09/03/2025, 12:11:04
बुधबार, भदौ १८, २०८२

रुवाउने शैलीको निरन्तरतामा चलचित्र ‘कोसेढुङ्गा’


काठमाडौँ, भदौ १८ : ब्लकबस्टर चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ बाट चर्चामा आएका निर्देशक हुनुहुन्छ, सरोज पौडेल । निर्देशक पौडेल निर्देशित दोस्रो चलचित्र ‘कोसेढुङ्गा’ अहिले प्रदर्शनरत छ । चलचित्र ‘कोसेढुङ्गा’ ले दर्शकमाझ जति छाप छोड्ने अपेक्षा गरिएको थियो त्यो चलचित्र कथ्यशैली हेर्दा खासै पूरा नहुने देखिन्छ । ‘पूर्णबहादुरको सारङ्गी’ ले जस्तो दर्शकलाई हलसम्म तान्ने दम ‘कोसेढुङ्गा’ मा छैन ।

निर्देशक पौडेल स्वयंकै लेखन रहेको चलचित्रको कथा धेरै ठाउँमा सुस्त गतिले बगेको छ । चलचित्रमा केही बनावटी पनि देखिन्छ । यद्यपि चलचित्रमा बढी भावुकता छ र दर्शकलाई रुवाउने प्रयास गरिएको छ । त्यसैले निर्देशक पौडेलको उही रोनाधोना लयको अवधारणाको कथाले भने दर्शकलाई प्रभावित नपार्ला भन्न सकिन्न ।

बेरोजगारीले घरपरिवार र समाजमा देखिने उतारचढावको कथा हो ‘कोसेढुङ्गा’ । डाँडागाउँ जहाँ शीतल (सुरक्षा पन्त) र सन्जोग (मन्जिलकुमार) प्रेममा छन् । दुवै विवाह गर्न चाहन्छन् तर दुवैबिचको तगारो बनेको छ धनवीर (प्रवीण खतिवडा), जो पैसा र राजनीतिको आडमा शीतलसँग विवाह गर्न चाहन्छ । यता पढेलेखेको सन्जोग रोजगारीको खोजीमा छन् । सन्जोग लोक सेवा पास गरेर सरकारी जागिर खाएपछि मात्र विवाह गर्ने सोचमा छन् ।

गाउँमै बसेर पशुपालन गरिरहेका सन्जोगका फुपूका छोरा ऋषिराम (आर्यन सिग्देल) ले शीतलसँग उनको विवाह गरिदिन्छन् । विवाहपछि पनि सन्जोगले लोक सेवामा नाम निकाल्न सक्दैनन् । अन्ततः उनी बिदेसिन्छन् । विदेश गएपछि सन्जोगको जीवनशैली राम्रो हुन्छ तर अचानक विदेशमा उनीमाथि ठुलो विपत्ति आइपर्छ । सोही विपत्तिभित्र अनेकन् कथामा मिसिएको छ ‘कोसेढुङ्गा’ । शीतल, सन्जोग र ऋषिरामको सङ्घर्ष देखिएका अनेकन् ट्विस्टको कथा हो चलचित्र । के सन्जोग खाडीको विपत्तिबाट उम्कन सक्लान् ? चलचित्रको मुख्य कथा नै यही हो ।

चलचित्र मध्यान्तरअघि केही सुस्त नै भए पनि कलाकारका केही रमाइला संवादले दर्शकलाई हँसाउनुका साथै रमाइलो बनाउँछ । चलचित्रको कथा खासै नयाँ होइन तर आमनेपालीले खाडी मुलुक गएपछि त्यहाँका नियम कानुन थाहा नभएपछि के कस्ता दुःख झेल्नु पर्छ भन्ने कुरा चलचित्रले पस्कन खोजेको छ ।

निर्देशक पौडेल स्वयं चलचित्रका लेखक भए पनि उहाँको कथावस्तुले चलचित्रमार्फत समाजमा आशा जगाउन नसकेको हो कि भन्ने भान गराउँछ । चलचित्रमा राजनीतिलाई फोहोरी खेल हो भन्ने देखाइएको छ र त्यसको लेनदेन जुन तरिकाले गरिएको त्यो अग्रगामी तरिकाको नभएको हो कि ? चलचित्रको अन्त्यमा निर्देशक पौडेलले पैसालाई धेरै महìव दिनुभएको महसुस हुन्छ । किनकि गाउँमा चुनावी सरगर्मी बढेका बेला चुनावकै बाटोबाट शीतलले धनवीरसँग आफ्नो श्रीमान् बचाउन मद्दत माग्न सक्थिन् । निर्देशकले यो पाटोलाई महìव दिन नखोज्नुभएको हो कि ?

चलचित्रमा महिलाले काम नै गर्नुहुँदैन भन्ने जुन तरिकाले प्रस्तुत गर्न खोजिएको छ यसले लेखक पुरातनवादी सोचबाट अझ पनि टाढा हुन नसकेका हुन् कि भन्ने देखाउँछ । चलचित्रको सबैभन्दा बलियो पक्ष भनेकै यसको सिनेमाटोग्राफी र गीत/सङ्गीत हो । चलचित्रमा समावेश ‘नत्र भने जिन्दगी व्यर्थ छ ..’ बोलको गीत कोरियोग्राफी निकै जमेको छ । स्मृति तिमल्सिनाको कोरियोग्राफी बबाल छ । यस्तै झलकमान गन्धर्वको ‘आमाले सोध्लिन् नि..’ बोलको गीतलाई रिमेक मार्मिक र वेदनामय सुनिन्छ ।

चलचित्रमा कलाकारको अभिनय हेर्ने हो भने सबैले तारिफयोग्य काम गर्नुभएको छ । सुरक्षा पन्तलाई पात्र अनुसार अभिनय सुहाएको छ । सहायक कलाकारका रूपमा नीति शाह, स्नेहा जोशी, आर्यन सिग्देल, प्रवीण खतिवडा, सरोज खनाल, ऋचा शर्मा, झकेन बिसी, सविन कटुवालले पनि दर्शकबाट वाहवाही नै पाउने अभिनय गरेका छन् ।