08/12/2025, 14:02:31

मनाइयो पाटनको मौलिक पर्व (दीपयात्रा ) मतयाः


ललितपुर, साउन २७ : ललितपुरको पाटनमा दीपयात्रा अर्थात् मतयाः पर्व सोमबार मनाइएको छ । मृत आत्माको शान्तिको कामना गर्दै गाईजात्राको भोलिपल्ट मतयाः यात्रा सुरु हुने गर्छ । ललितपुरमा चार दिशामा अवस्थित स्तम्भभित्र रहेका मठमन्दिर र चैत्यमा पूजाआजाका साथ पैसा, अन्न आदि चढाउँदै परिक्रमा गरिन्छ ।

पाटनको मतयाः यात्राको बौद्ध धर्मसँग नजिकको सम्बन्ध रहेको स्थानीय तथा तलेजु मन्दिरका पुजारी सञ्जय राजोपाध्यायले बताउनुभयो । उहाँले बौद्ध धर्मावलम्बीले विशेष महत्वका साथ मनाउने ‘गुँला’ को सुरुवातसँगै पाटनवासीले मतयाःलाई स्वागत गर्न केही रात बाजागाजासहित सहर परिक्रमा गर्ने जानकारी दिनुभयो । पछिल्लो समय यस यात्रामा युवकयुवतीको उपस्थिति बढेको छ । कोही परम्परागत पोसाकमा सजिएर त कसैले आधुनिक फेसनसहित जात्राको रौनक बढाएका हुन्छन् ।

बगलामुखीका मनिष राजथलाले भन्नुभयो, “जात्राको रमाइलोले दिनभरको थकान मेटिदिएको छ ।” बिहानै हातमा मैनबत्ती बोकेर चाबहिलबाट अन्य भक्तालुसँगै निस्किएका उहाँले टङ्गाल, लगनखेल, हखबहाल, पूर्णचण्डी, बुबहाल, गाबहाल, नबहिल, श्रीबहाल, नटोल, पुल्चोक नागबहाल भएर साँझ पुनः चक्रबहिलमा पुगी यात्रा टुङ्ग्याउने बताउनुभयो ।

उहाँ जस्तै हातमा बत्ती लिएर दीपजात्रामा निस्केका सर्वसाधारणको भिडले यहाँका भित्री गल्लीमा उज्यालो छरेको थियो । सांस्कृतिक वेशभूषा र बाजागाजाका साथ दिनभर जसो निस्केको झाँकीले सहरलाई जात्रामय बनाएको छ ।

दिवङ्गत आत्माको शान्तिका लागि नगरमा रहेका विभिन्न बहाल तथा विहार परिक्रमा गर्दा सर्वसाधारणका आँगनसमेत उत्सवमय बनेको थियो । बिहानैदेखि मतयाः यात्रामा निस्केका धर्मावलम्बीका लागि सर्वसाधारणले विभिन्न पेय पदार्थ खुवाएर स्वागत गरेका थिए । पाटनबाहेक बुङमती, खोकना, ठैवलगायतका पुराना नेवार बस्तीमा पनि मतयाः जात्रा मनाइने गरिन्छ ।

मतयाः यात्रामा सबैले आफ्नो जीवनकालमा एक न एक पटक सहभागी हुनै पर्छ भन्ने मान्यता रहिआएको छ । संस्कृतिविद् डा. चुन्दा वज्राचार्यका अनुसार मतयाः यात्रामा सहभागी हुनेले पाटनभर छरिएर रहेका एक हजार चार सय धार्मिक स्थलको भ्रमण गर्नु पर्छ । बिहानै सुरु गरिने यात्राको नेतृत्व विशेष पुजारीद्वारा गरिने उहाँले बताउनुभयो ।

यात्राका क्रममा भक्तजनले आफ्नो गच्छे अनुसार चामल, फूल र पैसा चैत्यहरूमा चढाउने गर्छन् । यात्रामा हिँड्नेमध्ये कसैले परम्परागत बाजा बजाउँछन् भने कसैले मैनबत्ती समाउँछन् । कोही राक्षसको रूप धारण गरेर पनि यात्रामा सरिक हुन्छन् । संस्कृतिविद् वज्राचार्यका अनुसार यो यात्राको सुरुवात लिच्छविकालमा भएको हो । राजा बालचन्द्र देवका छोरा गुणकाम देवले पाटनका १० टोल र मङ्गलबजार, चक्रबहिल, इखा छेः, बुबहाल, हउगल, ओकुबहाल, कोबहाल, सौगल र नकबहिलका जनतालाई सम्मिलित गरेर यो यात्रा सुरु गरेको मान्यता छ ।

मतयाःलाई नेकु जात्रा पनि भन्ने गरिन्छ । नेवारी भाषामा ‘नेकु’ ले भैँसीलाई चिनाउँछ । गाईजात्राको भोलिपल्ट मनाइने हुँदा यसलाई नेकु मतयाः भनिएको हो । नेपाल भाषामा ‘मतः’ को अर्थ बत्ती हुन्छ भने ‘या’ को अर्थ ‘चाडपर्व’ अथवा ‘यात्रा’ हुन्छ । एकमहिने ‘गुँला’ पर्वको बिचमा पर्ने हुनाले पनि यसलाई जीवनरूपी यात्राको उच्च विन्दुको उत्सवका रूपमा लिने गरिएको छ । गौतम बुद्धसँगै जोडेर पनि मतयाः पर्व मनाइने गरिन्छ । काठमाडौँमा मनाइने गाईजात्रा पर्वलाई पनि यो जात्रासँग जोड्ने गरिन्छ ।