएको अनियमिततालाई संकेत गर्छ । यो रेखा उत्तरतिर सर्दा नेपालमा वर्षा हुन्छ र दक्षिणतिर जाँदा भारतमा वर्षा गराउँछ । यसलाई पनि जलवायु परिवर्तनकै कोणबाट हेर्नुपर्ने हुन्छ ।

जलवायु परिवर्तनले मनसुनलाई कसरी प्रभावित गर्छ ?

जलवायु परिवर्तनले नयाँ मौसम प्रणाली सिर्जना गर्ने होइन तर अवस्थित प्रणालीहरूको नियमित चक्रमा असर पार्ने हो । मनसुनको समय, तीव्रता र अवधिमा परिवर्तन आएको छ । जलवायु परिवर्तनले लामो खडेरी र अचानक भारी वर्षाजस्ता चरम मौसमी घटनालाई ‘ट्रिगर’ गर्ने हो । मनसुनमा ठूलो वर्षा हुनु सामान्य भए पनि जुलाई र अगस्टमा खासै सक्रिय हुन नसक्नु र मनसुन बहिर्गमन हुने बेलामा सक्रिय भएर ठूलो वर्षा हुनुलाई सामान्य मान्न सकिन्न । यसले हाम्रो परम्परागत बालीनालीलाई र अन्य क्षेत्रलाई पनि असर गर्छ ।

यस वर्ष सबैभन्दा बढी वर्षा हुने अनुमान पहिल्यै गर्नुभएको थियो, होइन ?

हो, हामीले मनसुनको पूर्वानुमान गर्दा औसतभन्दा बढी वर्षा हुने अनुमान गरेका थियौं । तर, जुलाईमा लामो खडेरी भयो र अगस्टमा पनि मनसुनको सक्रियता कम देखियो । असोजको अन्त्यमा अप्रत्याशित रूपमा भारी वर्षा भयो । सामान्यतः मनसुनले नियमित वर्षा प्रदान गर्छ तर यस वर्ष खण्डित र अनियमित वर्षा देखियो, जुन जलवायु परिवर्तनको प्रभावसँग सम्बन्धित छ ।

असोज अन्त्यमा भएको यो भारी वर्षाले कहाँ र कस्तो प्रभाव पारेको छ ?

असोज १८ र १९ मा परेको भारी वर्षाले बागमती र मधेश प्रदेशमा सबैभन्दा बढी प्रभाव पारेको छ । कोशी, लुम्बिनी र गण्डकी प्रदेशका पूर्वी भूभागमा पनि केही असर देखिएको छ । विशेष गरी, रौतहटको महेशपुरमा ३ सय ५८ मिलिमिटर वर्षा मापन भएको छ, जुन यो अवधिको सबैभन्दा उच्च हो ।

गत वर्ष पनि करिब यही समयमा यसभन्दा पनि ठूलो धनजनको क्षति हुने गरी वर्षा भयो, अघिल्लो वर्षको र अहिलेको वर्षामा के समानता छन् ?

दुवै वर्ष मनसुनको अन्त्यतिर अप्रत्याशित रूपमा तीव्र वर्षा देखियो, जसले कृषिमा क्षति पुर्‍यायो । तर, यी दुई वर्षका मौसमी प्रणाली फरक छन् । गत वर्षको वर्षा न्यून चापीय प्रणाली र अन्य मौसमी प्रभावहरूको संयोजनले भएको थियो जबकि यो वर्षको वर्षा मुख्य रूपमा न्यून चापीय क्षेत्रसँग सम्बन्धित छ । यद्यपि, दुवै घटनाले जलवायु परिवर्तनले चरम मौसमी घटनालाई बढावा दिइरहेको संकेत गर्छ । जलवायु परिवर्तनले मनसुनको न्यून चापीय रेखालाई प्रभावित गरेको छ, जसले वर्षाको समय र तीव्रतामा परिवर्तन ल्याएको छ ।

जलवायु परिवर्तनले मौसमी पूर्वानुमानमा कस्तो चुनौती थपेजस्तो लाग्छ ?

मौसमी प्रणालीको गतिशीलता अनपेक्षित रूपमा परिवर्तन हुन्छ, जसले पूर्वानुमान शतप्रतिशत सही हुन्छ भन्न सकिन्न । उदाहरणका लागि, यस वर्ष असोज १८ र १९ मा भारी वर्षा हुने पूर्वानुमान गरिएको थियो । त्यहीअनुसार भयो पनि ।

PHOTO CREDIT : KANTIPUR TV

प्रकोपबाट हुने ठूलो धनजनको क्षति रोक्न जल तथा मौसम विज्ञान विभागको ॅरेड अलर्ट’ नोटिसमा भर पर्नुपर्ने हुन्छ । अन्य देशको तुलनामा हाम्रो यो प्रणाली कति वैज्ञानिक छ ?

