08/01/2025, 16:40:57

खाना पकाउने ग्यासको तौल र गुणस्तरबारे उपभोक्ता बेखबर


१५ साउन, ताप्लेजुङ : सहर तथा बजार क्षेत्रमा मात्र नभई पछिल्लो समय ग्रामीण भेगका बस्ती–बस्तीसम्म खाना पकाउने एलपी ग्यासको प्रयोग बढ्दै गएको छ। आधुनिकतासँगै मानिसमा सौखिन मोह बढ्दै गएको र ग्रामीण भेगमा भान्सा कोठाका चुल्होमा दाउराको सट्टा ग्यास सिलिन्डरको प्रयोग बढ्दै गएको हो।

भान्सा घरमा रहेको चुल्होमा बालिने दाउराको धुँवाले वातावरण प्रदूषित बनाउनुका साथै मानिसको स्वास्थ्यमा असर पुर्‍याउने गर्दछ। दाउराबाट निस्किने धुँवाको असर र खराबीबारे जानकारी पाउने सूचना तथा शिक्षाको पहुँचका कारण पनि ग्रामीण क्षेत्रका कुनाकन्दरासम्म स्थानीय उपभोक्ताले एलपी ग्यासको प्रयोग बढाउँदै लगेका पाइएको छ। एलपी ग्यासको प्रयोग गर्नु स्वास्थ्यका दृष्टिले फाइदा रहेको र समयसमेत बचत हुने उपभोक्ताको भनाइ छ।

यस्तै सहरी क्षेत्रमा दाउरा बाल्ने ठाउँ र संरचना नहुने साथै पर्याप्त दाउरा पनि उपलब्ध नहुने हुँदा भान्साघर तथा कोठामा प्रयोग गरिने एलपी ग्यासको विकल्प हुन्न। सहर बजारमा मटितेलको प्रयोगबाट बालिने स्टोभ चुल्हो हुँदै एलपी ग्यासको प्रयोग गर्न थालिएको हो। एलपी ग्याससँगै पछिल्लो समय सहरी क्षेत्रमा विद्युतीय चुल्होको प्रयोग पनि हुन थालेको छ। यद्यपि, ताप्लेजुङका बजार क्षेत्रमा घरका चुल्हो र भान्सा कोठामा एलपी ग्यास नै अधिक रुपमा प्रयोग हुने गरेको छ। त्यस्तै बजार क्षेत्रका होटल तथा रेष्टुरेन्टमा पनि एलपी ग्यास नै प्रयोग गर्ने गरिन्छ।

यसरी ताप्लेजुङका सहर बजार हुँदै ग्रामीण क्षेत्रका बस्तीसम्म एलपी ग्यासको प्रयोग बढिरहेका बेला उपभोक्ता भने खाना पकाउने एलपी ग्यासको तौल र गुणस्तरबारे बेखबर रहेका छन्। बजारका एलपी ग्यास बिक्री केन्द्र (डिलर) र पसलबाट ग्यास सिलिन्डर खरिद गरेर उपभोक्ताले प्रयोग गर्ने गर्दछन्। उपभोक्ता आफैँले खरिद गरी प्रयोग गरेको एलपी ग्यासको हुनुपर्ने तौल (वजन) र गुणस्तर ठीक भए नभएको स्वयं उपभोक्तालाई थाहा हुँदैन।

पसलमा खरिद गरेको ग्यास कति किलोग्राम र ग्यासको गुणस्तर कस्तो छ भनेर उपभोक्ताले सोधीखोजी पनि गर्ने गर्दैनन्। यस्तै उपभोक्तामा ग्यासको तौल तथा गुणस्तरका विषयमा चासो र ध्यान दिनुपर्छ भन्ने ज्ञान पनि रहेको पाइँदैन। आफूलाई चाहिएको समयमा ग्यास सिलिन्डर खरिद गर्न र घर तथा चुल्होमा लगेर उपभोग गर्न पाए हुन्छ भन्ने मात्र उपभोक्तामा बुझाई रहेको पाइन्छ।

