10/01/2025, 12:21:56
बुधबार, असोज १५, २०८२

‘नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा कुनै अवरोध छैन’


भरतपुर, असोज १५ : बडादसैँको नवौँ दिन आज नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा कुनै अवरोध नरहेको प्रहरीले जनाएको छ ।

दसैँ सुरु भएसँगै पहिराका कारण पटकपटक अवरुद्ध हुँदै आएको नारायणगढ मुग्लिन सडकमा आज भने निर्वाद रूपमा सवारीसाधन सञ्चालनमा छन् । हिजो अस्तिको तुलनामा सवारीसाधनको चाप कम रहेको र कुनै अवरोध नरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी दिनुभयो ।

उहाँका अनुसार दसैँ अवधिभर राजमार्गमा सुरक्षाकर्मी २४सै घण्टा खटिएको र यात्रुलाई कुनै पनि समस्या हुन नदिने गरी काम गरिरहेका छन् ।

मङ्गलबार साँझ ७ः३० बजे इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोलामा लेदोसहितको पहिरो खस्दा सडक दुइतर्फी अवरुद्ध भएको थियो । पहिरो पन्छाएसँगै ८ः४० बजेदेखि सडक दुइतर्फी सञ्चालनमा आएको थियो । गएरातिसम्म सवारीसाधनको चाप रहे पनि हाल निकै कम रहेको प्रहरीले जनाएको छ । तुइन खोलामा पटकपटक पहिरो खस्दा यात्रुले सास्ती भोग्दै आएका छन् ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..