काठमाडौँ ६ साउन : नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको राजनीति बिपी कोइरालाले अपनाएको राष्ट्रिय नीतिको जगमा उभिएको बताउनुभएको छ ।
कोइरालाको ४३ औँ स्मृति दिवसका अवसरमा आज यहाँ बिपी स्मृति अस्पताल, बिपी स्मृति प्रतिष्ठान र कांग्रेसको खेलकुद विभागले संयुक्त रुपमा आयोजना गरेको ‘देश विकास र देशवासीको उन्नतिको आधार बिपी’ विषयक अन्तक्र्रियामा उहाँले बिपीको मेलमिलाप नीति आजपनि सान्दर्भिक भएको बताउनुभयो ।
सभापति देउवाले जीवनभर देश र जनताका लागि सर्वस्व दिएर अविचलित रुपमा लोकतन्त्रको पक्षमा बिपी कोइराला उभिएको स्मरण गर्नुभयो । “वास्तवमा बलियो कांग्रेस र राष्ट्रिय शक्तिहरुबीचको मेलमिलापले मात्र देश स्वाधीन र समृद्ध हुन्छ भन्ने बिपीको सन्देश आजपनि उत्तिकै सान्दर्भिक छ,” सभापति देउवाले भन्नुभयो ।
राजनीतिक स्वार्थभन्दा राष्ट्रिय एकता, मुलुकको समृद्धि, सामाजिक सद्भाव ठूलो हो भन्नेमा बिपीको दृढ मत भएको उहाँको भनाई छ । उहाँले बिपी कोइराला राजनीतिमा मात्र नभई साहित्यको क्षेत्रमा पनि चम्किलो नक्षत्र भएको उल्लेख गर्नुभयो । प्रजातान्त्रिक समाजवादका चिन्तक एवं प्रयोक्ता कोइरालाले स्वतन्त्र चिन्तन, परम्परा र शैली दिएर साहित्यका माध्यमबाट नेपाली वाङ्मयलाई शिखरमा पु¥याउनुभएको सभापति देउवाले बताउनुभयो ।
बिपी कोइरालाको राजनीतिक र साहित्यिक चिन्तन कांग्रेसका लागि मात्र नभई आधुनिक नेपाल निर्माणका लागि समेत मार्गदर्शन भएको उहाँको भनाइ छ । उहाँले बिपी कोइराला सँधै आर्थिक समानतासहितको लोकतान्त्रिक व्यवस्था मुलुकको अपरिहार्यता हो भन्नेमा अडिग नेता भएको बताउनुभयो ।
देउवाले भारत निर्वासनमा रहेर तत्कालिन निरकुंश पञ्चायती व्यवस्थाविरुद्ध संघर्ष गरिरहेको बेला राष्ट्रियता कमजोर भएको विश्लेषण गरेर आठवटा ज्यान मुद्दा हुँदाहुँदै बिपी नेपाल फर्किनुभएको स्मरण गर्नुभयो । बिपी कोइरालाको त्याग र योगदानबाट स्थापित मूल्य र मान्यताले नै नेपाली कांग्रेस आजको स्थितिमा आएको उहाँको भनाइ छ ।