२२ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले आगामी स्थानीय तह उपनिर्वाचनमा तालमेलकै नीति अख्तियार गरेको छ । सो पार्टीले मंसिर १६ गतेका लागि तय भएको उपनिर्वाचन एक्लै लड्नेगरी तयारी गर्ने भनेपनि सो आन्तरिक रुपमा तालमेलको ढोका भने खुलै राखेको हो । यसका लागि माओवादी केन्द्रले पार्टीको मातहतका कमिटीलाई सर्कुलर नै पठाएर स्पष्ट पारेको छ । माओवादी केन्द्रका एक नेताका अनुसार सोमबार केन्द्रीय कार्यालयबाट स्थानीय तह उपनिर्वाचनका सन्दर्भमा ‘विशेष परिपत्र’ जारी भएको छ ।
हाललाई एकल रूपमा चुनाव लड्नेगरी तयारी गर्ने तर अन्य दलसँग सहकार्य गर्नेबारे पहल भने जारी राख्नेगरी परिपत्र भएको ती नेताको भनाइ छ । तर माओवादीले नेपाली कांग्रेस, नेकपा एमालेसहितका सत्तारुढ दलसँग भने तालमेल नगर्ने नीति लिएको छ । ‘आगामी मंसिर १६ गते हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनका लागि एकल रूपमा चुनाव लड्ने तयारी गर्ने । तर, यसका साथै सत्तारुढ दल बाहेकका बाम–देशभक्त दलहरूसँगको सहकार्यलाई अगाडि बढाउन पहल गर्ने’, पार्टीको आन्तरिक सर्कुलर उद्धृत गर्दै ती नेताले भने ।
गत साउनमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले आगामी आम निर्वाचनमा तालमेल नगर्ने र आफ्नो शक्तिमा चुनाव लड्ने निर्णय गरेको थियो । जनतासँग सम्बन्ध टुटेकाले अब तलसम्म जानेगरी कार्यक्रम बनाउने र चुनावसम्म सबै जनासम्म पुग्ने निर्णय भएको त्यतिबेला उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले बताएका थिए । ‘आउने चुनावमा एक्लै लड्नेगरी तयारी गर्ने निर्णय गरेका छौँ । त्यसअघि हाम्रो नीति, विचार र कार्यदिशा सोझै जनतामा पुर्याउँछौँ । यो जनतामा जाने सुवर्ण अवसर पनि हो’, सापकोटाको भने ।
पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समेत पार्टीका कार्यक्रमहरूमा एक्लै चुनाव लड्ने बताउँदै आएका छन् । पार्टीको दोलखा–काठमाडौँ सम्पर्क–समन्वय समितिले असोज १९ गते गरेको कार्यक्रममा प्रचण्डले उपनिर्वाचन र २०८४ को निर्वाचनमा आफ्नो पार्टीले सबै तहमा एकल उम्मेदवारी दिएर प्रतिस्पर्धा गर्ने बताएका थिए । विगतमा कांग्रेस र एमालेसँग गठबन्धन गरेर चुनाव लड्दा माओवादीको पहिचान कमजोर भएको उनको भनाइ थियो । अब एकल प्रतिस्पर्धामा जाने गरी पार्टीले तयारी थालेको र त्यसको आरम्भ आगामी मंसिरमा हुने उपनिर्वाचनबाट गरिने उनको भनाइ थियो । त्यसको भोलिपल्ट गृहजिल्ला चितवन पुग्दा पनि प्रचण्डले सोही कुरा दाहोर्याए । प्रेस सेन्टर नेपाल चितवन शाखाले आइतबार भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले माओवादी केन्द्र एक्लै चुनाव लडेर चुनाव जित्ने दाबी गरेका हुन् ।
माओवादी पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले भने पार्टीले एकल चुनाव लड्ने दाबी गरे । ‘त्यही अनुसार हामीले कार्यक्रम पनि पठाएका छौँ, आवश्यक परेको खण्डमा हामीले विपक्षी दलहरूसँग पनि सहकार्य गर्न सक्छौँ मात्र भनेको हो ।’ उनले यसलाई चुनावी तालमेल भन्न नमिल्ने दाबी गरे । यस्तै नेकपा माओवादी केन्द्रका एक उपमहासचिवले भने विपक्षी मोर्चामा बसेपछि सत्ताविरुद्ध तालमेल गर्न खोजिनु स्वाभाविक हुने बताए । ‘आवश्यक परेको खण्डमा विपक्षी दलसँग सहकार्य पनि हुन्छ, तालमेल पनि हुन्छ । तर हाम्रो मिसन भनेको एकल लड्ने हो । तर, सत्ताविरुद्ध जहिले पनि मोर्चाबन्दी हुन्छ त्यो स्वाभाविकै पनि हो ।’
तालमेलको गर्न सकिने नीति लिएपनि त्यसअघि भने पार्टीले स्थानीय तह निर्वाचनका लागि आवश्यक सबै आन्तरिक तयारी गर्नेछ । जस अनुसार उपनिर्वाचनको तयारीका लागि रिक्त रहेका वडा अध्यक्षको उम्मेदवार छनोट गर्दा वडा पार्टीका सदस्यहरूलाई भेला गराएर सहमतिका आधारमा उम्मेदवार छनोट गर्ने छ । यदि सहमति हुन नसकेको अवस्थामा बहुमतीय प्रणालीको आधारमा उम्मेदवार छनोट गरी पालिका समितिलाई सिफारिस गर्ने माओवादीको सर्कुलरमा उल्लेख छ । त्यसपछि पालिकाको पार्टी समितिले निर्णय गर्ने र सो को जानकारी कार्तिक २५ गतेसम्म प्रदेश पार्टी कार्यालय र पार्टी केन्द्रीय कार्यालयमा अनिवार्य रूपमा लेखी पठाउने अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङद्वारा हस्ताक्षरित सर्कुलरमा उल्लेख रहेको एक नेताले बताएको छ।
यस्तै रिक्त रहेका पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, लगायत पदको उम्मेदवार छनोट गर्दा सम्बन्धित पालिका अन्तर्गतका सबै वडाहरूका प्रतिनिधि र पालिका पार्टी समितिको संयुक्त बैठक बसी सहमतिको आधारमा उम्मेदवार छनोट गरिनेछ । छनोटपछि सोको जानकारी कार्तिक २५ गतेसम्म पार्टी केन्द्रीय कार्यालयलाई गराउन मातहतका कमिटीलाई निर्देशन दिइएको छ । यस्तै जिल्ला समन्वय समिति प्रमुखका लागि पार्टी जिल्ला समन्वय समितिले सिफारिस गर्ने र प्रदेश समितिले निर्णय गर्नुपर्नेछ । जुन अभ्यास अघिल्लो पटकका चुनावहरूमा पनि गरिएको थियो भने पछि तालमेलको औपचारिक निर्णय भएको थियो ।
यस्तै माओवादीले उपनिर्वाचन प्रयोजनका लागि सबै वडाहरूमा मतदाता नामावली अपडेट गराउने, पार्टी निकटका मतदाताहरूलाई जागरूक गराउने, उप–निर्वाचन हुन गइरहेका वडा र पालिकाहरूमा चुनाव प्रचार–प्रसार समिति गठन गर्ने, प्रचार–प्रसारलाई व्यवस्थित गर्न जन भेटघाट, घरदैलो, पिँडिसभा, चौतारी सभा, कोणसभा र आवश्यकता अनुसार अन्य सभाहरू गर्ने निर्णय पनि छ ।