धनगढी, असोज ७ : कैलालीको धनगढी उपमहानगरपालिका –१ मा रहेको एउटा सडकलाई जेनजी मार्ग नामकरण गरिएको छ ।
जेन-जी आन्दोलन र जेन-जी सहिदहरुको सम्मानमा पार्कमोड, कभर्ड हल हुँदै क्याम्पस रोड जोड्ने सडकलाई जेनजी मार्ग नामकरण गरिएको हो । नेपालमा सत्ता नै उलटफेर गर्नेगरी भएको जेन-जी आन्दोलन सफल भएपछि धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले सो मार्गलाई जेनजी मार्ग नामकरण गर्ने घोषणा गर्नुभएको थियो ।
नगर प्रमुख हमालको घोषणापछि जेन-जीहरुले नै जेनजी मार्ग लेखिएको बोर्ड ठाउँ ठाउँमा राखेको वडा नम्बर ३ का वडा अध्यक्ष राजबहादुर ऐरले बताउनुभयो । उहाँले नगर प्रमुखले गरेको घोषणानुसार सडकको नामकरण जेनजी मार्ग राख्ने प्रस्ताव कार्यपालिकाको बैठकबाट पारित गरिने उल्लेख गर्नुभयो ।