08/02/2025, 17:41:34

कैलालीको सेकुवा सेन्टरमा किशोरीको हत्या, एक जना पक्राउ


१७ साउन, धनगढी : कैलालीमा एक युवतीको हत्या भएको छ । १७ वर्षीया किशोरी याचना सेजवालको चक्कु प्रहार गरी हत्या भएको हो ।

बर्दगोरिया गाउँपालिका-३ घर भएकी सेजवाल सो पालिकाको वडानम्बर १ मा रहेको राजधानी सेकुवा एण्ड म:म सेन्टरमा काम गर्थिन् । सेजवाललाई सोही सेकुवा सेन्टरमा काम गर्ने युवकले चक्क हानेर हत्या भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहका अनुसार शनिबार बिहान १० बजेतिर सेजवालमाथि बर्दगोरिया-१ का ३३ वर्षीय नृप साउदले चक्कु हानेका थिए । चक्कु प्रहारबाट गम्भीर घाइते भएकी सेजवाललाई उपचारका लागि तत्काल धनगढीको निसर्ग हस्पिटल पुर्‍याइएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको डीएसपी सिंहले बताए ।

सेजवालको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल राखिनेछ । उनीमाथि चक्कु प्रहार गर्ने साउदलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको कारण खुलेको छैन । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।