08/09/2025, 19:11:49

कैलाली कारागार घटना छानबिन गर्न समिति गठन


२४ साउन, धनगढी : कैलाली कारागारमा दुई पक्षका कैदीबिच भएको झडपको घटनाको छानबिनका लागि पाँच सदस्यी छानबिन समिति गठन गरिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोकत्वमा छानबिन समिति गठन गरिएको हो । शुक्रबारराति कैदीबिच झडप भएपछि विहान जिल्ला सुरक्षा समितिको बैठक बसेको थियो ।

समितिको सदस्यमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार सिंह, सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक जनकराज पन्त र जिल्ला अनुसन्धान कार्यालयका अनुसन्धान अधिकृत दीपेन्द्र सिंह रहनुभएको छ ।

सदस्य सचिवमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी रहनु भएको छ । छानबिन समितिलाई १० दिनभित्र छानबिन प्रतिवेदन बुझाउन निर्देशन भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारीसमेत रहनु भएका सदस्य सचिव जोशीले जानकारी दिनुभयो ।

शुक्रबार राति करिब पौने १ बजे दुई पक्षका कैदीबिच झडप भएको थियो । उनीहरूबिच जिम गर्ने सामग्रीले हानाहान भएको सूचना आएको कारागारका खरिदार रामप्रसाद चौधरीले जानकारी दिनुभयो ।

झडपमा परी धनगढीका ४० वर्षीय भरत चौधरीको मृत्यु भएको छ । ४७ जना घाइते भएका छन् । उनीहरूको टाउको, हात, मुख लगायत शरीरको विभिन्न भागमा चोट लागेको छ । घाइतेहरूको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।