गाजा सिटी, असोज १ : इजरायली सेनाले बुधबार गाजा सहरबाट मानिसलाई भाग्न दिनका लागि अस्थायी नयाँ मार्ग खोलिएको घोषणा गरेको छ । यो कदम प्रमुख भूमिसैनिक कारबाही सुरु गरेपछि आएको हो, जसको उद्देश्य हमासलाई कमजोर बनाउनु हो ।
इजरायली सेनाले मङ्गलबार बिहानै गाजा सहरमा ठुलो बमबारी गर्यो र आफ्ना सैनिकलाई गाजा स्ट्रिपको सबैभन्दा ठुलो सहरी क्षेत्रभित्र अगाडि बढायो । इजरायली सेनाले अब ‘सलाह अल-दिन सडक’ मार्फत अस्थायी यातायात मार्ग खोलिएको जानकारी दिएको छ, जुन बिहीबार दिउँसो १२ बजेदेखि ४८ घण्टाका लागि खुला रहने छ ।
युनाइटेड नेसन्सले अगस्त अन्त्यमा गाजा सहर र वरपर करिब एक लाख मानिस बसोवास गर्ने अनुमान गरेको छ । हालसम्म तीन लाख ५० हजार भन्दा बढी मानिस दक्षिणतर्फ भागिसकेको इजरायली सेनाको दाबी छ । तर गाजा बसोबास गर्ने धेरै मानिस भन्नुभयो, “यहाँ कुनै सुरक्षित ठाउँ छैन । हामी घरमै मर्न तयार छौँ ।”
युद्ध अक्टोबर २०२३ मा हमासले इजरायलमाथि आक्रमण गर्दा सुरु भएको थियो, जसमा एक हजार दुई सय १९ जना सामान्य नागरिक मारिएका थिए । इजरायली कारबाहीमा अबसम्म करिब ६४ हजार ९६४ जना सामान्य नागरिकको मृत्यु भएको छ । संयुक्त राष्ट्रको एक स्वतन्त्र जाँच टोलीले इजरायलले गाजामा ‘जनसंहार’ गरिरहेको बताएका छन् ।
तर इजरायली सरकारले यो आरोप अस्वीकार गर्दै उक्त टोलीको तुरुन्त खारेजीको माग गरेको छ । यसैबिच कतार र फ्रान्सले इजरायललाई गाजा सहरमाथि आक्रमण रोक्न आग्रह गरेका छन् । अमेरिकी विदेश मन्त्री मार्को रुबियोले कतारका शेखसँग भेट गरी मध्यस्थताको भूमिकामा रहन आग्रह गर्नुभयो ।