काठमाडौँ, भदौ २ : शान्ति सम्झौता गर्ने कूटनीतिक दौडधुपबीच रुसले युक्रेनमाथि ड्रोन आक्रमण गरेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यम अलजजिराका अनुसार सोमबार दक्षिण पूर्वी सहर जोपोरिजियामा आक्रमण गरेको हो ।
सोमबारको आक्रमणमा १७ जना घाइते भएका छन् । रुसले आइतबार साँझ पनि आक्रमण गरेको थियो । युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा रूसीले ड्रोन आक्रमणमा गरेको हो । ड्रोन आक्रमणमा ६ जना सर्वसाधारणको मृत्यु भएको छ । अलजजिराले स्थानीय अधिकारीलाई उद्धृत गर्दै आक्रमणमा ६ जना बालबालिकासहित २० जना घाइते भएको जनाएको छ ।
यसरी शान्ति सम्झौताबारे कूटनीतिक दौडधूप चलिरहँदा रुसी आक्रमणलाई लिएर युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसको विरोध गरेका छन् । सामाजिक सञ्जाल एक्समा रुसलाई वासिङ्टनमा वार्ता हुने थाहा हुँदाहुँदै पनि हमला गरेको भन्दै निन्दा गरेका छन् । उनले युद्धविरामका लागि बस्न लागेको कूटनीतिक बैठकको अपमान गरेको बताएका छन् ।
एकातिर वार्ता भन्ने अर्कोतिर बमबारी गर्दै सर्वसाधारणको जीवन लिने काम भइरहेको जेलेन्स्कीको भनाइ छ । ‘पुटिनले युक्रेन र युरोपमा दबाब कायम राख्न र कूटनीतिक प्रयासहरूलाई अपमानित गर्न हत्या गर्दैछन्,’ उनले लेखेका छन्, ‘ त्यसैले भरपर्दो सुरक्षा ग्यारेन्टी आवश्यक छ । त्यसैले यस युद्धमा भाग लिएकोमा रुसलाई पुरस्कृत गर्नु हुँदैन ।’
सोमबार अमेरिकाको वासिङ्टनमा स्थानीय समयअनुसार १ बजे (नेपाली समय आज मध्यरात १२:४५)मा ट्रम्प र जेलेन्स्की भेट्दैछन् । सो भेटमा आधा दर्जनभन्दा बढी युरोपेली नेता पनि जाँदैछन् । बेलायती प्रधानमन्त्री किअर स्टार्मर, इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी, फ्रान्सका प्रधानमन्त्री इम्मानुएल म्याक्रों र फिनल्यान्डका प्रधानमन्त्री एलेक्जेन्डर स्टबसमेत बैठकमा सहभागी छन् ।
उनीहरूसँगै जर्मनका चान्सलर फ्रेडरिक मेर्ज, नेटोका महिसचिव मार्क रुट र युरोपेली कमिसनका अध्यक्ष उर्सुला भोन डेर लेयन पनि बैठकमा सहभागी हुने बीबीसीले जनाएको छ । उनीहरूसँग ट्रम्पले स्थानीय समय अनुसार ३ बजे भेट्दैछन् ।