काठमाडौँ, भदौ ९ : सुयोग गुरुङको निर्देशनमा निर्माण भएको सिनेमा ‘जेरी अन टप’को टिजर सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको सिनेमाको टिजरमा अनमोल केसी, आँचल शर्मा र जसिता गुरुङको त्रिकोणात्मक प्रेमकथालाई रोमान्टिक तरिकामा प्रस्तुत गरिएको छ ।
करीब डेढ मिनेटको टिजरले युवापुस्तामाझ उत्सुकता जगाएको छ । टिजरमा सुरुवाती रोमान्टिक दृश्यदेखि प्रेममा आएको विछोड, भावनात्मक संघर्ष र जीवनशैलीलाई स्टाइलिस ढंगले प्रस्तुत गरिएको देखिन्छ । विशेषगरी अनमोल, आँचल र जसिताको फ्रेस र एनर्जेटिक लुक्सले दर्शकको ध्यान खिचेको छ ।
यो टिजरमा अभिनेता केदार घिमिरे (माग्ने बुढा)को उपस्थितिले हास्यरस थपेको अनुभूती हुन्छ भने अनमोलको रोमान्टिक अवतारले ‘जेरी’ ब्रान्डप्रति दर्शकमाझ रहेको पुरानो क्रेजलाई फेरि ताजा बनाएको छ । सिनेमाको उत्कृष्ट सिनेमाटोग्राफी, पप-रोमान्टिक ब्याकग्राउण्ड स्कोर र संवादविहीन अभिव्यक्तिले यसलाई ठूलो पर्दामा हेर्ने आकांक्षा अझै बढाएको छ ।
सगरमाथा बेसक्याम्प, काठमाडौं र मुस्ताङ जस्ता लोकेसनमा छायांकन गरिएको सिनेमाका केही दृश्य करिब एक करोड लागतमा बनाइएको सेटमा खिचिएको हो । सिनेमामा अनमोल, आँचल र जसिता सहित केदार घिमिरे ‘माग्नेबुढा’, भुवन केसी, सुरक्षा पन्त र उषा खड्कीको पनि महत्वपूर्ण भूमिका रहनेछ । यसमा अनमोलको बुवाको भूमिकामा आफ्नै पिता भुवन केसी देखिँदै छन् ।
सिनेमाको कथा हेमराज बिसीको रहेको छ भने पटकथा विश्वास तिम्सिनाले लेखेका हुन्। दुलिप रेग्मीको छायांकनमा बनेको फिल्ममा कालिप्रसाद बाँस्कोटा, जयन जे वाइबा, जोहन चाम्लिङ राई र ब्रिजेश श्रेष्ठको संगीत रहेको छ।
हङकङस्थित एलजी एसोसिएट्सले फिल्मको (अष्ट्रेलियाबाहेक) अन्तर्राष्ट्रिय वितरण अधिकार खरिद गरेको छ भने नेपालमा रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरणको जिम्मा लिएका छन्।
सरोज न्यौपानेको प्रस्तुतिमा रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारी निर्माता रहेको सिनेमाको कार्यकारी निर्मातामा अनुराधा गिरी र इश्वर श्रेष्ठ रहँदा एसोसिएट निर्मातामा नविन घिमिरे, विवेक थापा र भविष्य खड्का छन् ।