काठमाडौँ, भदौ २९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य गणेश कार्कीले पनि पार्टी छोड्ने तयारी गरेका छन् । कार्कीले पार्टी पुरानै ढर्राले चलेकाे हुँदा साेचेजस्ताे हुन नसकेकाले पार्टीबाट अलग हुने मनसाय बनाएको बताए ।
उनले २३ र २४ भदाैकाे जेन–जी आन्दोलनमा पार्टीको भूमिकाबारे पनि कुरा उठाएका छन् । ‘हामीले आत्मालोचना गर्ने कि कमजाेरी स्वीकारेर अघि बढ्ने कुरामा पार्टी प्रस्ट भएन,’ उनले भने । उनका अनुसार परम्परागत शक्तिहरू बेकामे भए भनेर रास्वपाप्रति जनताकाे अभिमत प्रकट भए पनि साे अनुरूपकाे व्यवहार पार्टीले पुष्टि गर्न नसकेको बताए । उनका अनुसार विभिन्न परिघटनाले पार्टीमाथि चुनाैती पैदा हुँदै गएको छ । तर, ती चुनाैती पहिल्याउँदै संग्लाे पार्टी बनाउने सवालमा नेतृत्व चुकेकाे उनकाे ठम्याइ छ ।
कार्कीका अनुसार अहिले रास्वपामा दुई पक्ष प्रस्ट गरी देखिएको छ । एउटा फागुनमा तय भएको महाधिवेशनअगाडि नै गरेर नयाँ नेतृत्व चुनेर जाने पक्षमा छ भने रवि लामिछाने निकटहरू महाधिवेशन नगरी जानुपर्ने अडानमा छन् । साेही अडानका बीच मत बाँझिएकाे हुँदा महाधिवेशन गरौँ भन्ने पक्षका लागि बिस्तारै पार्टीमा ठाउँ साँघुरिँदै गएको महसुस हुन थालेको छ ।
कार्कीले पनि पार्टी सुधार्न आन्तरिक रूपमा धेरै लडे पनि सुनुवाइ हुन छोडेको बताए । उनका अनुसार पार्टीको नेतृत्वको गलत कार्यशैलीको विरुद्ध आवाज उठ्दै जान थालेको छ । अब बिस्तारै अर्लि महाधिवेशन माग्ने र त्यो सुनुवाइ नभए आफूसहित केही साथीहरू अलग हुने तयारीमा रहेकाे कार्कीले पुष्टि गरे ।