08/27/2025, 19:53:39

‘आरने पेसाले भोको राखेन, तर उँभो पनि लगाएन’

तुफानडाँडामा म स्थानीयकै खाली जग्गामा बनेको सानो टहरामा बस्छु । भाडा त पर्दैन, तर यो पनि स्थायी छैन । अहिले नगरपालिकाले सडक फराकिलो पार्ने भन्दै यहाँबाट अन्त सार्ने ताकेता गरेको छ । सडक विस्तार भएपछि यो ठाउँ छोड्नैपर्नेछ । भविष्य के हुन्छ भन्ने कुरा असुरक्षित छ ।


११ भदौ, डडेल्धुरा : उमेर डाँडापारिको घामजस्तै हुन लाग्यो । अहिले ६६ वर्षको भएँ । मेरो जन्म र पुर्ख्यौली घर डडेल्धुराको अजयमेरु गाउँपालिका हो । हाट भन्ने ठाउँ हाम्रो थलो हो, यहीँ म हुर्कें, खेलेँ र यहीँकै माटोमा पसिना बगाएँ । आज पनि मेरो बसाइ यहीँ छ ।

मेरो जीवन यात्रा खासै फरक छैन । म कुनै सरकारी जागिरे होइन, कुनै ठूलै व्यावसायिक व्यापारी पनि होइन । म त बाबुबाजेले सिकाएको पुर्ख्यौली सीपलाई आत्मसात् गरेर जीवन बिताइरहेको एउटा साधारण आरन पेसामा लागेको मान्छे हुँ ।

म सानो छँदै परिवारको अवस्था कमजोर थियो । गरिब परिवारमा जन्मिएको हुनाले स्कुल जानु त सपनाजस्तै थियो । जब साथीहरू किताब बोकेर विद्यालय जान्थे, म भने बाबुबाजेले फलाम पिटिरहेको आरनघरमा धूवाँ र आगोको बीचमा खुट्टा टेक्दै जीवनको पाठ पढ्थेँ ।

१५ वर्षको हुँदा मैले पहिलोपटक हथौडा समाएँ । त्यो दिनदेखि सुरु भएको मेरो आरने–जीवन आज ६६ वर्ष पुग्दा पनि उस्तै छ । बाबुबाजेले भन्नुहुन्थ्यो– ‘सीपले कहिल्यै धोका दिँदैन ।’ तर कहिलेकाहीँ लाग्छ, सीपले पेट भने भरिदिए पनि जीवन उँभो लाग्दैन रहेछ ।

बाल्यकालमा कपडा च्यातिएको हुन्थ्यो, चप्पल थिएनन् । पेटभरि खानासमेत सजिलो थिएन । तर, म आरनमा फलाम तताउने, पिट्ने र विभिन्न औजार बनाउने क्रममा ठूलो भएँ । किसानलाई हलोको फाली चाहिन्थ्यो, देवीदेवताका लागि पूजा गर्ने सामग्री चाहिन्थ्यो । त्यो सबै बनाउने काम हाम्रो परिवारले गर्थ्यो ।

आरनको पहिलो अभ्यास घरमै सुरु भए पनि पछि मैले नवदुर्गाको देउमाडामा आठ वर्षजति आरनमा काम गरेँ । देउमाडा मेरो ससुराली पनि हो । तर, ससुराली घरमा बस्नेभन्दा पनि अर्को गाउँमा बस्ने निर्णय गरेँ । किनकि, आरन मेरो जीवन थियो, म जहाँ भए पनि आरनसँगै बाँधिनै पर्‍यो ।

अहिले डडेल्धुराको तुफानडाँडामा आएर आरन चलाएको २२ वर्ष भयो । तबदेखि आजसम्म यही ठाउँलाई आफ्नो कर्मथलो बनाएर आरन चलाउँदै आएको छु । मेरो जीवन दिनभरि आरनमा बित्छ । बिहानै उठेर काम सुरु गर्छु । फलाम तताउँछु, तामा पगाल्छु, हथौडा चलाउँछु । दिनभरि पसिनाले नुहाएर राति थकाइले शरीर थला पार्छ ।

कमाइ भने स्थिर छैन । कहिले दुई सय मात्र, कहिले हजार त कहिले १५ सय रुपैयाँसम्म कमाउँछु । तर धेरै दिन हात रित्तै फर्किन्छु । दिनभरि पसिना बगाएर कमाएको त्यही पैसाले चामल, दाल, तरकारी किनेर खाना पकाउँछु । कहिलेकाहीँ राम्रो कमाइ भएको दिन एक पाउ मासु किनेर मुख मिठो बनाउँछु । त्यो दिनको खाना मिठो लाग्छ । अन्य दिन मिठो मसिनो त सपना मात्र हो । दिउँसो चिया पिउँछु, कहिलेकाहीँ नास्ता खान्छु । अनि साँझ सामान्य खाना खायो, सुत्यो । कति दिन त थकाइले खाना नपकाइ भोकै सुतेको पनि छु ।

