कञ्चनपुर, २८ असारः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ लठ्ठागौरीस्थित वनहरा नदी तटीय क्षेत्रका बासिन्दा वर्षेनी आउने बाढीको त्रासले वर्षात् सुरू हुनासाथ वन क्षेत्रमा त्रिपाल टाँगेर बस्न बाध्य छन् ।
टेकबहादुर सलामी थापा मगर विगत सात वर्षदेखि वर्षात सुरू भएलगत्तै नजिकैको सामुदायिक वनमा त्रिपाल टाँगेर परिवारसहित बस्दै आउनुभएको छ । बाढीले घर डुबाउने भएकाले उहाँले खाद्यान्न, ओढ्ने–ओछ्याउने सामान, बालबालिका र चौपाया लिएर समयमै सुरक्षित स्थानतर्फ सर्नुहुन्छ ।
उहाँको प्रारम्भिक थातथलो डोटीको जोरायलमा पहिरोले बगाएपछि उहाँ कञ्चनपुर आइपुग्नुभएको हो । “घर पहिरोले लगेपछि हामी पूर्ण रूपमा घरवारविहीन भयौँ,” उहाँले सम्झनुभयो, “जहाँ मजदुरी पाइन्थ्यो, त्यहीँ बस्थ्यौँ, त्यसै क्रममा यहाँ आइपुग्यौँ र बस्न थाल्यौँ ।”
उहाँले नदी किनारमै जग्गा किनेकाले बाढीले पिछा गर्न भने छाडेको छैन । “थोरै जमिन किन्यौँ, तर यहाँ पनि नदीले वर्षेनी सताउँछ,” उहाँले भन्नुभयो, “त्यसैले वर्षात् सुरू भएलगत्तै वन क्षेत्रमा सर्नुपर्छ ।”
परिवार पाल्न उहाँ र उहाँकी श्रीमती मजदुरीमा निर्भर छन् । दैनिक मजदुरीबाट घरखर्च जेनतेन चलेको उहाँको भनाइ छ । टेकबहादुर मात्र होइन, सोही बस्तीका थप छ परिवार पनि यस्तै अवस्थामा छन् । सबैले वर्षात् सुरू हुनुअगावै वन क्षेत्रमा सरेर अस्थायी त्रिपालमा बस्न थाल्छन् ।
डडेल्धुराको आलितालबाट विस्थापित भएर आएका सितादेवी बोहरा पनि वनहरा नदी किनारमा बस्दै आउनुभएको छ । पहाडको घरजग्गा पहिरोले बगाएपछि उहाँको परिवार यहाँ बस्न बाध्य भएको हो ।
“यहाँ बस्न थालेपछि पनि बाढीले हैरान बनायो,” उहाँले भन्नुभयो, “तीन वर्षअघि त बाढीले घरभित्रको खाद्यान्नदेखि बाख्रा, गोरुसम्म बगाएर लग्यो ।” अहिले पनि आकाशमा कालो बादल देखिनेबित्तिकै उहाँहरू डराउन थाल्छन् । “नदीमा बाढी आउने चिन्ताले घर छाडेर वनतिर लाग्नुपर्छ,“ उहाँले भन्नुभयो ।
स्थानीय राजुराम लुहार पनि घर छाडेर वनतिर जाने तयारी अवस्थामा हुनुहुन्छ । “चुरे क्षेत्रमा पानी प¥यो भने नदीको बाढी घर सम्मै आउँछ,” उहाँले भन्नुभयो, “घरमै बस्ने जोखिम लिन सकिँदैन ।”
बाढी नआएको बेला उनीहरू घरमा फर्केर दैनिक काम गर्छन । बोटविरुवा स्याहार्ने, घर लिपपोत गर्ने तर रात बस्न भने वनमै जान्छन । विगत वर्ष वडा कार्यालयले त्रिपाल वितरण गरेको थियो । ती त्रिपाल च्यातिएपछि यस वर्ष वडा कार्यालयले सात परिवारका लागि फलामका पाइप र बलियो प्लास्टिकको छानोयुक्त अस्थायी आवास निर्माण गरिदिएको वडाध्यक्ष नवलसिंह रानाले जानकारी दिनुभयो ।
“ती परिवार असुरक्षित रूपमा वनमा बस्न बाध्य थिए” उहाँले भन्नुभयो, “अब भने केही हदसम्म सुरक्षित र व्यवस्थित रूपमा बस्न सक्ने व्यवस्था मिलाइएको छ, जति वर्षा भएपछि ढुक्कसँग बस्न सक्छन् ।”