08/18/2025, 17:33:47

जेलेन्स्की अमेरिकामा, वार्तामा युरोपेली नेताको साथ


वासिङ्टन, भदौ २ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका लागि क्रिमिया पुनः प्राप्त गर्ने वा नेटो सदस्यता प्राप्त गर्ने सम्भावनाहरू वार्ताबाट बाहिर रहेको घोषणा गर्नुभएको छ ।

यसैबीच, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सोमबारको वार्ताका लागि अमेरिकी राजधानी वासिङ्टन आइपुग्नुभएको छ । राष्ट्रपति जेलेन्स्कीले विगतमा पटक–पटक भूभागीय सम्झौताको विरोध गर्दै आउनुभएको छ । युरोपेली आयोग प्रमुख उर्सुला फन डेर लायन तथा अन्य युरोपेली नेताहरूसँग संयुक्तरूपमा सोमबार राष्ट्रपति ट्रम्पसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

यो भेटवार्ता ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच शुक्रबार अलास्कामा सम्पन्न भएको शिखर सम्मेलनको केही दिन पछाडि हुँदैछ । उक्त सम्मेलनबाट युद्धविराममा ठोस सहमति जुट्न नसके पनि दुवै नेताले युक्रेनलाई ‘मजबुत सुरक्षा प्रत्याभूति’ दिन प्रतिबद्धता जनाउनुभएकाे थियाे ।

जेलेन्स्की उक्त अलास्का बैठकमा आमन्त्रित थिएनन् । बैठकपछि ट्रम्पले युक्रेनले युद्ध अन्त्य गर्न चाहने हो भने त्यो तुरुन्त सम्भव हुने अभिव्यक्ति दिनुभएकाे थियो ।

राष्ट्रपति जेलेन्स्कीले चाहेमा रुससँगको युद्ध तुरुन्त अन्त्य गर्न सक्छन्,“ ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा उल्लेख गर्नुभयो । “क्राइमिया त बाराक ओबामाको पालामै बिना गोली चलेको र बिना प्रतिरोध रुसलाई गइसकेको थियो ।

सुरक्षा प्रत्याभूति

जेलेन्स्कीले आइतबार राति वासिङ्टनमा अवतरण गरेपछि, “हामी सबै यो युद्ध यथाशीघ्र र दीर्घकालीन रूपमा अन्त्य गर्न इच्छुक छौं,” भनी प्रतिक्रिया दिनुभयो ।

फेब्रुअरीको विवादपछि ट्रम्पले पुटिनप्रति आलोचना गर्न थालेका छन् र वार्तामा रुसको ढिलाइप्रति असन्तुष्टि देखाउनुभएको छ । ट्रम्पद्वारा पुटिनलाई अलास्कामा दिइएको भव्य स्वागतलाई रुसका लागि कूटनीतिक सफलता मानिएको छ ।

ट्रम्पले पुटिनसँग युक्रेनका लागि नेटो–जस्तै रक्षा प्रणालीबारे छलफल गरेको बताउनुभयो, यद्यपि उक्त योजना नेटोको औपचारिक संरचनाबाहिर रहनेछ ।

भूभागसम्बन्धी छलफल

ट्रम्पका दूत स्टिभ विट्कफले भने अनुसार, रुसले युक्रेनका पाँच क्षेत्रहरूसम्बन्धी केही लचिलो देखाएको छ । उहाँले विशेष गरी डोनेत्स्क क्षेत्रको भविष्यबारे सोमबारको बैठकमा विस्तृत छलफल हुने जनाउनुभयो ।

सन् २०१४ मा क्राइमिया र सन् २०२२ मा डोनेत्स्क, खेरसोन, लुगान्स्क र जापोरिज्झिया रुसले एकतर्फी रूपमा कब्जा गरेको थियो, यद्यपि ती सबै भूभागमा पूर्ण सैन्य नियन्त्रण छैन ।

एक सूचनाअनुसार, ट्रम्पले युरोपेली नेताहरूसँगको फोन वार्तामा डोनबास क्षेत्रमा रुसले अहिलेसम्म नपाएको भूभागसमेत उसलाई दिन सकिने सम्भावनामा समर्थन जनाएका थिए । सट्टामा रुसले खेरसोन र जापोरिज्झियामा अग्रपङ्क्ति ‘स्थिर’ राख्न सहमत हुने अपेक्षा गरिएको छ ।