न्युयोर्क, असोज १० : संयुक्त राष्ट्रसङ्घले हालै सम्पन्न एक उच्चस्तरीय बैठकमार्फत विश्वभरिका सरकारलाई युवालाई नीतिनिर्माणको केन्द्रमा राख्न आग्रह गरेको छ । उक्त बैठक विश्व युवा कार्ययोजना (डब्लुपे) को ३०औँ वार्षिकोत्सवको अवसरमा आयोजित गरिएको हो ।
“विश्व युवा कार्ययोजना ३० वर्षपछि पुस्ताबिचको सहकार्यबाट विश्वव्यापी प्रगति तिव्र पारौँ” भन्ने नारासहित आयोजना गरिएको कार्यक्रममा विभिन्न राष्ट्रका नेता, सरकारी अधिकारी र युवाका प्रतिनिधिले सहभागिता जनाएका थिए। बैठक राष्ट्रसङ्घीय महासभाको ८० औँ अधिवेशन अन्तर्गत न्युयोर्कस्थित मुख्यालयमा सम्पन्न भएको हो ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पठाउनु भएको सन्देशमा आजका युवाले जलवायु संरक्षण, प्रविधिमा नवप्रवर्तन, स्थानीय समाधानको खोज तथा मानवअधिकारको संरक्षणमा अग्रणी भूमिका खेलेको उल्लेख गरिएको थियो । तर, उहाँले दुः ख व्यक्त गर्दै भन्नुभयो, “युवालाई अझै पनि आफ्नै जीवनसँग सम्बन्धित महत्वपूर्ण निर्णयबाट टाढा राखिने गरिएको छ ।”
युवालाई निर्णय प्रक्रियामा बराबरीको साझेदारको रूपमा स्वीकार गरी, उनीहरूको विचार, ऊर्जा र नेतृत्व क्षमतालाई समुचित सम्मान दिनुपर्ने उहाँको जोड थियो । युवाको चासो र चुनौतीलाई सम्बोधन गर्नुपर्छ । राष्ट्रसङ्घीय महासभाका अध्यक्ष अनालेना बेयरबकले युवाले आजभोलि भोगिरहेका प्रमुख चुनौती बारेमा गहिरो चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “जब केही नेता जलवायु संकटलाई अस्वीकार गर्छन्, युवाले नै अग्रसरता लिइरहेका छन् । यस्तो स्थितिमा पुस्ताबिचको ऐक्य र सहकार्य अत्यावश्यक छ ।” संयुक्त राष्ट्रसङ्घ युवा कार्यालयले अन्य साझेदार संस्थासँग सहकार्य गर्दै एक वैश्विक रणनीतिक परिकल्पना अभ्यास सञ्चालन गरेको थियो ।
यस अभ्यासमा १८२ देशका करिब ७५ हजार युवाले भाग लिएर आफ्ना अनुभव, चुनौती र आकांक्षा प्रस्तुत गरेका थिए । युवा मामिलाका सहायक महासचिव फेलिपे पौलियरले भन्नुभयो, “विश्वभर १५ देखि ३५ वर्ष उमेर समूहमा रहेका २ अर्ब ३० करोडभन्दा बढी युवाले हाम्रो भविष्य निर्माणमा बराबरीको भूमिका पाउनुपर्छ ।”