ग्यास खरिद गर्न र भान्सा कोठामा लगेर प्रयोग गर्न पाए हुन्छ अर्थात ग्यासको तौल र गुणस्तरबारे जानकारी राख्नुपर्छ भन्ने ज्ञान नभएका साथै यसतर्फ वास्ता नगर्ने प्रायः अधिकांस उपभोक्ता रहे पनि केहीले भने चासो राख्ने गरेका छन्। चासो भए पनि ग्यास खरिद गर्दा हालसम्म ग्यास सिलिन्डरको तौल मापन भने नगरेको उनीहरुको भनाइ छ। खाना पकाउन प्रयोग गरिने ग्यास सिलिन्डरको तौल (वजन) ग्यास १४.२ किलोग्राम र सिलिन्डर (ट्याङ्की) १५.३ किलोग्राम हुनुपर्दछ।

उक्त तौल परिमाण हुनुपर्ने भए पनि बजारमा पाइने कतिपय ग्यास सिलिन्डरमा ग्यास कम र सिलिन्डरको वजन बढी हुने तथा फोहोरजन्य वस्तु लेदो भएको र पानी मिसाएको गुणस्तरहीन ग्यास सिलिन्डर रहेको उपभोक्ताले आशंका गरेका छन्। कुनै बेला भान्सा कोठामा प्रयोग गर्ने गरेको ग्यास सिलिन्डरमा पानी र लेदो भेटिने गरेकाले यहाँका बजार पसलमा बिक्री हुने ग्यास सिलिन्डर शतप्रतिशत गुणस्तरीय तथा मापदण्डको नभई समस्या हुनसक्ने उपभोक्ताको भनाइ छ। उपभोक्ताले प्रयोग गरेको ग्यास सिलिन्डरमा कुनै समय पानी र फोहोरजन्य लेदो भेटिने गरे पनि बिक्रेतासँग कुनै प्रतिक्रिया नजनाएको बताउँछन्।

ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष विकास गौतमले ग्यास सिलिन्डरमा समस्या हुनसक्ने बताउनुभयो। सदरमुकाम फुङ्लिङ बजारका व्यवसायीसमेत रहनुभएका उद्योग वाणिज्य सङ्घका अध्यक्ष गौतमले १४.२ किलोग्राम ग्यास हुनुपर्नेमा सोभन्दा कम हुनसक्ने बताउनुभयो। आफू पनि मेची कम्पनीको ग्यासको व्यापारी भएकाले अहिलेसम्म उपभोक्ताको कुनै गुनासो नआएको र कम वजन, लेदो र पानी मिसावट भएको पाइएमा यहाँबाट नभई त्यस्तो समस्या कम्पनीबाटै हुने उहाँको भनाइ छ।

कुनै समय कोशी कम्पनीको ग्यासको व्यापार गर्दा लेदो भएको र पानी मिसावट भएको भेटिएको गौतमले बताउनुभयो। अहिले कोशी ग्यास बिक्री गर्न छोडेको र मेची ग्यास मात्र बिक्री गर्दै आएको पनि उहाँले बताउनुभयो। आफूले व्यापार गर्दै आएको मेची ग्यासमा त्यस्तो कुनै समस्या देखिएको भनेर उपभोक्ताले जानकारी दिएमा ग्यास खरिद गरेको शुल्क फिर्ता गर्ने वा ग्यास सिलिन्डर साटिदिने उहाँले बताउनुभयो।

त्यस्तै अन्य पसलहरुमा पनि ग्यासमा कुनै समस्या देखिएमा जानकारी दिन उपभोक्तालाई अनुरोध गर्दै उद्योग बाणिज्य सङ्घको नेतृत्वको हैसियतले समाधानका लागि आफूले सहजीकरण गर्ने बताउनुभयो। उहाँले सिल नतोडिएको ग्यास सिलिन्डर मात्र खरिद गर्न र वजन कम भएको शङ्का लागेमा तौल नापेर मात्र लैजान उपभोक्तालाई आग्रह गर्नुभएको छ। ग्यासको वजन कम हुने र गणस्तरबारे उपभोक्तालाई मात्र नभई स्थानीय व्यापारीलाई पनि थाहा नहुने उहाँको भनाइ छ।

