09/26/2025, 00:38:24
बिहिबार, असोज ०९, २०८२

सरकारले फर्कायो सम्पत्ति शुद्धीकरणसहित तीन निकाय


काठमाडौँ, असोज ९ : सुशीला कार्की नेतृत्वको सरकारले केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालयमा ल्याएको तीन निकायलाई पुरानै अवस्थामा फर्काउने निर्णय गरेको छ । बिहीबारको मन्त्रिपरिषद्को बैठकले राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग र राष्ट्रिय अनुसन्धान विभागलाई पुरानै अवस्थामा फर्काएको हो ।

मन्त्रिपरिषद्‍ले राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभागलाई अर्थ मन्त्रालय र राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालय अन्तर्गत फकाइएको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जनाए । यी तीनवटै विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको मातहतमा राखिएको थियो ।

२०७४ को निर्वाचनमा एमाले र माओवादीले करिब दुई तिहाइ बहुमत ल्याएपछि प्रधानमन्त्री बनेका ओलीले यी तीन महत्वपूर्ण विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याएर केन्द्रिकृत गरेका थिए ।

तत्कालीन प्रधानमन्त्री ओलीले प्रधानमन्त्री कार्यालयमा शक्ति एकत्रित गर्ने प्रयासस्वरुप १६ फागुन २०७५ मा यी विभागहरूलाई आफू मातहत ल्याएका थिए ।

गृह मन्त्रालयअन्तर्गत नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग गरी तीनवटा सुरक्षा अंग रहेकोमा विभागचाहिँ प्रधानमन्त्री कार्यालय मातहत गएपछि सुरक्षा समन्वयमा ठूलो कमजोरी रहँदै आएको थियो ।