मौसम विज्ञान प्रविधि पूर्ण रूपमा पर्याप्त छैन । जटिल मौसम प्रणालीको अध्ययन र पूर्वानुमान गर्नु केवल नेपालको मात्रै नभई विश्वव्यापीस्तरमै अनुसन्धान र चासोको विषय हो । जलवायु परिवर्तनका कारण अब यस्तो प्रणालीलाई विश्वव्यापी रूपमा अध्ययन गर्नुपर्ने भएको छ । अहिले हामीसँग उच्च वायुमण्डलको तथ्यांक तथा हिमाली क्षेत्रको मौसमसम्बन्धी अध्ययनका लागि लामो तथ्यांक छैन ।

उच्च जलवायु मण्डलमा के भइरहेको छ ? हिमालमा के भइरहेको छ ? आउने जलवायु प्रणाली कसरी परिवर्तन भइरहेका छन् भन्नेबारेमा थाहा पाउन हिमाली भूभागको तथ्यांक महत्त्वपूर्ण हुन्छ । यी सम्पूर्ण कुरा थाहा पाउन हामीलाई उच्च प्रविधियुक्त उपकरण आवश्यक पर्छ । उपकरण नभएको होइन तर तिनलाई धान्नका लागि धेरै महँगो पर्छ । हिमाली क्षेत्रको तथ्यांकमा पहिला हामी चीन र भारतभन्दा अगाडि थियौं, अहिले पछि परेका छौं ।

भारी वर्षाको पूर्वानुमानअनुसार सरकारले राष्ट्रिय बिदा घोषणा गर्नेदेखि राजमार्ग बन्द गर्नेसम्मका काम गर्‍यो । यसले अलिक त्रास सिर्जना गरेजस्तो लागेन ?

मौसम प्रणालीको अनपेक्षित परिवर्तनले कहिलेकाहीँ पूर्वानुमान पनि नमिल्न सक्छ । किनकि, मौसम प्रणालीको जटिलता र जलवायु परिवर्तनको प्रभावले कहिलेकाहीँ अनुमान तलमाथि पार्छ । हामीले पूर्वानुमानका क्रममा अत्यधिक त्रास नफैलियोस् भनेर पनि सावधानी अपनाउँछौं । कुनै घटना देखिए पनि त्यसको बलियो आधार नहुँदासम्म हामी तत्काल सार्वजनिक गदैनौं । कारण, अनावश्यक भय नफैलियोस् भन्ने नै हो । विभागको मुख्य जिम्मेवारी भनेकै यस्ता प्रणालीलाई निगरानी गरेर आधिकारिक सूचना प्रवाह गर्नु हो ।

अब जलवायु परिवर्तनको प्रभावलाई कसरी न्यूनीकरण गर्न सकिन्छ ?

जलवायु परिवर्तनको प्रभावलाई पूर्ण रूपमा रोक्न सम्भव छैन तर यसको असरलाई न्यूनीकरण गर्न सकिन्छ । पूर्वसूचना प्रणालीलाई सुदृढ गर्नु, अत्याधुनिक प्रविधिमा लगानी गर्नु र समुदायलाई विपद् व्यवस्थापनका लागि तयार पार्नु महत्त्वपूर्ण कार्य हो । जल तथा मौसम विज्ञान विभागले विपदघिको तयारीमा जोड दिएको छ । सरकार र अन्य निकायहरूले विभागको सूचनालाई आधार बनाएर राहत र उद्धार कार्यलाई प्रभावकारी बनाउन सक्छन् । विपद् रोक्न के कस्ता पूर्वतयारी गर्ने भन्ने काम सरकारको हो ।

सही सूचना दिन सक्दा मात्रै विपद्बाट जोगाउन सकिने रहेछ, त्यसका लागि विभागले सामना गरिरहेका चुनौती के–के हुन् ?

विभागले सीमित स्रोतसाधन र प्रविधिका बीचमा पनि अधिकतम काम गरिरहेको छ । विभागका कर्मचारी दसैंजस्ता चाडपर्वमा पनि चौबिसै घण्टा खटिए तर जनशक्ति र प्रविधिको अभावले कामलाई प्रभावकारी बनाउन कठिनाइ भइरहेको छ । मौसम पूर्वानुमान गर्ने कुरा प्रविधिमा आधारित हो ।

तपाईंहरूले मौसमको पूर्वानुमानको सूचना दिँदा कहिलेकाहीँ पानी पर्छ भनेको दिनमा घाम लाग्ने र मौसम सफा हुन्छ भनेको दिनमा पानी पर्ने अवस्था पनि भइरहेको छ नि ?

हामीसँग त्यस्तो अत्याधुनिक, ‘एक्युरेट’ प्रविधि छैन । केवल हाम्रो देशमा मात्र होइन, समग्र मौसमी प्रणालीमा भएको उतारचढावबारे सबैको अध्ययन र अनुसन्धानको विषय बनेको छ । जलवायु परिवर्तनको कारणले यस्तो अवस्था उत्पन्न भएको हो । यसले विश्वस्तरमा सबैलाई प्रभावित गरेको छ । कहिलेकाहीँ हामीले सोचेभन्दा छिटो घटनाहरू हुन्छन् । यस पटक पनि आइतबार–सोमबारसम्म बढी पानी पर्ने अनुमान थियो तर मौसम छिटो परिवर्तन भएका कारण अवस्था फरक देखियो ।

अब असोज १८ र १९ को जस्तै वर्षा हुने अवस्था छ कि छैन ?

मनसुन नेपालबाट बाहिरिने क्रममा छ । अब तत्काल ठूलो वर्षाको सम्भावना कमै देखिन्छ ।

– कुलचन्द्र न्यौपाने