
काठमाडौँ, कात्तिक १७ : कांग्रेसको १५ औं महाधिवेशन निर्वाचनअगाडि गर्ने कि पछाडि भन्ने विषयले असोज २८ देखि सुरु भएको कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक अनिर्णयको बन्दी बनेको छ । पार्टीको नीति र नेतृत्व परिवर्तन नगरी निर्वाचनमा जान सकिँदैन भन्ने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित इतरपक्षका अधिकांश नेताको धारणा छ । तर, महाधिवेशनमा होमिँदा निर्वाचनको तयारी गर्न सकिँदैन भन्दै संस्थापन पक्षका नेताहरू आगामी वैशाखमा महाधिवेशनको तालिकाको प्रस्ताव गरिरहेका छन् ।
यो दोहोरो रस्साकस्सीमा कांग्रेस आन्तरिक विवादको चक्रव्युहमा फसेको छ । खासमा कुरा के हो त ? कांग्रेसका पूर्वपदाधिकारी तथा संस्थापन पक्षका नेता विमलेन्द्र निधिसँग कुलचन्द्र न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश :
तपाईंहरूले महामन्त्रीलाई पार्टीको १५ औं महाधिवेशनको कार्यतालिका ल्याउनबाट रोक्नु भयो भन्ने आरोप छ, के भन्नुहुन्छ ?
महामन्त्री गगन थापाले जसरी भए पनि मंसिर/पुसको कार्यतालिका ल्याउँछु भनेका छन् । हामीहरू त्यो सहमतिको प्रस्ताव हुँदैन, व्यक्तिको प्रस्ताव हुन्छ, त्यसो हो भने हाम्रो संस्थापन पक्षबाट पनि वैशाख महिनामा महाधिवेशन गराउने गरी कार्यतालिकाको प्रस्ताव आउँछ । दुइटै प्रस्ताव पेस गरौं । केन्द्रीय कार्यसमितिले जे निर्णय गर्छ, त्यसैलाई मानेर जाउँ भन्दा उहाँहरू मान्नु हुन्न । हाम्रो मात्रै जानुपर्छ भन्ने कुरा गर्नुभएको छ । प्रजातन्त्रमा यस्तो कहाँ हुन्छ ?
कांग्रेसलाई अनिर्णयको बन्दी बनाउने त तपाईंहरू नै मुख्य कारण हो भनेर दुवै पक्षका नेताले सुनाउने गर्छन् । उनीहरूले भनेजस्तै हो त ?
हो, हामीले महामन्त्रीको कुरा मात्रै किन मान्ने ? यसमा लुकाउने कुरै छैन । एउटा पक्षलाई पार्टी पूरै कब्जा गर्न दिने भन्ने कुरा हुन्न । नेविसंघमा जस्तो सूचना टाँस्ने प्रवृत्ति पार्टीमा गर्नु भएन । हाम्रो, एकमात्रै कुरा निर्वाचन नबिथलौं । त्यसका लागि निर्वाचन अगाडि महाधिवेशन नगरौं भन्ने हो । हामीसँग त भन्नुभएको छैन । तर, बाहिर यही नेतृत्व राखेर निर्वाचनमा जान सकिँदैन भनेको सुन्छु । यही नेतृत्व भनेको को हो ? शेरबहादुर देउवा, पूर्णबहादुर खड्का कि गगन थापा ? शेरबहादुरजीले छोडिसक्नु भयो । सक्रिय राजनीतिमा नफर्किने गरेर कार्यवाहक दिइसक्नु भएको छ । एक हिसाबले नेतृत्व हस्तान्तरण भइसकेको अवस्था छ । त्यसैले अब कांग्रेसको मूल एजेण्डा निर्वाचन बन्नुपर्छ ।

२०७२ सालमा संविधान जारी गर्ने बेलामा पनि हामीले पार्टीको महाधिवेशनलाई पछाडि धकेलेका थियौं । त्यसैगरी यसपटक पनि प्रतिनिधिसभाको निर्वाचनलाई सर्वोपरि प्राथमिकतामा राखेर अघि बढ्नुपर्छ । त्यसैले पहिला निर्वाचनमा भाग लिने गरी पार्टीको औपचारिक निर्णय गर्नुपर्छ । निर्वाचनमा जाने विषयमा कहीँकसैको विमित छैन । सहमति भएको विषयमा पहिला निर्णय गरौं । किनकि कांग्रेसले अहिलेसम्म निर्वाचनमा भाग लिन्छौं भनेर भन्न सकेको छैनौं । आगामी पुसमा समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउने कार्यतालिका आइसकेको छ । बन्द सूचीको नाम कहाँबाट ल्याएर दिने ? सिधै ल्यापटपबाट झिकेर दिने त होइन होला । तलबाट प्रक्रियासम्मत नाम आउनुपर्छ होला । पहिला यसको कार्यतालिका खोइ ? महाधिवेशन भन्दा पनि अहिले राष्ट्रको सामुन्नेमा यो महत्त्वपूर्ण तालिका होइन ?
