
१५ भदौ, काठमाडौं : बागमती प्रदेशकै एक मात्र उपमहानगरपालिका र प्रदेशको राजधानी रहेको हेटौँडामा मीना कुमारी लामा पहिलो महिला नगर प्रमुख हुनुहुन्छ । स्थानीय तह निर्वाचन २०७९ मा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को तर्फबाट २३ हजार ७५ मत ल्याएर उहाँ नगर प्रमुखमा निर्वाचित हुनुभएको थियो । उहाँले नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार अनन्त प्रसाद पौडेललाई दुई हजार १६७ मत अन्तरले पराजित गर्दै हेटौँडाको पहिलो महिला नगर प्रमुख बन्न सफल हुनुभएको थियो ।
अघिल्लो कार्यकालमा एमालेका तर्फबाट उहाँ हेटौँडा उपमहानगरपालिकाको उप–प्रमुख हुनुहुन्थ्यो । स्थानीय सरकारको प्रमुख बन्नुभएपछि उहाँले हेटौँडाको विकासका लागि ल्याउनुभएको योजना, प्रगति, चुनौती, हेटौँडालाई चिनाउने र भावी योजनाका विषयमा अनिल पराजुलीले गर्नुभएको कुराकानीको अंशः
हेटौँडा उपमहानगरपालिकाको मुख्य योजनाहरू के–के छन् ?
सबैभन्दा पहिला हेटौँडा उपमहानगरपालिकालाई आधारभूत सुविधा दिन हामी लाग्यौँ, जसमा स्वास्थ्य, शिक्षा, उत्पादन र रोजगारीसँग जोडिएर जाने र पूर्वाधारहरू सबै घरघरमा पु¥याउने काममा लाग्यौँ । सोही अन्तर्गत विभिन्न काम गर्दै आइरहेका छौँ । स्वास्थ्य क्षेत्रलाई हेर्ने हो भने नगरको १९ वटै वडामा २२ वटा स्वास्थ्य भवन निर्माण गरेका छौँ, वडाकार्यालयहरु निर्माण गरिसकेका छौँ, शिक्षामा विभिन्न सामुदायिक विद्यालय मर्ज गरेर अगाडि बढेका छौँ । साथै, नगरमा व्यवस्थित खानेपानीको लागि तयारी गरिरहेका छौँ । आम नागरिकले पाउने आधारभूत कुराहरूलाई प्राथमिकतामा राखेर नगरले काम गरिरहेको छ ।
हेटौँडाको समस्या के–के छन् ?
हामी एसियन हाइवेको मारमा पनि छौँ, जसरी अरू पालिकाहरूमा एसियन हाइवे निर्माण हुँदै आए पनि हेटौँडामा ढिलो भएको हामीले महसुस गरेका छौँ । जसले गर्दा हेटौँडाको रूप परिवर्तन हुन सकेको छैन । प्रदेशको राजधानी भएसँगै सवारीको चाप पनि बढेको छ भने ट्राफिक अस्तव्यस्त छ, हामीले गरेको काम पनि राम्रो देखिएको छैन । तथापि पनि हेटौँडालाई हामीले सौन्दर्य बनाउने कुरामा विभिन्न पूर्वाधार निर्माण गर्ने कुरामा हामी काम गरिहरेका छौँ । हाम्रो योजना अन्तर्गत नै हरेक घरमा बाटो, खानेपानी र बिजुली पु¥याउने लगभग सकेका छौँ । खानेपानीको रूपमा हेर्दा नगरको ७ प्रतिशत स्थानमा मात्र एक घर एक धारा पुग्न बाँकी रहेको छ । लगभग ६० वटा उपभोक्ता खानेपानी समितिले खानेपानी खुवाइरहेको छ भने २८ हजार घर परिवारलाई खानेपानी बोर्डबाट पानी वितरण गरिरहेका छौँ ।
योजनाको प्रगति के के भएका छन् ?
