10/05/2025, 11:42:35
आइतबार, असोज १९, २०८२

प्रतिकूल मौसमका कारण देशभरको हवाई यातायात प्रभावित


काठमाडौँ, असोज १९ : प्रतिकूल मौसमका कारण देशभरको हवाई यातायात प्रभावित भएको छ । अविरल वर्षाका कारण उडानका लागि चाहिने आवश्यक दृश्य क्षमता (भिजिबिलिटी) कमजोर हुँदा शनिबार आन्तरिकतर्फका अधिकांश उडान रद्द भएका छन् भने बाह्यतर्फका छ वटा जहाज डाइभर्ट भएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता रिन्जी शेर्पाले भन्नुभयो, “अविरल वर्षाले मौसम प्रतिकूल भएपछि शनिबार देशभरका अधिकांश विमानस्थलमा हुने उडान रद्द भएका छन् । भिजिबिलिटी र इन्रुटको मौसम बिग्रिँदै गएपछि विभिन्न विमानस्थलका लागि तय भएका १४० उडान रद्द भएका छन् ।” मौसममा कुनै सुधार नदेखिएकाले आइतबारको उडानसमेत अनिश्चित रहेको उहाँले बताउनुभयो ।

खराब मौसमका कारण काठमाडौँबाट भरतपुर, जनकपुर, भद्रपुर, पोखरा, नेपालगन्ज, धनगढी र तुम्लिङटार लगायतका विमानस्थलमा कुनै उडान हुन नसकेको उहाँको भनाइ छ ।

शनिबार दिनभर अन्तर्राष्ट्रियतर्फतको उडान नियमित रहे पनि बेलुका काठमाडौँमा अवतरण गर्न नसकेका छ वटा जहाज देशबाहिर डाइभर्ट भएको उहाँले जानकारी दिनुभयो । नेपाल वायुसेवा निगम, इन्डिगो, एयर अरेबिया, एयर इन्डिया, थाई एयरवेज र चाइना इस्टर्नको जहाज काठमाडौँमा अवतरण हुन नसकेपछि डाइभर्ट भएको उहाँले जानकारी दिनुभयो । ती जहाज मौसममा सुधार भएपछि मात्रै फर्किने उहाँले जानकारी दिनुभयो । वर्षाले उडान रद्द भएपछि हवाई कम्पनीले उडान रिसेड्युल तथा टिकटको शुल्क फिर्ता लिने सुविधा सार्वजनिक गरेका छन् । कम्पनीले मौसममा सुधार नआएसम्म सबै उडान रद्द गरेका छन् ।

पर्यटकलाई सघाउन आग्रह

निरन्तर वर्षासँगै, बाढीपहिरो, आकस्मिक हिमपात र सडक अवरुद्ध हुने जोखिम बढेपछि नेपाल पर्यटन बोर्डले हाल नेपालमा रहेका विदेशी पर्यटकको सुरक्षा तथा सहयोगमा स्थानीय समुदाय, पर्यटन व्यवसायी र सम्बन्धित निकायलाई आग्रह गरेको छ । बोर्डले हाल नेपालमा करिब २० हजार विदेशी पर्यटक रहेको जनाउँदै विदेशी पाहुनाको सुरक्षा र सहजतामा खटिएको जनाएको छ ।

मौसम सक्रिय भएपछि मौरिस हर्गोज पदमार्ग, अन्नपूर्ण आधार शिविरको भ्रमण, पुनहिल, घोडेपानी, मोहरेडाँडा, गुर्जा, ढोरपाटन, धवलागिरि चक्रीय पदमार्गलगायत पर्यटकीय स्थलको भ्रमणमा रोक लगाइएको छ ।