08/26/2025, 21:08:05

राष्ट्रपति पौडेलद्वारा विपिनको रिहाइका लागि जोर्डनका राजासँग आग्रह


काठमाडौँ, भदौ १० : राष्ट्रपति रामचन्द्र पौडेलले हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीको रिहाइका लागि आवश्यक पहल गरिदिन जोर्डनका राजा अब्दुल्ला द्वितीयलाई आग्रह गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले जोर्डनका राजालाई मङ्गलबार एक पत्र पठाउँदै जोशीको अवस्था पहिचान, सुरक्षित रिहाइ तथा स्वदेश फिर्तीको लागि यथासक्य पहल गरिदिन सो आग्रह गर्नुभएको हो । उहाँले पत्रमा यस प्रयोजनका लागि उहाँका जोर्डनी समकक्षीले चाल्नुहुने सबै मानवीय तथा कूटनीतिक कदमको नेपाल र नेपाली जनताले उच्च प्रशंसा र स्वागत गर्ने कुरा उल्लेख गर्नुभएको छ ।

राष्ट्रपति पौडेललाई जोशीका आमा र बहिनीले राष्ट्रपति भवन शीतल निवासमा आइतबार भेटेर रिहाइको लागि पहल गरिदिन आग्रह गर्नुभएको थियो । सो अवसरमा राष्ट्रपति पौडेलले जोशीको रिहाइका लागि आफूले थप प्रयास गर्ने बताउनुभएको थियो ।