हेटौँडा उपमहानगरपालिकाको १९ वटाको २२ वटा आफ्नै स्वास्थ्य भवन निर्माण गरेका छौँ । आम नागरिकलाई पाएक पर्ने गरी चार स्थानमा वर्थिङ सेन्टरसहितको स्वास्थ्य भवन सुचारु गरेका छौँ । हटिया अस्पताल र पदमपोखरी अस्पताल सुरु गरेका र्छौँ । नगरका ८ हजार परिवारलाई निःशुल्क १० हजार लिटर खानेपानी वितरण गरेका छौँ । बेला बेलामा स्वास्थ्य शिविर र जनचेतनामूलक कार्यक्रम गरिरहेका छौँ । पाँच बर्से नीति बनाएर शिक्षाको क्षेत्रमा नगरले काम गरिरहेको छ । विद्यालय एकीकरण गर्ने र एकीकरण गरिएको विद्यालयलाई यातायातसँग जोड्ने गरी काम गरिहरेका छौँ । हेटौँडामा रहेको पुरानो र धेरै विद्यार्थी अध्ययन गर्ने दुई सामुदायिक विद्यालय भुटनदेवी मावि र आधुनिक माविलाई एकीकरण गरेर मेघा विद्यालयका रूपमा लैजानका लागि कार्यविधि बनाएर कार्य अगाडि बढाएका छौँ ।
शिक्षाका सन्दर्भमा उपमहानगरपालिकाको अभिभावकत्वमा ५ वर्षीय कानुन स्नातक र कृषि विज्ञानमा स्नातक तहको शैक्षिक कार्यक्रम सुरु गरेका छौँ । एमबिबिएस अध्ययन लगायत अन्य शैक्षिक कार्यक्रममा अध्ययनरत विपन्न विद्यार्थीका लागि शैक्षिक सहयोग र छात्रवृत्ति उपलब्ध गराएका छौँ । विकट भूगोलका छात्राहरूलाई शैक्षिक निरन्तरताका लागि छात्रावास सुविधा उपलब्ध गराइएको छ । स्वास्थ्य क्षेत्रको विकासका लागि निःशुल्क रक्त सेवा, किड्नी डायलासिस सेवा, आइसियु सेवा, मातृ तथा शिशु सघन उपचार सेवाको प्रबन्धका लागि आवश्यक समन्वय र सहयोग गरेका छौँ । नगरका सबै वडाहरूमा आधारभूत स्वास्थ्य सेवा संस्था र २ वटा नगर अस्पताल सञ्चालन गरिएको छ । नगरलाई बालमैत्री नगर घोषणा गरिएको छ । महिलामैत्री सहर र उज्यालो सहरको अवधारणा अनुरूपका काम अघि बढाइएको छ । दीर्घकालीन स्वच्छ खानेपानी आपूर्ति र व्यवस्थित ढल निकासका लागि बृहत्तर योजना अघि बढेको छ ।
कामका सिलसिलामा सहजता–असहजता के मा भएका छन् ?
काम पदको प्रकृति अनुसार फरक हुन्छ । स्थानीय सरकार सञ्चालन ऐनले व्यवस्था गरे अनुसार नगर प्रमुख र उप प्रमुखले गर्ने काम छुट्टै हुन्छ । काम भनेको अप्ठेरोलाई सहज बनाएर लैजाने हो । मैले कामलाई गहन रूपमा कानुनसम्मत गरेको छु ।
यहाँको योजना अनुसार अघि बढ्न पालिकाका अन्य जनप्रतिनिधिबाट कत्तिको साथ पाउनुभएको छ ?
सबैको साथ सहयोग छ । हामी मिलेर काम गरिरहेका छौँ । हामीले हेटौँडा बनाउने कुरामा बृहत् रूपमा छलफल, विवाद हुने कुरा त गछौँ, नभएको होइन, तर हामीले निचोडमा हामी एक जुट छौँ, सबै निर्णयहरू कार्यान्वयन गर्न सकेका छौँ ।
निर्वाचनका समयमा अन्य पुरुष उम्मेदवारलाई पराजित गरेर अगाडी आउँदा कस्तो अनुभूति गर्नुभयो ?
मैले चुनावका बेला उम्मेदवार हुँदा महिलाको रूपमा अनुभव नगरी एउटा उम्मेदवारको रूपमा सोचे । नगर प्रमुखको उम्मेदवार दिइरहँदा मैले जित्छु भनेर उम्मेदवार दिएको थिए । मेरा प्रतिष्पर्धीहरु भेट्रान भए पनि मैले आफूलाई कमजोरी ठानेको थिइन, किनकि म पनि स्वयम् उम्मेदवार हुँ भन्ने बलियो बनाएको थिए । हाम्रो आफ्नो गठबन्धन पनि थियो, त्यस कारण पनि मलाई चुनाव जित्न सम्भव र सहज भयो ।
महिला नेतृत्वमा आउँदा कस्ता चुनौती हुने रहेछन् ?
