घोडाघोडी (कैलाली), ३० असारः विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी तालमा हरिहाँसको सङ्ख्या घटेको छ ।
यस पटक गर्मीयामको गणनामा हरिहाँसको सङ्ख्या १२६ रहेको नेपाल पक्षी संरक्षण सङ्घका फिल्ड अधिकृत हिरुलाल डगौराले जानकारी दिनुभयो । अघिल्लो वर्षको तुलनामा यस वर्ष हरिहाँसको सङ्ख्या घटेको डगौराले बताउनुभयो । अघिल्लो वर्ष हरिहाँसको सङ्ख्या २२५ रहेको थियो ।
डिभिजन वन कार्यालय पहलमानपुरको समन्वयमा नेपाल पक्षी संरक्षण सङ्घ (बिसिएन)ले यही असार २४ देखि २६ गतेसम्म घोडाघोडीमा हरिहाँस गणना गरेको थियो । घोडाघोडीको सूचक प्रजाति रहेको हरिहाँसको सङ्ख्या र अवस्था अद्यावधिक गर्ने उद्देश्यले गणना गरिएको डिभिजन वन कार्यालय पहलमानपुरका डिभिजनल वन अधिकृत रामचन्द्र कँडेलले जानकारी दिनुभयो ।
यो तालमा गर्मी र जाडो गरी वर्षमा दुईपटक हरिहाँसको गणना गरिन्छ । नेपालको पहिलो चरा अभय आरण्य क्षेत्र घोडाघोडीमा गर्मीयाममा तीन दिनसम्म हरिहाँसको गणना गरिएको हो । डगौराले यो बेला हरिहाँसको ‘ब्रिडिङ सिजन’ रहेकाले जाडोयामको भन्दा कम देखिने गरेको बताउनुभयो । गर्मीयाममा घोडाघोडीका हरिहाँस ब्रिडिङका लागि विभिन्न सिमसार क्षेत्रमा पुग्ने गरेका छन् ।
“कैलालीको भजनी नगरपालिका–९ स्थित लौकाहाभौकाहा, घोरताल, सोनिया रुपियाँमा हरिहाँसले ब्रिडिङ गरेको पाइएको छ । जसका कारण गर्मीयाममा हरिहाँसको सङ्ख्या घट्ने गरेको छ,” फिल्ड अधिकृत डगौराले भन्नुभयो । उहाँका अनुसार जाडोयाममा भने सीमित क्षेत्रमा मात्र पानी रहने गरेका कारण बढी मात्रामा हरिहाँस देखिने गर्दछन् । प्राकृतिक बासस्थानको विनाश, मानवीय विभिन्न गतिविधि, कृषिमा विषादी प्रयोग हरिहाँसका लागि चुनौती रहेको छ ।
घोडाघोडी ताल तराईकै ठूलो सिमसार क्षेत्रका रूपमा रहेको छ । सन् २००३ मा घोडाघोडीलाई विश्व रामसार क्षेत्रमा सूचीकृत गरिएको हो । त्यति बेला हरिहाँसको सङ्ख्या एक हजार थियो । घोडाघोडी संरक्षणका लागि विभिन्न निकायले काम गर्दै आएका छन् । चराको उचित बासस्थान रहेकाले पनि यस क्षेत्रलाई २०७८ फागुन २७ फागुन गते नेपालकै पहिलो चरा अभय आरण्य क्षेत्र घोषणा गरिएको थियो । तर, पछिल्लो समय यहाँ चराहरुको सङ्ख्या घट्दै गएको चरा संरक्षण नेटवर्क कैलालीका अध्यक्ष दयाराम चौधरीले जानकारी दिनुभयो । सन् २००९ देखि घोडाघोडी तालमा चरा संरक्षण नेटवर्कले हरेक वर्ष चरा गणना गर्ने गर्छ ।
घोडाघोडीमा चराको बासस्थान मासिँदै गएपछि सङ्ख्यामा कमी आउन थालेको उहाँले बताउनुभयो । घोडाघोडीको सूचक प्रजाति हरिहाँस रहेको बताउँदै अध्यक्ष चौधरीले भन्नुभयो, “पानीमा रमाउने हरिहाँसले सुकेका रूखमा गुँड लगाउने हुँदा सुकेका रूख नासिँदै गएपछि हरिहाँसको बासस्थानमा समस्या हुने गरेको छ ।”
गर्मीयामको हरिहाँस गणनामा सन् २०२३ मा २१२, २०२४ मा २२५ र यस पटक १२६ पुगेको छ । घोडाघोडी क्षेत्रको सूचक प्रजातिका रूपमा मगर गोही, हरिहाँस र जङ्गली धान हुन् ।