07/16/2025, 20:37:55

पहिरोले कागबेनी-कोरला सडक अवरुद्ध


मुस्ताङ, ३२ असारः उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको जोमसोम–कोरला सडकअन्तर्गत कागबेनी-कोरला सडक पहिरोका कारण अवरुद्ध बनेको छ ।

गए रातिको वर्षासँगै कोरला राजमार्गको मानेभिरमा सडकमाथिबाट चट्टानसहितको पहिरो खसेपछि कोरला सडक आज बिहानैदेखि अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

कागबेनीस्थित कागखोलाबाट करिब २०० मिटर उत्तरतर्फ कोरला सडकको मानेभिरमा सडकमाथिबाट चट्टानसहितको पहिरो खसेपछि सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिनुभयो । केहीबेर अघिदेखि सडक अवरुद्ध सडक खुलाउन डोजरसहित आवश्यक जनशक्ति त्यसतर्फ पठाइएको उहाँले बताउनुभयो ।

मुस्ताङमा कागबेनी–कोरला सडक अवरुद्ध बनेपछि उपल्लो मुस्ताङ आवतजावत गर्ने सवारीसाधन रोकिएका छन् । लामाले माथिबाट ठूलाठूला चट्टान खसेकाले सडक खुलाउन केही समय लाग्नसक्ने जानकारी दिनुभयो । उहाँले तत्कालका लागि मोटरसाइकल र हलुका सवारीसाधन आवतजावत गर्न मिल्नेगरी पहिरो पन्छ्याउने काम भएको बताउनुभयो ।

मुस्ताङमा गए रातिको वर्षासँगै कालीगण्डकी नदीको बाहव उच्च भएको छ । यहाँ तटीय क्षेत्रका बस्तीलाई सर्तक रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..