09/27/2025, 23:06:37
शनिबार, असोज ११, २०८२

त्रिपुरासुन्दरी : सुरम्य भूगोलमा ठडिएको शक्तिपीठ


११ असोज, डोल्पा — वरिपरि होचो भूगोल । चारतिर भेरी, ताम्रावणी, सुन्दरी गंगा लगायतका पौराणिक नदीहरू । बीचमा उठेको डाँडामा मन्दिर । मन्दिरको चारतिर चार वटा काठका लिङ्गा ठड्याइएका छन् । मन्दिरको उत्तरपट्टि मुकुटेश्वर, कागमारा लगायतका प्रसिद्ध हिमाल । जुन हिमाल हिउँदमा हिउँले सेताम्मे देखिन्छन् भने बर्खामा हरियाली ।

डाँडाको यो मन्दिर हो, त्रिपुरासुन्दरी । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-१ त्रिपुराकोटमा पर्ने मन्दिरको धार्मिक, ऐतिहासिक एवम् भौगोलिक महत्त्व रोचक छ । डोल्पा मात्र नभई नेपालकै प्रमुख शक्तिपीठभित्रको एक यस मन्दिरलाई नवदुर्गा देवीहरूको उद्गमस्थलको रूपमा चिनिन्छ । त्रिपुरासुन्दरी मन्दिर मात्र नभई पूर्ण शक्तिपिठ भएको पुजारीहरू बताउँछन् ।

यिनै नदीनाला र हिमशृङ्खला मन्दिरको आकर्षण थप बढेको पाइन्छ । मन्दिर अवस्थित जमिनसँग जोडिएका सम्म परेको विशाल उब्जाउयोग्य फाँट छन् । सरर हावासँगै तिनै फाँटमा लहलह झुल्ने धान, मकै, गहुँ, जौ लगायतका अन्नबाली छन् । जमिन मासेर बनाइएका रङ्गीचङ्गी जस्ता छाइएका घरहरूको त्रिपुराकोट बजार क्षेत्र थप आकर्षक देखिन्छ । मन्दिर पुगेपछि देखिने यस्ता दृश्यहरूले मन्दिर पुग्ने भक्तजनहरूको मन लोभिन्छ ।

अग्लो टाकुरामा मन्दिर भएकाले त्यहाँबाट देखिने मनमोहक दृश्य अवलोकनका लागि मात्रै बर्सेनि हजारौँ भक्तजनहरू आउने गरेको पुजारी रमानन्द उपाध्याय बताउँछन् । पहिलेको भन्दा मन्दिर व्यवस्थापनमा बर्सेनि सुधार हुनुका साथै नेपालगन्ज, सुर्खेत, जाजरकोट हुँदै डोल्पा आउने सडकमार्गको पहुँच बढेपछि भक्तजनहरूको चाप पनि दिनप्रतिदिन बढ्न थालेको उनले बताए ।

त्रिपुरासुन्दरी मन्दिर नेपालमा मात्र नभई भारतमा समेत प्रसिद्ध छ । भारतीयहरूले यस मन्दिरलाई देवीको उद्गमस्थलको रूपमा चिन्छन् । मन्दिरको जीर्णोद्धारका लागि भारत सरकारले यसअघि तीन करोड ३३ लाख सहयोग गरेको थियो । प्राचीन शैलीमा निर्माण गरिएको उक्त मन्दिर प्रधानमन्त्री, मन्त्री, राजदूत, सुरक्षा निकायका प्रमुख लगायतका उच्च पदस्थ व्यक्तित्वहरूको प्रमुख गन्तव्यस्थल पनि हो ।

त्रिपुरासुन्दरीमा नेपाली सेनाको प्रमुख नियुक्त भएका धेरैजसोले दर्शन गर्ने परम्परा छ । त्यति मात्र नभई राजदूतदेखि प्रधानमन्त्री, पूर्वराजा, शंकराचार्य लगायतका प्रसिद्ध साधु सन्त महाजनहरूले प्रमुख रोजाइ बन्न पुगेको पुजारीहरूको भनाइ छ ।

त्रिपुरासुन्दरी दुर्गम तथा विकट जिल्लामा अवस्थित ठूलो शक्तिपीठ भए पनि प्रचारप्रचार हुन नसक्दा महिमा सबैले थाहा पाउन नसकेको त्रिपुरासुन्दरी-१ का ८८ वर्षका पुजारी रविप्रसाद न्यौपानेले बताए । उनी भन्छन्, ‘त्रिपुरासुन्दरी मन्दिर नेपालकै प्रमुख शक्तिपीठमध्येको एक हो । देवीहरूको उत्पतिस्थल, सतीदेवीको कन्ड्यौलो पतन भएको ठाउँ र दशमहाविद्या समेत उत्पत्ति भएको स्थान हो ।’ यसको प्रचारप्रचार गर्नुका साथै सडकमार्गको अवस्था सुधार भएमा हजारौँ भक्तजनहरू आउने उनको भनाइ छ ।