मैले यो विषयलाई गम्भीर रूपमा लिएको छु, किनभने, महिला भएर प्रमुख पदमा काम गर्नका लागि कुनै कुनै कुरामा सजिलो पनि हुने रहेछ । विभिन्न छलफलमा पनि महिलालाई धेरै अवरोध नगरौँ भन्ने पाए । सुरु सुरुको अवस्थामा महिलालाई दबाउन सक्छौँ की, महिला हो यिनले चाही गर्न सक्दैनन् की ?, ठुलो स्वरले कराउँदा यिनलाई चाही ठिक पार्न सक्छौ कि भन्ने अनुभूति गरे । मैले नगर प्रमुखको जिम्मेवारी सम्हालेर न्यायसम्म, कानुन सम्मत काम गर्दा समन्वय र सहकार्य गर्दा जटिल कामहरू पनि गर्न सकिने रहेछ । आफू एक्लै भए पनि समन्वय सहकार्यले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दो रहेछ । मैले स्वयम्ले महसुस गरेको छु ।
हेटौँडालाई कस्तो बनाउने सपना देख्नुभएको छ ?
मैले सबैभन्दा पहिले त हेटौँडालाई आधारभूत कुरामै जोड्न चाहे । साबिकको पाँच वटा गाविस जोडेर बनेको यो उपमहानगरपालिका । अझैँ पनि सम्पूर्ण घरमा बाटो पुग्न सकेको छैन, पानी पुग्न सकेको छैन, स्वास्थ्य पुग्न सकेको छैन, शिक्षा पुग्न सकेको छैन, त्यहाँ चाही कसरी पु¥याउने भन्ने पहिलो प्राथमिकता हो भने अर्को हामीले दिने सेवामा सरकार हामीसँग छ है भनेर अनुभूत दिने गरी हामी लागेका छौँ । हामी वडा कार्यालयहरूमार्फत सिफारिस मात्र गदैनौँ अहिले वडा कार्यालय मार्फत नै सम्पूर्ण निर्माणदेखि लिएर सामाजिक रूपान्तरणका काम मार्फत सबै वडालाई शक्तिशाली बनाएका छौँ । हामीले अधिकारहरू प्रत्यायोजन गरेका छौँ । २० लाख सम्मको बजेटको कार्यक्रम वडामै सम्झौता हुन्छ, साना योजना वडामै बन्छ, वडाबाटै फरफारक हुन्छ । वडामै बजेट र कर्मचारी पठाएका छौँ । जसले गर्दा अति आवश्यकका कामहरू नगर प्रमुखसँग गर्नुपर्ने काम मात्रै उपमहानगरपालिकामा राखेका छौँ । जसले गर्दा खर्च र समयका हिसाबले नागरिकले सहज रूपमा सेवा पाइरहनुभएको छ ।
युवालाई उत्पादनसँग जोडेर लैजानका लागि हेटौँडाको पदमपोखरीमा ड्रागन फुड, मेवा खेती, केरा खेती, धान पकेट क्षेत्र घोषणा, मकैको पकेट क्षेत्र, रैथाने बिउ जोगाउन सफल भएका छौँ । त्यसै गरी विभिन्न ढाका उद्योग, गार्मेन्ट उद्योग, बेसार उद्योग, खुवाको मिठाइ बनाउने उद्योग सञ्चालन गरेका छौँ र अहिले सँगसँगै महिलाहरूलाई उद्यमीशिलतासँग जोडेर लैजानका लागि उद्यमी घर कोसेली घर निर्माण गरेर सुरुवात गर्दछौँ । हेटौँडा–१० स्थित बसपार्कमा आफ्नै बस टर्मिनल अन्तिम चरणमा रहेको छ । सोही स्थानमा हेटौँडा कम्प्लेक्स निर्माण गर्दछौँ । खानेपानी, ढल व्यवस्थापन, पानी उपचार लगायतका काम गर्न चार सय करोडको योजना आउँदै छ । सानादेखि ठुला अवधारणामा हामी अगाडि बढेर पूर्वाधार निर्माण गरेर उत्पादन जोड्दै हिँडेका छौँ ।
हेटौँडा उपमहानगरपालिका कसरी चिनियोस् भन्ने यहाँलाई लाग्छ ?