मंसिर/पुसमै महाधिवेशन गराउने कार्यतालिकामा संस्थापनपक्ष पक्ष तयार नभएमा महामन्त्रीले एकतर्फी रूपमा भए पनि प्रस्तुत गर्ने कुरा भएको छ नि ? त्यो भयो भने के गर्नुहुन्छ ?
महामन्त्रीले सहमतिबाट नभएर एकल रूपमा प्रस्तुत गरे त्यसको काउन्टरमा हामीहरूका तर्फबाट अर्को प्रस्ताव आउँछ । महामन्त्रील प्रस्ताव प्रस्तुत गर्ने, अरुले गर्न नपाउने भन्ने कुरा हुन्न । सहमति नभइसकेपछि हामीले पनि भनेका छौं कि, महामन्त्रीबाट एकल प्रस्ताव आओस्, हामी पनि प्रस्ताव ल्याउँछौं । दुवै प्रस्तावलाई केन्द्रीय कार्यसमितिमा प्रस्तुत गरौं र केन्द्रीय कार्यसमितले जे निर्णय गर्छ, त्यही अनुसार जाऊँ । यो नै लोकतान्त्रिक प्रक्रिया हुन्छ ।
एउटा पार्टीको महाधिवेशन गराउने विषयमा पनि कांग्रेस किन अनिर्णयको बन्दी बन्दै छ ?
कांग्रेसका दुई महामन्त्रीले पार्टीलाई अनिर्णयको बन्दीमा बनाएका हुन् । निर्वाचन सम्बन्धमा पार्टीमा विवाद छैन । जनता र देशसँगको सरोकारको विषय भएकाले पहिला निर्वाचनको विषयमा नै निर्णय गरौं भन्दा पनि नमानेपछि केही पदाधिकारीमाथि हामीलाई शंका उब्जेको छ । निर्वाचनमा भाग नलिनका लागि पार्टीलाई यिनीहरूले अनिर्णयको बन्दी बनाए भनेर भ्रम फैलाउने काममा लागेका त होइनन् ?
भदौ २४ अघि र पछिको स्थिति एउटै होइन । जेनजी आन्दोलनपछि पनि कांग्रेस सच्चिन तयार भएन भन्ने आरोप पनि तपाईंहरूमाथि नै लागेको छ नि ?
जेनजी पुस्तालाई क्रियाशील सदस्यता दिने, टिकट दिने कुरामा कसैको विमति छैन । उहाँहरूको हातमा पार्टी जिम्मा दिँदैमा सच्चिने हो र ? हामी सच्चिएका छौं, सच्चिन चाहन्छौं । उहाँहरूको भन्दा हाम्रो अनुभव धेरै छ । हामी पनि राजनीति गरेर नै यहाँसम्म आएका हौं । सच्चिने भनेको नियमित र राजनीतिक प्रक्रियामा हिँड्न सक्नुपर्छ । अहिलेका लागि पार्टीहरू सच्चिनु भनेको प्रतिनिधिभसाको निर्वाचनमा भाग लिने, राजनीतिमा जेनजी पुस्ताको प्रतिनिधित्व बढाउनु हो ।
जेनजी पुस्तालाई पार्टीभित्र प्रवेश गराउन ढोका खोल्ने काम हो । त्यसका लागि तयारी गरौं । क्षेत्रीय समितिले उम्मेदवार चयन गर्छ । १ सय ६५ निर्वाचन क्षेत्रमा जेनजी पुस्ताले कुन–कुन क्षेत्रमा चुनाव जित्न सक्छ ? कुन–कुन क्षेत्रमा जेनजी पुस्ताको सम्भावना छ ? त्यसको तयारीमा लागौं । त्यसै अनुसार टिकट दिऊँ । ट्रयाकमा ल्याउन सबैभन्दा पहिलो प्रतिनिधिसभा ल्याउनुपर्छ । त्यसका लागि निर्वाचनमा जानुपर्छ । क्षतिग्रस्त भएको संविधानलाई ट्रयाकमा ल्याउने काममा लाग्नु पर्छ । त्यसका लागि प्रतिनिधिसभामा भाग लिने, जेनजी पुस्ता, महिला दलितलगायत जनताको भावना अनुसार उम्मेदवार दिने र जिताउने नै कांग्रेस सच्चिने बाटो हो ।
महाधिवेशनको कार्यतालिका निर्वाचनअगाडि आउँदैन भन्ने हो ?
