ललितपुर, १८ असार : ललितपुर महानगरले महानगरबासीको स्वास्थ्य बीमाको ४० प्रतिशत प्रिमियम तिर्ने भएको छ। महानगरपालिका र राष्ट्रिय बीमा बोर्डबीच बुधबार प्रिमियम तिर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ।
हस्ताक्षर पत्रमा महानगर प्रमुख चिरीबाबु महर्जन र बीमा बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले संयुक्त रुपमा हस्ताक्षर गरे । यसैगरी नगर प्रहरी, महानगरका सरसफाईकर्मी, सवारीचालक र महानगरमा बसोबास गर्ने एकल महिला र टोल स्वास्थ्य उत्प्रेरक (टिएचपी)को भने सय प्रतिशत नै प्रिमियम महानगरले तिर्ने भएको छ। महानगरले पाटन अस्पतालसँगको प्राविधिक सहयोगमा स्वास्थ्य बीमा कार्यक्रम दुई वर्ष अघिबाट शुरु गरेको हो ।
यल स्वास्थ्य केन्द्रमार्फत बिमा कार्यक्रमको प्रथम सेवा केन्द्रबाट प्राप्त हुने स्वास्थ्य सेवा लिइरहेका छन् । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले पाटन अस्पतालसँग सहकार्य गरेर महानगरको स्वास्थ्य क्षेत्रमा नयाँ र नौलो काम गरेको बताए । कोभिडपछि महानगरले सहयोगमा पाटन अस्पतालमा अक्सिजन प्लान्ट समेत जडान गरेको नगर प्रमुख बताए ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक रवि शाक्यले स्वास्थ्य बीमा कार्यक्रममा समेटिएका नागरिकको ४० प्रतिशत प्रिमियम तिर्ने निर्णय महत्वपूर्ण निर्णय भएको बताए । ललितपुर महानगर पाटन अस्पतालको अभिभावक भएको बताउँदै पाटन अस्पतालको उतारचढाव र कठिनाईमा सँगै भएको बताए ।
राष्ट्रिय बीमा बोर्डका रघुराज काफ्लेले बीमा कार्यक्रमभित्र समेटिएका नागरिकको ४० प्रतिशत बीमा गरेर महानगर आफ्ना नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएको प्रमाणित भएको बताए । उनले भने, ‘यो अन्य सात सय ५२ स्थानीय तहको लागि अनुकरणीण काम हो ।’