हेटौँडा स्वस्थ र सफा सहरका रूपमा रूपमा चिनिन्छ, यसलाई कायम गर्न काम गरिरहेका छौँ । हेटौँडाको विभिन्न स्थानमा सडक बत्तीको जडान गरेका छौँ । हेटौँडा औद्योगिक क्षेत्र पनि हो । अबको पहिचान भनेको हेटौँडालाई शिक्षाको हवको रूपमा चिनाउन लागि रहेका छौँ । हेटौँडा भौगोलिक अवस्थितिका हिसाबले मुलुकको बिच भाग र सङ्घीय राजधानी तथा मुलुककै प्रवेशद्वार वीरगन्जसँग ज्यादै नजिकको दूरीमा रहेको सुन्दर सहर हो । हावापानी, यातायातको सुगमता र व्यावसायिक सम्भावना बोकेको सहर भएकोले हामी हेटौँडालाई मुलुककै बसोबासका दृष्टिले रोजाइको सहर बनाउन चाहन्छौ । सामाजिक सद्भावयुक्त, मानवीयता प्रबद्र्घन भएको, सुरक्षित, स्वच्छ, समृद्ध सहरको रूपमा चिनाउन चाहन्छौ । कुनै पनि सहरको जीवन आर्थिक अवसर र गतिविधिसँग जोडिने हुँदा र नागरिकको जीवनस्तर उत्पादन र आर्थिक क्रियाकलापको बिस्तार सङ्ग सम्बन्धित हुने हुँदा औद्योगिक गतिविधि बढेको र हरेक घरपरिवार कुनै न कुनै उत्पादनमूलक काममा लागेको अवस्था निर्माण गर्न चाहन्छौ । साथै व्यवस्थित सहरीकरणका लागि आवश्यक गुणस्तरीय पूर्वाधारयुक्त सबै वर्ग समुदायका लागि मैत्री संरचना भएको व्यवस्थित सहर भनेर चिनियोस् जस्तो लाग्छ ।
भावी योजना के के छन् ?
हेटौँडामा विभिन्न क्याम्पसहरू स्थापना गर्दै शैक्षिक हबको रूपमा विकास गर्दै लैजाने मेरो योजना छ । पर्यटकीय प्रवद्र्धन पनि गरेर लैजाने । प्रदेशको राजधानी भएको हिसाबले काठमाडौँसँग जोडेर लैजाने योजना छ । हेटौँडा उपमहानगरपालिकाका उप प्रमुख राजेश बानियाँको संयोजकत्वमा थाहा नगरपालिकाका उप प्रमुखको उप संयोजकमा टिम बनाएर काठमाडौँको पशुपतिदेखि भारतको कलकत्ता जोड्ने रुटको अध्ययन गरिरहेका छौँ । हेटौँडालाई कलकत्ता, विहारसँग जोड्दै पशुपतिसम्म पर्यटक लैजाने, भीमफेदी–इन्द्रसरोवर, ऐतिहासिक गढीलाई जोडेर हेटौँडाले अभिभावकत्व निर्माण गरेर पर्यटक भित्र्याउने विषयमा अध्ययन गरिरहेका छौँ ।
अन्तमा भन्नुपर्ने केही विषय छन् की ?
जनप्रतिनिधिका रूपमा मैले अहिलेसम्म गरेको काम र भोगेको अनुभवका आधारमा भन्ने हो भने ठुलो संरचना भन्दा पनि पहिला आधारभूत कुरा महत्त्वपूर्ण हुने रहेछ । हामी आधारभूत कुरा पूरा गरेर आम नागरिकलाई, युवा, महिलाहरूलाई उद्यम र उद्यमशीलतासँग जोडेर अगाडि बढ्छौ । तर, यसका लागि म एक्लै वा हाम्रो पालिकाको योजना भएर मात्रै हुँदैन समग्र नगरवासीको साथ चाहिन्छ । आशा छ, उहाँहरूले त्यस खालको साथ दिनुहुनेछ । त्यसो भएको खण्डमा हिजो चुनावका बेला नागरिकको घरदैलोमा गरेको वाचा क्रमशः पुरा गर्दै अघि बढ्न सकिनेछ ।
– अनिल पराजुली (गोरखापत्र)