यता फुङ्लिङ बजारमा पाइने ग्यास सिलिन्डरको गुणस्तर र मापदण्डसहितको अवस्थाबारे नियमक निकायले पनि चासो नदेखाएको पाइएको छ। संयुक्त जिल्ला बजार अनुगमन कार्यदलका संयोजक एवम् सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काले ताप्लेजुङमा ग्यासको व्यापार अवस्थाबारे अनुगमन तथा निरीक्षण नभएको बताउनुभयो। सहायक प्रजिअ भएर आएपछि र विगत पछिल्लो पाँच वर्षयता एलपी ग्यास सिलिन्डरबारे कुनै अनुगमन नभएको खड्काले बताउनुभयो। सोभन्दा अघि अगनुमन भए÷नभएकोबारे जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क हेर्नैपर्ने उहाँको भनाइ छ।

सहायक प्रजिअ खड्काले ग्यासको बजार अवस्थाबारे निरीक्षण तथा अनुगमन गर्न प्राविधिकको संलग्नता हुनुपर्ने भएकाले कुनै समस्या रहेको जानकारी भएमा नेपाल गुणस्तर तथा नापतौल विभागबाट प्राविधिक झिकाएर अनुगमन गर्न सकिने बताउनुभयो। यस्तै फुङ्लिङ नगरपालिकाकी उपप्रमुख एवम् स्थानीय तह बजार अनुगमन समिति संयोजक भीमादेवी ओझाले पनि ग्यास बजारलाई नै लक्षित गरी अनुगमन नगरिएको बताउनुभयो। बजार अनुगमनका क्रममा ग्यासको मूल्यका विषयमा भने बुझ्ने गरेका ओझाले बताउनुभयो।

ढुवानी र सिलिन्डर ट्याङ्कीको मूल्य नै फरक पर्ने भएकाले बजारमा पाइने ग्यासको मूल्य भने तलमाथि हुनसक्ने उहाँले बताउनुभयो। नगर उपप्रमुख ओझाले ग्यास सिलिन्डरमा कुनै समस्या रहेको भए आफूलाई जानकारी गराउने पनि उपभोक्तालाई आग्रह गर्नुभएको छ। उपभोक्ता हित संरक्षण मञ्चका जिल्ला संयोजक भरतकुमार गुरुङले एलपी ग्यासको अहिलेसम्म अनुगमन तथा निरीक्षण नभएको बताउनुभयो। व्यापारमा समस्या आउँदा संयुक्त बजार अनुगमन समितिमा निर्णय गरेरै बजार अनुगमन गर्ने गरिएको गुरुङले बताउनुभयो।

ग्यास सिलिन्डरको तौल (वजन) र गुणस्तरबारे बेखबर रहेका उपभोक्ताले फुङ्लिङ बजारमा फरक–फरक मूल्यमा ग्यास बिक्री गर्ने गरिएको गुनासो गरेका छन्। उपभोक्ताका अनुसार ग्यास प्रतिसिलिन्डर दुई हजार २०० रुपियाँ, दुई हजार २३५ र दुई हजार २५० रुपियाँ सम्ममा व्यापारीले बिक्री गर्ने गरिएको छ। ताप्लेजुङमा मेची, पाथीभरा र कानकाई ग्यास बिक्री गर्ने गरिएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष गौतमले बताउनुभयो। उहाँका अनुसार पाथीभरा ग्यासको ट्याङ्की केही सस्तो भएकाले सोही अनुसार मेची र कनकाई कम्पनीको ग्यासभन्दा सस्तोमा बिक्री हुने गरेको छ। उपभोक्ताले भने एउटै कम्पनीको ग्यास पनि फरक–फरक मूल्यमा बिक्री गर्ने गरिएको गुनासो गरेका छन्।