09/13/2025, 22:16:46
शनिबार, भदौ २८, २०८२

राष्ट्रिय हित, एकता र सौहार्दताको प्रवर्द्धनमा रास्वपाको भूमिका सदा सहयोगी


काठमाडौँ, भदौ २८ : राष्ट्रिय स्वतन्त्र पार्टीले जेन-जी र राष्ट्रलाई साथ दिन र राष्ट्रलाई समर्थन गर्न एक विज्ञप्ति जारी गरेको छ।

कठिन संक्रमणकालबाट मुलुकलाई पार लगाउन प्रथम महिला प्रधानमन्त्रीले जिम्मेवारी पाउनुभएको छ। भ्रष्टाचार र कुशासन विरुद्ध स्थापनाकालदेखिनै राष्ट्रिय स्वतन्त्र पार्टी संघर्षशील रहेको स्मरण गराउँदै, भदाै २३ मा नवयुवा (Gen-Z) पुस्ताले गरेको निर्णायक हस्तक्षेपको बलमा यो परिवर्तन भएको हो । तथापि, संविधान पालनाको कोणबाट प्रश्न उठेको छ।” विज्ञप्ति मा उल्लेख छ ।

सबै पक्षलाई जोड्न भदाै २६ गते रास्वपाले जारी गरेको प्रस्ताव थियो: “राष्ट्रिय सभाको स्थायी स्वरुप र गतिशीलता कायम राखी अन्तरिम सरकारले आगामी प्रतिनिधिसभाको निर्वाचन ६ महिनाभित्र गर्ने गरी ताजा मतादेशको अपरिहार्यता र आन्दोलनको म्यान्डेटबीच सन्तुलन राख्न रास्वपा उचित ठान्दछ।

फागुन २१, २०८२ का लागि तोकिएको आमनिर्वाचन सफलतापूर्वक सम्पन्न गर्दै शान्तिपूर्ण सत्ता-हस्तान्तरणका साथै लोकतान्त्रिक हकअधिकारको निर्वाध उपभोग, विधिमा बाँधिएको असल शासन अनुरुप चरम भ्रष्टाचार र दण्डहीनता विरुद्ध कडा कदम, पुनर्निर्माण र आर्थिक सुधार, सुदृढ अन्तर्राष्ट्रिय सम्बन्ध एवं विकासमा गुणस्तरीय द्रूतताको अपेक्षा यस अन्तरिम सरकारबाट राखिएको छ । यी घोषित लक्ष्यहरुबाट सरकार च्यूत हुँदा प्रतिरोध हुनेमा रास्वपा स्पष्ट रहँदै समग्र राष्ट्रिय हित, एकता र सौहार्दताको प्रवर्द्धनमा हाम्रो दल सदा सहयोगी भूमिकामा रहनेछ ।