११ साउन, काठमाडौं : वैदेशिक रोजगारीका नाममा हुने ठगी बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा १२ हजार ७९० उजुरी दर्ता भएका छन् । गत आव २०८०/८१ मा सात हजार ७६३ वटा उजुरी दर्ता भएका थिए । जुन सङ्ख्या गत आवको तुलनामा पाँच हजार २७ वटा अर्थात् करिब ४० प्रतिशतले बढी हो ।
वैदेशिक रोजगारीमा जाने अधिकांश युवा घरगाउँकै दाजुभाइ, दिदीबहिनी, आफन्त र सहरका वैदेशिक रोजगार व्यवसायी कम्पनी, ट्राभल एजेन्सी, एजुकेसन कन्सल्टेन्सी लगायतबाट ठगिने गरेका छन् । यसरी ठगीमा पर्ने सबैको तथ्याङ्क भने भेटिँदैन ।
विभागका अनुसार यस अवधिमा सबैभन्दा बढी उजुरी मुद्दा र अनुसन्धान शाखामा पाँच हजार ६३२ वटा उजुरी दर्ता भएका छन् । यस अवधिमा दर्ता भएका उजुरीमध्ये ५२८ वटाको मिलापत्र र २६७ वटा अदालतमा मुद्दा दायर भएको विभागले जनाएको छ । सो अवधिमा मिलापत्र गराउँदा पीडकबाट पीडितलाई क्षतिपूर्तिबापत ३२ करोड आठ लाख ७३ हजार ४६५ रुपियाँ भराइएको विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार यस शाखामा सो अवधिमा परेका उजुरीमध्ये चार हजार ९३७ वटा उजुरी छानबिन गर्ने काम भइरहेको छ ।
विभागका अनुसार सो अवधिमा विभागमा रहेको प्रहरी शाखामा पाँच हजार ३३७ वटा उजुरी दर्ता भएका छन् । जसमध्ये चार हजार ८७६ वटा उजुरी फस्र्योट भए भने १२ वटा उजुरीमा मिलापत्र गराइएको छ । जसबाट १२ लाख चार हजार पाँच सय रुपियाँ बराबरको रकम क्षतिपूर्तिबापत भराएको विभागले जनाएको छ । सो अवधिमा प्रहरीमा दर्ता भएका उजुरीमध्ये ४४९ वटा उजुरी फस्र्योट हुन बाँकी रहेको जनाइएको छ ।
त्यसै गरी सो अवधिमा विभागमा उद्धार राहत तथा समन्वय शाखामा एक हजार ८२२ वटा उजुरी परेकोमा ९७९ वटा उजुरीको फस्र्योट गरिएको छ । जसमा ५९० वटा उजुरीबाट सात करोड २० लाख आठ हजार ३५० रुपियाँ बराबरको रकम क्षतिपूर्ति भराएको छ । सो शाखाले सो अवधिमा आएका उजुरीमध्ये १२३ जनालाई आपसी सहमति गराएको छ भने ३३ वटा उजुरी तामेलीमा राखेको छ । सो शाखाले वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका १६९ जनालाई विभिन्न देशबाट उद्धार गरेर स्वदेश ल्याउन सफल भएको छ ।
विभागका महानिर्देशक भट्टराईले वैदेशिक रोजगारीका क्रममा परेका उजुरीमध्ये ठुलो सङ्ख्याका व्यक्तिगत भएकाले ती उजुरी टुङ्गो लगाउन समय लाग्ने बताउनुभयो । संस्थागत उजुरीको हकमा कारबाही गर्न पनि सहज हुने तर व्यक्तिगत उजुरीका दोषी पत्ता लगाउनै नै समय लाग्ने उहाँको भनाइ छ । विभागमा मध्यपूर्वका देश खाडी र मलेसिया जाने श्रमिकभन्दा अमेरिका, क्यानडा, पोर्चुगल, पोल्यान्ड जस्ता देश पठाइदिन्छु भन्दै लाखौँ रुपियाँ ठगी भएको उजुरी गर्न विभाग आउनेको सङ्ख्या पनि ठुलो छ । यस्तो उजुरीमा विभागले प्रमाण भएको अवस्थामा मात्रै कारबाही र क्षतिपूर्ति दिलाउने गरेकोे छ ।
विभागका अनुसार आव २०८०/८१ मा सात हजार ७६३ वटा उजुरी दर्ता भएका थिए । त्यसअघि आव २०७९/८० मा वैदेशिक रोजगारीका क्रममा ठगी भएका उजुरीको सङ्ख्या तीन हजार ३५६ उजुरी दर्ता भएका थिए । तीन आवको तथ्याङ्क विश्लेषण गर्दा पछिल्लो आव २०८१/८२ मा १२ हजार ७९० उजुरी दर्ता भएका छन् । यो हेर्दा उजुरी गर्ने दर बढेको स्पष्ट हुन्छ ।
त्यसो त विभागका अनुसार आव २०८०/८१ मा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या सात लाख ४१ हजार रहेको छ । अघिल्लो आव २०७९/८० मा श्रम स्वीकृति लिएर बिदेसिनेको सङ्ख्या सात लाख ७१ हजार थियो ।
महानिर्देशक भट्टराईले विदेश जानेबेलामा सरकारले तोकेभन्दा बढी रकम तिर्ने र विदेशमा पुगेर समस्यामा परेपछि मैले यति रकम तिरेको भन्दै विभागमा उजुरी गर्न आउने युवाको सङ्ख्या धेरै भएको जानकारी गराउनुभयो । व्यक्तिगत रूपमा हुने ठगी युरोप, अमेरिका, अस्ट्रिेलियालगायतका देशमा पठाउने भन्दै पढेलेखेकै व्यक्ति पीडित हुने गरेको र रकम पनि ठुलो परिमाणको हुने गरेको उहाँको भनाइ छ ।
२६७ वटा मुद्दा दायर
विभागका अनुसार आव २०८१/८२ मा २६७ मुद्दा अदालतमा दायर भएका छन् । जसमा अधिकांश व्यक्तिगत ठगीविरुद्धका रहेका छन् । अदालतमा दायर भएका मुद्दाको बिगो रकम माग एक अर्ब रुपियाँ हाराहारी भएको विभागले जनाएको छ ।