08/01/2025, 03:22:39

वैदेशिक रोजगारीमा दक्ष कामदार भएर जानेको सङ्ख्या घटे


१५ साउन, काठमाडौं : वैदेशिक रोजगारीमा दक्ष भएर जानेको सङ्ख्या घटेको छ । पछिल्ला चार वर्षको तथ्याङ्कका आधारमा त्यस्ता श्रमिकको सङ्ख्या सुरुको तुलनामा भने बढेको देखिन्छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा गत आवमा २०८१/८२ मा दक्ष भएर जानेको सङ्ख्या भने ११ प्रतिशतले घटेको हो ।

वैदेशिक रोजगार विभागका अनुसार आव २०७८/७९ मा ४६ प्रतिशत दक्ष श्रमिक वैदेशिक रोजगारीमा गएकामा आव २०८०/८१ मा बढेर ७२ प्रतिशत पुगेको थियो । आव २०८१/८२ मा भने वैदेशिक रोजगारीमा गएकामध्ये ६१ प्रतिशत मात्रै श्रमिक दक्ष छन् ।

विभागका अनुसार आव २०७८/७९ मा वैदेशिक रोजगारमा जाने छ लाख ३० हजार ६८ जनामध्ये दुई लाख ९१ हजार ८८९ जना (४६ प्रतिशत) दक्ष भएर विदेश गएका थिए भने आव २०७९/८० मा सात लाख ७१ हजार २५३ जना विदेश गएकोमा पाँच लाख छ हजार ७४६ जना (६६ प्रतिशत) दक्ष भएर विदेश गए । यस्तै आवमा २०८०/८१ मा सात लाख ४१ हजार २९७ जना वैदेशिक रोजगारीमा गएकामा पाँच लाख ३२ हजार १२३ जना (७२ प्रतिशत) दक्ष भएर गए । गत आवमा आठ लाख ३९ हजार २६६ जना वैदेशिक रोजगारीमा गएकोमा पाँच लाख १२ हजार १३५ (६१ प्रतिशत) दक्ष भएर गए । पछिल्ला दुई वर्षको तथ्याङ्क हेर्दा पनि दक्ष भएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या ११ प्रतिशतले घटेको देखिन्छ । विगत चार वर्षको हेर्दा गत वर्षसम्म दक्ष भएर विदेश जानेको सङ्ख्या २५ प्रतिशतले बढेको थियो । आव २०७९/८० मा दक्ष भएर जाने ४६ प्रतिशत र २०८१÷८२ सम्म ६१ प्रतिशत दक्ष भएर गएको देखिन्छ ।

वैदेशिक रोजागर विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले यो वर्ष पुनः श्रम स्वीकृति लिएर जानेभन्दा नयाँ श्रम स्वीकृति लिएर जाने बढेकाले गत आवको तुलनामा गएको आवमा दक्ष भएर जाने घटेको देखिएको बताउनुभयो । वैदेशिक रोजगारका अनुसन्धानकर्ता रामेश्वर नेपालले पछिल्लो समयमा दक्ष भएर वैदेशिक रोजगारीमा जाने सङ्ख्या बढ्नुलाई राम्रो उपलब्धिका रूपमा लिन सकिने बताउनुभयो । यो सङ्ख्या भारत, फिलिपिन्स, बङ्गलादेशलगायतका अन्य मुलुकका तुलनामा कम भए पनि नेपालका सन्दर्भमा भने सुधारिएको उहाँको भनाइ छ ।

रोजगारमूलक सिप विकास तालिम सञ्चालन कार्यविधि, २०७५ लागु भएपछि नेपालबाट वैदैशिक रोजगारीमा जाने सबै युवा सिपयुक्त प्रमाणपत्रको आधारमा जानुपर्ने थियो । वैदेशिक रोजगार ऐनमा वैदशिक रोजगारीमा जाँदा अनिवार्य तालिम लिनुपर्ने व्यवस्था गरिएको भए पनि यसको पूर्ण कार्यान्वयनमा जान अहिलेसम्म नसकेको र पछिल्ला वर्षमा सुधार हुनुलाई सकारात्मक रूपमा लिन सकिने नेपालले बताउनुभयो ।

वैदेशिक रोजगार बोर्डले रोजगारीका लागि विदेश जाने युवाले अनिवार्य सिप विकास तालिम लिनुपर्ने भन्दै यसका लागि प्राविधिक र भौतिक पूर्वाधार विकास गरेको छ । विगतमा तालिम नै नलिई नक्कली प्रमाणपत्र लिएर विदेश जाने प्रवृत्ति देखिएपछि दुई वर्षअघि अनलाइन प्रणालीमार्फत तालिमको ट्र्याकिङ समेत गर्ने गरी बाध्यात्मक बनाउने निर्णय भएको थियो ।