३ असोज, काठमाडौं । चीनले चन्द्रमाको दक्षिणी ध्रुवमा मानव आधार शिविरनिर्माण गर्ने तयारी गरेको छ । उक्त मानवीय आधार सिविरको नाम लूनर बेस वा मून बेस हुनेछ । चीनको अन्तरिक्ष एजेन्सी CNSA (चाइना नेशनल स्पेस एडमिनिस्ट्रेशन) ले यस विषयमा आफ्नो योजना सार्वजनिक गरिसकेको छ । जसअनुसार उक्त मून बेस दुई चरणमा निर्माण हुनेछ। पहिलो २०३० मा र दोस्रो २०३५ मा । चीनको उक्त योजनामा रूसले पनि सहयोग गरिरहेको छ ।
वास्तवमा चीन र रूस मिलेर अन्तर्राष्ट्रिय लूनर अनुसन्धान स्टेशन (ILRS) निर्माण गर्न गइरहेका छन् ,जसअन्तर्गत २०३० देखि २०३५ को बीचमा पाँचवटा सुपर हेभी लिफ्ट रकेटहरू मार्फत निर्माण सामग्रीहरू चन्द्रमामा पठाइनेछ । जसबाट चन्द्रमामा आधारभूत रोबोटिक मून बेस निर्माण हुनेछ । चीनले यो प्रोजेक्टको नेतृत्व गरिरहेको छ । उसले हालै अनहुईमा सम्पन्न इन्टरनेशनल डीप स्पेस एक्सप्लोरेशन सम्मेलनमा आफ्नो योजनाको खुलासा गरेको हो ।
पहिलो चरण : चीनले २०३५ सम्ममा आफ्नो पहिलो चरण पूरा गर्नेछ । यो चन्द्रमाको दक्षिणी ध्रुवको नजिक हुनेछ ।
दोस्रो चरण : तत् पश्चात् यसको विस्तारित आधार शिविर सन् २०५० सम्ममा निर्माण गरिनेछ।
चीनको डीप स्पेस एक्सप्लोरेशन प्रोजेक्टका प्रमुख डिजाइनर वू यानहुआका अनुसार विस्तारित मोडेलमा लूनर स्टेशन नेटवर्क हुनेछ । यसले लूनर अर्बिट स्टेशनको केन्द्रीय हबको रुपमा काम गर्नेछ । साथै यो दक्षिणी ध्रुवमा रहेको प्राइमरी बेससँग सम्पर्कमा हुनेछ । यसका अतिरिक्त, चन्द्रमाको अँध्यारो भागमा नोड बनाइनेछ । नोड भनेको चलायमान संरचना हो, जुन अनुसन्धानका लागि सो क्षेत्रमा पठाइनेछ र आवश्यक परेमा त्यसलाई तत्कालै चन्द्रमाको उज्यालो भागमा ल्याउन सकिनेछ ।
ऊर्जाका लागि सौर्य, रेडियोआइसोटोप र आणविक शक्ति
वूका अनुसार यो लूनर स्टेशन र बेसले सौर्य ऊर्जा, रेडियोआइसोटोप र न्यूक्लियर जेनेरेटरबाट ऊर्जा प्राप्त गर्नेछ । त्यसपछि चन्द्रमामा उच्च गतियुक्त चन्द्र सतह सञ्चार नेटवर्क बनाइनेछ । यसमा हपर, चालक रहित लामो दूरीका गाडीहरू, प्रेशराइज्ड र अनप्रेशराइज्ड मानवयुक्त रोभर पनि हुनेछन् ।