न्युयोर्क, असोज ३ : इजरायलले गाजा सहरमा आफ्नो सैन्य आक्रमण बढाइरहेको बेला संयुक्त राज्य अमेरिकाले बिहीबार गाजामा तत्काल र स्थायी युद्धविरामको आह्वान गर्ने संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावलाई भिटो गरेको छ ।
परिषद्का १० निर्वाचित सदस्यले पेस गरेको मस्यौदामा १५ मध्ये १४ सदस्यले समर्थन जनाए । प्रस्तावमा ‘गाजामा सबै पक्षले सम्मान गर्ने तत्काल, बिना शर्त र स्थायी युद्धविराम’, हमास र अन्य समूहद्वारा राखिएका सबै बन्धकको रिहाइ र मानवीय सहायतामा लगाइएका प्रतिबन्ध हटाउन आह्वान गरिएको थियो ।
अमेरिकी भिटोको बचाउ गर्दै मध्यपूर्वका लागि उप विशेष दूत मोर्गन ओर्टागसले भन्नुभयो, “यस प्रस्तावको अमेरिकी विरोध कुनै आश्चर्य होइन । यसले हमासको निन्दा गर्दैन, न इजरायलको आत्मरक्षाको अधिकारलाई मान्यता दिन्छ । बरु यसले हमासलाई फाइदा पुग्ने झूटा कथालाई वैधानिकता दिन्छ ।”
अमेरिकी कदमको प्यालेस्टिनी र अरब प्रतिनिधिहरूले तीव्र आलोचना गरे । प्यालेस्टिनी दूत रियाद मन्सुरले भन्नुभयो, “परिषद्को मौनता यसको विश्वसनीयता र अधिकारका लागि ठूलो मूल्यमा आउँछ । अत्याचार अपराध भइरहेका बेला भिटो शक्तिको प्रयोग हुनुहुँदैन ।” अल्जेरियाका राष्ट्रसङ्घीय राजदूत अमर बेन्दजामाले भन्नुभयो, “प्यालेस्टिनी दाजुभाइ दिदीबहिनीहरू, हामीलाई क्षमा गर्नुहोस् । संसारले अधिकारको कुरा गर्छ तर तपाईंहरूलाई अस्वीकार गर्दछ । हाम्रो निष्कपट प्रयास पनि अस्वीकारको पर्खालसँग ठोक्कियो ।”
इजरायली राजदूत ड्यानी डेननले ‘गाजामा हाम्रो युद्धलाई कुनै औचित्य आवश्यक छैन’ भन्दै अमेरिकाले दिएको भिटो समर्थनप्रति आभार व्यक्त गर्नुभयो । यो मतदान संयुक्त राष्ट्रसङ्घको स्थापनाको ८० औँ वार्षिकोत्सवकै दिन भयो । अल जजिराका कूटनीतिक सम्पादक जेम्स बेजले यसलाई ‘उदास’ क्षणका रूपमा वर्णन गर्दै भन्नुभयो, “अमेरिकाको दृष्टिकोणले ‘अमेरिका–पहिलो’ सोचलाई प्रतिबिम्बित गर्छ, जबकि धेरै देशहरूले बहुपक्षीय कूटनीतिको समर्थन गरिरहेका छन् ।”
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

















