08/26/2025, 12:15:33

नोट नभए पनि चल्छ हाट, चाहिँदैन नगद, वस्तु नै साटासाट


हिले, भदौ १० : सूचना प्रविधिको उच्चतम प्रयोगले विश्व बजार प्रणालीमा नै उथलपुथल ल्याइदिएको छ । नेपाल पनि त्यसको अछुतो छैन । नगदमा आधारित बजारलाई अहिले नगदरहित (क्यासलेस) विद्युतीय भुक्तानी प्रणाली वा अनलाइनमार्फत हुने व्यापारले प्रतिस्थापन गर्दै छ ।

तथापि भोजपुरको अरुण गाउँपालिकाकी शान्तिदेवी राईलाई यसले केही छुँदैन । उहाँ अरुण नदी पार गरेर धनकुटाको चानुवाको हाटडाँडामा लाग्ने साप्ताहिक हाटमा आफैँले उत्पादन गरेका सामान किन्न होइन, साट्न पुग्नुहुन्छ ।

गत बुधबार मात्र उहाँ बारीमा आफ्नै बारीमा फलेका सरिफा, सुर्ती लिएर आफ्नो गाउँबाट करिब आठ किलोमिटर टाढा धनकुटाको महालक्ष्मी नगरपालिका–४ मा लाग्ने सो हाटमा पुगी तामा, गट्टो, कागती र नास्पातीसँग साट्नुभयो । भोजपुरबाटै आएकी तिलमाया थापाले पनि आफूले ल्याएको सुर्ती, कागती, नास्पाती र केही तरकारीसँग साट्नुभयो । हरेक साता बुधबार लाग्ने हाटमा उहाँ यसै गरी घर गाउँमा उत्पादन भएका वस्तु बोकेर पुग्नुहुन्छ र आवश्यक परेको तर गाउँघरमा नपाइने वस्तु साटासाट गरेर फर्कनुहुन्छ ।

महालक्ष्मी–४, नाम्फुगाउँकी बुद्धिमाया तामाङको घरमा कागती थियो तर नास्पाती र सुर्ती थिएन । उहाँले पनि आफूले लगेका कागतीसँग नास्पाती र सुर्ती साटेर फर्कनुभयो ।

विश्वव्यापी रूपमा सन् १९९७ र २०१२ को बिचमा जन्मिएको पुस्ता (जेनेरेसन जेड) लाई ‘जेनजी’ भन्ने गरिएको छ । यस पुस्तालाई विद्युतीय प्रविधि, सामाजिक सञ्जाल, महामन्दी र महामारी जस्ता विश्वव्यापी घटनाद्वारा परिभाषित गरिएको छ । नेपालमा पनि ‘जेनजी’ का नामबाट अहिलेको नवीन पुस्तालाई चिन्ने गरिएको छ ।

त्यही जेनजी पुस्ताका लागि अनौठो लाग्ने यो वस्तु विनिमय परम्परा धनकुटाको महालक्ष्मी नगरपालिका–४, चानुवाको हाटडाँडामा लाग्ने साप्ताहिक बुधबारे हाटमा अहिले पनि प्रचलनमा छ । अन्यत्रको हाटभन्दा यहाँको हाट धेरै नै फरक छ । अन्यत्र पैसाले वस्तु तथा सेवाको किनबेच हुन्छ तर यहाँ भने अहिले पनि वस्तुसँग वस्तु नै साटिन्छ । हाट भर्न आउने अधिकांशले पैसा प्रयोग नै नगरी एकअर्काबिच आफूलाई आवश्यक पर्ने साटासाट गरेर लाने गरेका छन् ।

अहिलेको आधुनिकतासँगै यो प्रायः लोप भइसकेको छ । घरबाटै बाहिर ननिस्किई अनलाइनमा समेत वस्तु खरिदबिव्रm गर्ने चलन आइसकेको छ । सहरी क्षेत्रमा अधिकांश कारोबार नोटबिनै अर्थात् डिजिटल प्रविधिबाट हुन थालेको छ तर धनकुटाको ग्रामीण क्षेत्रमा लाग्ने हाटले भने अहिले पनि मौलिक परम्परा जोगाइरहेको छ ।

