09/10/2025, 21:34:24
बुधबार, भदौ २५, २०८२

‘मंगोलियन हार्ट’ को न्यूजिल्याण्ड सांगीतिक टूर, ३ सहरमा प्रस्तुति दिने


११ साउन, काठमाडौं : लोकप्रिय लोकपप ब्याण्ड ‘मंगोलियन हार्ट’ न्यूजिल्याण्डको सांगीतिक भ्रमणमा निस्किने भएको छ । सन् २०२५ को टूरअन्तर्गत ब्याण्डले न्यूजिल्याण्डका तीन मुख्य सहर क्राइस्टचर्च, अकल्याण्ड र टाउरङ्गामा प्रस्तुति दिने भएको हो ।

यात्रालाई भव्य तुल्याउन प्रयास भैरहेको ब्याण्ड व्यवस्थापक तथा गिटारिस्ट बबी लामाले बताए । ‘हामी नयाँ र पुराना दुवै गीत प्रस्तुत गरेर दर्शकलाई पूर्ण मनोरञ्जन दिने तयारीमा छौं’ उनले भने, ‘दर्शकको मायाले नै आज हामीलाई अन्तर्राष्ट्रिय मञ्चसम्म ल्याएको हो,’ लामाले भने ।

ब्याण्डको ८ सदस्यीय टोली मंगलबार त्यसतर्फ प्रस्थान गर्दैछ । टूरको आयोजना स्थानीय इभेन्ट कम्पनी सम्बन्ध इभेन्ट्सले गरेको हो ।

नेपाली संगीतप्रेमीका लागि यो टूर अविस्मरणीय अवसर बन्ने आयोजकको विश्वास छ । ब्याण्ड अगस्ट १५ मा स्वदेश फर्किनेछ । त्यसपछि अगस्ट २० मा उत्तरपूर्वी भारतको मिजोरममा प्रस्तुति दिन जाँदैछ ।

राजु लामा प्रमुख गायक रहेको ब्यान्डमा बबी रिदम गिटारमा, भूपेन्द्र बज्राचार्य लिड गिटार, सन्तोष थापा ड्रम, विनय महर्जन बाँसुरी, बाबुराजा महर्जन परकसन (मादल), पवन कपाली बास गिटार र निरेन्द्र रञ्जित साउन्ड इन्जिनियर छन् ।

बादलपारिको देशबाट, मेरो नेपाल, सुम्निमा, म माया लाउँदिन, हल्ला चलेछ, तिमीलाई देखेर, पर्खाइमा, सायद तिम्रो बाटोमा, उँभो उँभो खासा, सैलुङ्गे मेला ‘मंगोलियन हार्ट’का चर्चित गीत हुन् ।