त्रिपुरासुन्दरीको इतिहास र किंवदन्ती

१११४ सालमा स्थापना भएको बताइने यस मन्दिर भौगोलिक रूपमा पनि पृथक् छ । पुजारी न्यौपानेले लेखेको ‘त्रिपुरासुन्दरी मन्दिरको परिचय‘ पुस्तकअनुसार परापूर्वकालमा डोल्पाको त्रिपुराकोट गाविसको कोटगढीमा विक्रम शाही राजाको दरबार थियो । शाहीले यसै स्थानबाट राजकाज चलाउँदै आएका थिए । यसै कोटगढीका १४ घर विष्टलाई आफ्ना काजीका रूपमा राखेका थिए । अहिले मन्दिर भएको ठाउँ आसपासमा राजाको दरबार थियो । त्यस दरबार नजिकै एउटा धान कुट्ने ओखल थियो । ओखलमा धान, चिनो लगायतका अन्नबाली कुट्ने गरिन्थ्यो ।

धान कुट्दै जाँदा एकाएक यस ओखलमा अनौठा क्रियाकलाप देखिन थाले । कुनै बेला चार पाथी धान कुट्दा आठ पाथी चामल हुने र कहिले दुई पाथी धान कुट्दा दुई माना मात्र चामल हुने थाल्यो । यस्ता अचम्मका घटना हुन थालेपछि यो कुरा मन्त्री विष्टका श्रीमतीहरूले आफ्ना श्रीमान्‌लाई बताए । मन्त्रीहरू विष्ट थरका थिए । विष्टहरूले यो कुरा थाहा पाएपछि आफ्ना राजा विक्रम शाहीलाई सुनाए ।

राजा शाहीले यस्तो अचम्मको कुरा थाहा पाएपछि तत्काल आफ्ना प्रजाहरूलाई बोलाएर यो ओखल तलपट्टि के छ भनी उत्खनन गर्न आदेश दिए । उत्खननका लागि सयौँ मान्छे लगाइयो । दिनभर ओखल उत्खनन गर्दा पनि काम सकिएन । बाँकी काम भोलि बिहान पूरा गर्ने सर्तमा सम्पूर्ण टोली घर फर्कियो । भोलि बिहानै सबेरै सबै जना बाँकी रहेको ओखल उत्खनन गर्न आउँदा त ओखल जस्ताको तस्तै देखेपछि सबै झनै चकित परे ।

यो कुरा राजाले थाहा पाएपछि विभिन्न गाउँ बस्तीबाट थप मान्छे बोलाएर रातदिन लगाएर ओखल उत्खनन गर्न लगाइयो । लगातार दुई दिनसम्म काम गर्दा त्यो ओखल उत्खनन भयो । त्यो अचम्मको ओखलभित्र अनौठा दृश्य देखिए । ओखल तलपट्टि तामाको ओदान । ओदानमाथि घिउको कराई । त्यसमाथि तामाको थाली । थालीमाथि षट्कोण यन्त्र । त्यसमाथि तामाको कुँडेस र त्यसभित्र नव दुर्गा भगवतीका नौ बहिनीका स्वरूप पुतली रूपमा देखिए ।

खन्दै गर्दा बाउसोको टुपो तामाको षट्कोण लिखित यन्त्रमा लागेपछि एक मन्त्री बेहोस भएका थिए । पुतलीरुपी देवीहरू उडेर जिल्ला भित्र र बाहिरका विभिन्न स्थानमा पुगिन् । भएका पुतलीहरूलाई छुनेबित्तिकै सेता शिला (मूर्ति) मा परिणत भए । कुन देवी कहाँ पुगे भनेर सपनाद्वारा मन्त्रीलाई आदेश भएको उक्त पुस्तकमा उल्लेख गरिएको छ ।

पुस्तकअनुसार देवीको रूप लिएका पुतलीहरू बाँकेको बागेश्वरी, जुम्लाको कनिका सुन्दरी, सल्यानको खैरबाङ, बैतडीको रणसैनी त्रिपुरेश्री, बाजुराको बडीमालिका लगायतका नामले प्रसिद्ध छन् । बाँकी चार बहिनी देवी बाला, त्रिपुरा र सुन्दरी यस मन्दिरमा पूजाआजा हुँदै आएको छ । एक बहिनी देवीको शिला (मूर्ति) २०५७ सालमा मन्दिर चोरी हुँदा हराए पनि अझै पत्ता लाग्न सकेको छैन । बाँकी तीन बहिनी भगवतीको शिला त्यति बेला नै बरामद गरिएको थियो ।