स्थानीय बजार भए पनि बिचमा बग्ने अरुण नदीले कित्ताकाट गरेका भोजपुर र धनकुटा जिल्लाका केही स्थानको यो भरपर्दो बजार हो । त्यसैले भोजपुरको जरायोटारबाट लामपाते सुर्ती, सरिफा, होम्ताङबाट बदाम लिएर हाट भर्न आउने स्थानीय बासिन्दा महालक्ष्मी नगरपालिकाको डाँडागाउँ, चानुवा, मारेक कटहरेका माथिल्लो भेगका बासिन्दासँग सब्जी साट्छन् तर यो बजार भोजपुर र धनकुटाका उपभोक्तामा मात्र सीमित छैन । सङ्खुवासभा र तेह्रथुमका स्थानीय हाट भर्न यहाँ आउने गरेका छन् ।

वस्तु विनिमयका कारण औलो (बेँसी) मा फलेको उत्पादन लेखका किसानले र लेखमा फलेको उत्पादन औलोका किसानले सहज रूपमा पाउने स्थानीय जगत पौडेल बताउनुहुन्छ । पुराना वस्तु विनिमय प्रथा यो हाटले जोगाइराखेको उहाँको भनाइ छ ।

यसरी हुन्छ कारोबार

वस्तु विनिमय मुद्राको आविष्कार कारोबार हुनुभन्दाअघिको प्रचलन हो । मुद्रा नहुँदा आफूलाई आवश्यक पर्ने सामग्री तथा सेवा आफूसँग भएको वस्तुसँग साट्ने गरिन्थ्यो । त्यही अनुसार चानुवाको हटिया भर्न आउने किसानले मूल्याङ्कन वस्तुका आधारमा नै गर्छन् । साटासाट गर्दा वस्तु अनुसार बराबरीमा भाग लगाउँछन् । हाट भर्न आएका किसान आफूले ल्याएको तरकारी डुलाउँदै आफूलाई चाहिने खोज्दै साटासाट गर्ने गरेको स्थानीय प्रसाद राई बताउनुहुन्छ । गाउँ गाउँमा सडक सञ्जाल पुगेपछि ढाकरमा कृषिजन्य सामग्री बोकेर ल्याउने प्रचलन अहिले यथावतै रहेको उहाँको भनाइ छ ।

घट्दो प्रचलन

त्यसो त पहिलेको तुलनामा अहिले निकै कम मात्रामा मात्र वस्तु विनिमय हुने गरेको छ । २०५५/५६ सालसम्म हाट भर्न आउने अधिकांश मानिस वस्तु विनिमयमै कारोबार गर्दथे तर अहिले थोरैले मात्र पुरानै प्रथालाई अँगालेको महालक्ष्मी नगरपालिका–४ का वडाध्यक्ष शुक्रराज बुढाथोकीले बताउनुहुन्छ । हाटप्रतिको मोह घटेका कारण हाट भर्नेको सङ्ख्यामा कमी हुँदै र बजारमा आउने बुढाबुढीको सङ्ख्यामा कमी भई युवापुस्ता हाबी हुँदै गएपछि यो प्रचलन पहिलेको तुलनामा कम हुँदै गएको उहाँको भनाइ छ ।

त्यस्तै पछिल्लो समय सुरु सुरुमा नगदमै कारोबार गर्ने अनि नगदमा बिक्न छाडेपछि मात्र साटासाट गर्ने गरेको उहाँ बताउनुहुन्छ । “पहिले जस्तो हाटबजारै लाग्दैन, बसाइँसराइ तथा गाउँघर सबैतिर पसल पुगेकाले हाट भर्न आउनेको सङ्ख्या घटेको छ । त्यसमा पनि युवापुस्ता बढी आउने हुँदा वस्तु विनिमय प्रथा घट्दै गएको छ,” वडाध्यक्ष बुढाथोकी भन्नुहुन्छ ।

– कविराज घिमिरे