म यहीँ बस्छु । तुफानडाँडामा म स्थानीयकै खाली जग्गामा बनेको सानो टहरामा बस्छु । भाडा त पर्दैन, तर यो पनि स्थायी छैन । अहिले नगरपालिकाले सडक फराकिलो पार्ने भन्दै यहाँबाट अन्त सार्ने ताकेता गरेको छ । सडक विस्तार भएपछि यो ठाउँ छोड्नैपर्नेछ । भविष्य के हुन्छ भन्ने कुरा असुरक्षित छ ।

म आठ जनाको परिवारको जिम्मेवार मान्छे हुँ । दुई छोरा, बुहारी, नातिनातिना, श्रीमती र म । यति परिवारलाई पाल्ने जिम्मेवारी मेरो काँधमा छ । कोही जागिरे छैनन्, सबै घरकै सामान्य काम गर्छन् । ज्यालामा काम गर्ने वा आरनमै आउने अर्डरहरू पूरा गर्ने । काम आयो भने पेट पालिन्छ, नत्र जीवन निकै कठिन हुन्छ । कहिलेकाहीँ सोच्छु, यो पेसाले भोको राखेन, तर उँभो पनि कहिल्यै नलगाउने भो । दिनभरि पसिना बगाएर पनि बचत केही खास हुँदैन । कहिलेकाहीँ दुई सय रुपैयाँ जोगाएर राख्छु । त्यही पैसाले कमाइ नभएका दिन गुजारा चलाउँछु ।

आरनमा मैले बनाउन नसक्ने चिज कमै छ । हलाको फालीदेखि लिएर पूजा गर्ने पञ्चदियो, मानो, कलश, मूर्ति, सिंहासन, नरसिंह बाजा सबै बनाउन सक्छु । तर यो सीपलाई समाजले कहिल्यै सम्मान दिएजस्तो लाग्दैन । यो सबै मैले बाबुबाजेको हात समाएर सिकेको हो । कतै तालिम लिएर होइन । मेरो हात नै मेरो विद्यालय हो । फेसबुक र युट्युब हेरेर सिकेको सीप कहाँ टिक्छ र ! तर अहिले भने युवा पुस्ता यस्तै सजिलो बाटोतिर आकर्षित भएको छ । सीप सिकाउने नाममा सरकार वा विभिन्न संस्था आए पनि केवल कापीमा लेखेर देखाउने मात्र गर्छन् । व्यावहारिक तालिम कसैले दिन चाहँदैन ।

२२ वर्ष तुफानडाँडामा बिताउँदा सरकार वा स्थानीय निकायबाट खासै सहयोग पाइएन । हलियामुक्ति समाजले एकपटक पंखा दिए, त्यतिमात्र हो । नत्र न कुनै योजना आयो, न त यो पेसाको आधुनिकीकरणका लागि पहल भयो । मेरो बुढेसकाल अब आरनमै बित्नेछ । हातखुट्टा चलुन्जेल काम गर्नेछु । तर कहिले के हुन्छ भन्ने अनिश्चित छ ।

मलाई लाग्छ, यो पेसाको व्यावसायीकरण भए धेरै युवालाई रोजगारी मिल्थ्यो । म आफैं अझै सक्षम छु, अरूलाई तालिम दिन सक्छु । यदि स्थानीय सरकारले सहयोग गरे भने नयाँ पुस्तालाई सीप सिकाउन सक्छु । तर अहिलेको अवस्था भने फरक छ । युवाहरू विदेशिन बाध्य छन् । यो हातको कला मसँगै हराउँदै जाने हो कि भन्ने चिन्ता लाग्छ ।

यद्यपि, मेरो जीवनको सबैभन्दा ठूलो गर्व यही हो, म बाबुबाजेको सीपलाई जोगाइरहेको छु । बिहान कमाएको पैसाले बेलुकी परिवारसँग भातदाल खान पाउँदा नै मलाई सन्तोष लाग्छ । मासु खान नपाए पनि, राम्रा लुगा नपाए पनि श्रम गरेर बाँचिरहेको छु भन्दा गर्व लाग्छ ।

यो उमेरमा आएर पछाडि फर्केर हेर्दा देख्छु, मेरो जीवन आरनकै धूवाँ, आगो र पसिनामा बित्यो । यही सीपमा रमाएँ । यो पेसाले मलाई धनी त बनाएन, तर परिवार पाल्न सक्ने बनाएर राख्यो । यत्ति नै मेरा लागि ठूलो कुरा हो । बुढेसकालमा हातखुट्टा चलुन्जेल यही आरनमै दिन बित्नेछ । यही मेरो जीवन हो ।

– तर्कराज भट्ट