मनाङ, १८ भदौ : मनाङ प्रदेशसभा निर्वाचन–२ को उपनिर्वाचनका लागि मनोनयन असोज २१ गते मनोनयन दर्ता हुने भएको छ। जिल्ला निर्वाचन कार्यालय मनाङलाई सो सम्बन्धी पत्र प्राप्त भएको मनाङका निमित्त निर्वाचन प्रमुख गोविन्दप्रसाद अर्यालले बताउनुभयो।
निर्वाचन कार्यालयले उपनिर्वाचनको कार्यतालिका सुरु गरे पनि राजनीतिक दलले भने भदौ २६ गतेपछि मात्र आधिकारिकरूपमा चहलपहल थाल्ने बताएका छन्।
निर्वाचन आयोगको बैठकले मनाङ–२ प्रदेशसभा सदस्य रिक्त पदका लागि उपनिर्वाचनको कार्यतालिका जिल्ला निर्वाचन कार्यालय मनाङलाई पठाएको हो। प्राप्त कार्यतालिका अनुसार भदौ १३ गतेबाट निर्वाचन अवधि सुरु भइसकेको छ।
कार्यतालिका अनुसार भदौ २३ गतेसम्म निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक जनशक्ति अनुमान तथा विवरण सङ्कलन, असोज १२ गतेसम्मलाई स्थानीय स्तरबाट सामग्री खरिद गर्नका लागि समय दिइएको छ। असोज २० गतेलाई निर्वाचन अधिकृतको कार्यालय स्थापनाको मिति, कम्प्युटर अपरेटरका लागि निर्वाचन व्यवस्थापन प्रणालीसम्बन्धी एकदिने तालिम तथा निर्वाचन अधिकृत र निर्वाचन अधिकारीको लागि एकदिने अभिमुखीकरणको कार्यक्रम तय गरेको छ।
त्यसैगरी असोज २१ देखि २४ सम्म निर्वाचन कार्यक्रम सञ्चालन गरिने उल्लेख छ। असोज २५ गतेलाई निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारको अन्तिम नामावली र चिह्न वितरणको विवरण प्राप्ति गर्ने गरी कार्यतालिका निर्धारण गरिएको आयोगको सूचनामा उल्लेख छ। कात्तिक ११ गते मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारीको नियुक्ति र एकदिने अभिमुखीकरण गर्ने छ।
त्यसैगरी निर्वाचन प्रसार–प्रचारका लागि असोज ३१ देखि कात्तिक १४ सम्मको समयावधि तोकेको छ। २०८२ कात्तिक १४ गते राति १२ बजेबाट प्रसारप्रचार निषेध तथा मौनअवधि सुरु हुने छ। कात्तिक १७ गते बिहान ७ बजेबाट मतदान सुरु भएर ५ बजे सम्पन्न हुने बेहोरासहितको परिपत्र जिल्ला निर्वाचन आयोग मनाङलाई प्राप्त भएको जिल्ला निर्वाचन कार्यालय मनाङका निमित्त निर्वाचन प्रमुख गोविन्दप्रसाद अर्यालले बताउनुभयो।
निर्वाचन आयोगको प्राप्त पत्रअनुसार जिल्ला निर्वाचन कार्यालय मनाङले कार्य सुरु गरेको पनि निमित्त निर्वाचन प्रमुख अर्यालले बताउनुभयो।
उपनिर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारको मनोनयन दर्ता असोज २१ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्धारण गरेको छ। सोही दिन बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक गरिने जिल्ला निर्वाचन कार्यालय मनाङले जनाएको छ। उक्त सूचीविरुद्ध उजुरी दिने समय असोज २२ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म निर्धारण गरिएको छ। उजुरी र मनोनयनपत्रको जाँचबुझ तथा निर्णय असोज २२ को दिउँसो ३ बजेदेखि असोज २३ गते बेलुका ५ बजेसम्म सम्पन्न गरिने छ। त्यसपछि असोज २३ गते बेलुका ५ देखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशित गरिने छ।
असोज २४ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्ने छन्। सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरिने र दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको निर्वाचन कार्यालय मनाङका निमित्त निर्वाचन प्रमुख गोविन्द अर्यालले बताउनुभयो।
निर्वाचन आयोगले मतदान कात्तिक १७ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुने जनाएको छ। प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्द सूचीमा नाम समावेश भएका व्यक्तिले उम्मेदवारी दिन नपाउने कानुनी व्यवस्था रहेको निर्वाचन आयोगले जनाएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!














