काठमाडौँ, भदौ ९ : केदार घिमिरे ‘माग्ने बुढा’ मुख्य भूमिकामा रहेको सिनेमा ‘माग्ने राजा’ले उत्साहपूर्ण व्यापार गरिरहेको छ ।
शुक्रबार र शनिबार आक्रामण व्यापार गरेको सिनेमाले अफ डे आइतबार र सोमबार पनि उत्साहजनक व्यापार गरेको निर्माणपक्षले जनाएको छ । आइतबार र सोमबार पनि हलमा दर्शकको चाप बाक्लो देखिएपछि कलाकारहरू दर्शकलाई भेट्न हल-हलमा पुगेका छन् ।
‘माग्ने राजा’का वितरक रोहित कट्टेल भन्छन्, ‘आइतबार पनि माग्ने राजाको व्यापार व्यापक उत्साहजनक, भोलिदेखि भव्य हुँदैछ ।’
‘माग्ने राजा’का लेखक सामीप्यराज तिमलसेनाले ‘आइतबार टेस्ट पास’ लेखेका छन् । सामान्यतया लामो समय नचल्ने सिनेमा आइतबार र सोमबार खासै चल्दैनन् । त्यसैले उनले आइतबारको परीक्षा पास भएको भनेर लेखेका हुन् ।
शुक्रबार हाफ छुट्टी र शनिबार बिदा भएकाले यी दुई दिन सामान्यतया सिनेमा चल्ने तर सिनेमा राम्रो नभए वर्ड अफ माउथ ब्याड हुँदा आइतबारबाट सिनेमा चल्दैनन् । तर, आइतबार पनि बक्सअफिस राम्रो भएकाले निर्माण टिम अब सिनेमा लामो समयसम्म चल्नेमा ढुक्क देखिएको छ । सोमबार पनि बिहान र बेलुकाको शोमा राम्रो अनुपेन्सी देखिएको छ ।
‘माग्ने राजा’का मुख्य कलाकार केदार घिमिरेले दर्शकप्रति आभार व्यक्त गर्दै लेखेका छन्, ‘जय होस् ।’ तीन दिनमा यो सिनेमाले कति कमाई गर्यो त्यो भने निर्माण टिमले सार्वजनिक गरेको छैन ।
शुक्रबारदेखि प्रदर्शनमा आएको सिनेमा ‘माग्ने राजा’ भुइँमान्छेको धनी हुने सपनाको कथा हो । केदार घिमिरेले मुख्य भूमिकामा अभिनय गरेको यो पहिलो सिनेमा हो । सिनेमामा केदारसहित वर्षा सिवाकोटी, विल्सन विक्रम राई, शारदा गिरी, शिशिर वाङ्देल र आर्यन सिग्देल लगायत कलाकारको अभिनय छ । सामिप्यराज तिमिल्सेनको लेखन रहेको सिनेमाका निर्माता मुनाल घिमिरे हुन् ।