मन्दिरमा पूजाआजा हुँदै आएकी तीनवटी देवी महाकाली, महालक्ष्मी, महासरस्वतीका नामले समेत प्रसिद्ध छिन् । परापूर्वकालदेखि नै यस मन्दिरमा न्यौपाने थरका पुजारीले पूजाआजा गर्दै आएका छन् । मन्दिरको दर्शन गर्नाले सन्तान प्राप्ति हुने समेत जनविश्वास रहेको छ ।

सतीदेवीको अंग पतन

त्रिपुरासुन्दरी मन्दिरमा सत्ययुगमा महादेवले हिमालय पर्वतकी पुत्री सत्यदेवीको मृत शरीर बोकेर पृथ्वी भ्रमण गर्ने क्रममा सतीदेवीको कन्ड्यौलो (ढाड) पतन भएको स्वस्थानीमा उल्लेख छ । हिन्दु धर्मावलम्बीहरु यस पवित्र भूमिलाई प्रसिद्ध शक्ति पीठको रूपमा मान्ने गर्छन् । यस मन्दिरको पौराणिक एवम् ऐतिहासिक महत्वलाई हिन्दु धर्मका विभिन्न धर्मग्रन्थमा उल्लेख गरिएको र मन्दिरको दर्शन गर्नाले सम्पूर्ण मनोकामना पूरा हुनुका साथै यो संसारबाट मुक्ति समेत मिल्ने बताइन्छ ।

यस मन्दिरमा सत्य देवीको कन्ड्याउलो पतन हुँदाको बखतमा यहाँ बर्सातका देवता वरुण देव आएर विभिन्न आराधना गरेर सत्यदेवीको पूजाआजा गरेको किंवदन्ती छ । ईश्वरी प्रसन्न भएर पृथ्वीमा महाखडेरी परेको बेला पानी पार्न सफल भएस् भनी वरदान दिएकाले खडेरी परेका बेला गाउँवासी जम्मा भएर त्रिपुरासुन्दरीको पूजाआजा गर्नाले पानी पर्ने जनविश्वास रहेको छ ।

टीका-जमरा लगाउने आफ्नै साइत

देशभर ज्योतिषीको साइतमा मात्र दसैंको टीका जमरा लगाउने गरे पनि डोल्पाको त्रिपुराकोटमा भने आफ्नै साइतमा टीका जमरा लगाउने गरिन्छ । त्रिपुरासुन्दरी मन्दिरमा औंसीदेखि सुरु भएको नवरात्रको पूजाआजा शुक्लदशमीको बेलुकी मात्र सकिने भएकाले दशमीका रातिबाट मात्र टीका जमरा लगाउन सुरु हुन्छ ।

मन्दिरमा नवरात्रको पूजाआजाका लागि आएका पुजारी र ब्राह्मणहरुले एकअर्काबीच टीका जमरा लगाएर शुभकामना आदान–प्रदान गर्नुका साथै दसैंको पूजाआजा विधिवत रूपमा विसर्जन गरिसकेपछि बेलुकी मात्र घरघरमा लगाउन सुरु हुने स्थानीय रामप्रसाद देवकोटाले बताए ।

देवीको पूजाआजा व्यवस्थापनका लागि ब्राह्मण, निसानी, छडिदार, फुलारा, दमाई र कुलाललाई आ–आफ्नै जिम्मेवारी तोकिएको हुन्छ । ब्राह्मणको पूजाआजा गर्ने, निसानीको निसान बोक्ने, छडिदारको राँगा बोका बलि काट्ने, फुलाराको देवीको फूलको डोला बोक्ने, दमाईको बाजागाजा बजाउने र कुलालको राँगा बलिका लागि बाबियोको डोरी बाँध्ने जिम्मेवारी तोकिएको हुन्छ । डोल्पा पुग्न हवाई र सडक दुवै माध्यमको प्रयोग गर्न सकिन्छ । नेपालगन्ज विमानस्थल हुँदै जहाजमा पुग्न सकिन्छ भने काठमाडौं-नेपालगन्ज-सुर्खेत-जाजरकोट-रुकुम हुँदै पनि सिधा गाडीमा डोल्पा पुग्न सकिन्छ ।

– रामचन्द्र न्याैपाने