निर्वाचनअगाडि हामी चाहँदैनौं । मंसिरपछि केन्द्रीय कार्यसमितिको म्याद थप्नुपर्छ । पुसमै महाधिवेशन गर्न पनि म्याद थप्नुपर्छ । तर, अहिलेको अवस्थामा ‘ट्रयाक’ बाहिर गएको संविधान र राजनीतिलाई लिकमा ल्याउन पहिला प्रतिनिधिसभा ल्याउनुपर्छ । ल्याउनका लागि सबै पार्टी निर्वाचनमा होमिनुपर्छ । निर्वाचनअगाडि महाधिवेशनलाई समय दिन सकिन्न । घरमा रोटी पकाउँदा तावामा रोटी राख्ने र अन्त ध्यान दिने हो भने रोटी डढ्छ । त्यसैले हाम्रो एकमात्रै फोकस यतिबेला निर्वाचन नै हुनुपर्छ । सामान्य अवस्थामा पनि निर्वाचनको तयारी गर्न समय लाग्छ । त्यसैले अहिले पार्टीको महाधिवेशन भन्दा पनि निर्वाचनको विषय प्राथमिकता हो । अहिले महामन्त्रीहरूले जे गरिरहुन भएको छ, त्यो अदूरदर्शी, अपरिपक्व छ । यसले ल्याउने दुष्परिणामको पक्षमा हामी छैनौं ।

निर्वाचनअगाडि महाधिवेशन नगर्दा विशेष महाधिवेशन बोलाउने बाध्यात्मक अवस्था हुन्छ नि ?
विशेष महाधिवेशन पनि हामी गर्न तयार छौं । तर, अहिले उहाँहरू नियमित महाधिवेशनको कुरा गर्नुभएको छ । विशेष महाधिवेशनको कुरा सार्वजनिक रूपमा गर्नुभए पनि आन्तरिक छलफलमा त्यो विषय आएको छैन । नियमित महाधिवेशन गर्न हामी तयार नै छौं । खाली समयको कुरा हो । उहाँहरू पुसमा भन्नुहुन्छ, हामीहरू वैशाखमा भन्दै छौं । पार्टीको सम्पूर्ण शक्ति चुनावमा लगाउने बेलामा कसरी अगाडि महाधिवेशन गर्न सकिन्छ भन्ने हाम्रो कुरा हो ।
केन्द्रीय कार्यसमितिको कार्यकाल बढाएर वैशाखमा महाधिवेशन गर्ने हो भने विधानकै व्यवस्थाअनुसार तीन महिना अर्थात् पुस २७ सम्म त विशेष महाधिवेशन बोलाउनुपर्ने बाध्यात्मक स्थिति रहन्छ त ?
तीन महिनामा विशेष महाधिवेशन गर्ने भनेको पुसको अन्त्यतिर हो । पुसमा विशेष महाधिवेशन गर्ने हो भने पनि म्याद नथपी सुखै छैन । मंसिरबाट कार्यकाल सकिन्छ । मंसिर मसान्तबाट म्याद थप्नुपर्छ । विशेष होस् कि नियमित होस्, म्याद नथपी हुन्न । म्याद थप्नका लागि विधानमा एक वर्षको सुविधा छ । यसअघि पनि म्याद थप्ने परम्परा हो । एक जना महामन्त्रीले म्याद थप्ने प्रस्ताव ल्याउँदिन भनेर हुन्छ त ? म्याद नथपे कसरी महाधिवेशन हुन्छ ?
मंसिर/पुसमा नियमित भएन भने विशेष महाधिवेशन हुन्छ त ?
नीति, नेतृत्व र कार्यसंगतिको कुरा गरेर विशेष महाधिवेशनको माग गरिएको छ । नेतृत्व भनेको खालि सभापतिको मात्रै कुरा हुन्न । सभापति नेतृत्व छोड्नका लागि तयार नै हुनुहुन्छ । त्यसका लागि पनि निर्वाचनको प्रक्रियामा जानुपर्छ । सभापतिको उम्मेदवारको कुरा हुन्छ । मतदाता १४ औं महाधिवेशनका प्रतिनिधि हुन्छन् । उम्मेदवार के हुने ? चौधौ महाधिवेशनमा लडेका उम्मेदवार हामी चार जना थियौं । चारै जना मात्रै हुने हो कि, अरु थपिने ? उम्मेदवार हुन नदिने कुरा भएन । यो सबै कुरा गर्नका लागि समय लाग्छ । निर्वाचनको मुखमा पार्टी र पार्टीका कार्यकर्ताले समय दिन सक्दैनन् । अगाडि महाधिवेशन हुँदा त्यसको तिक्तताले निर्वाचनमा दुष्परिणाम ल्याउने काम हुन्छ । यो कुरामा सचेत हुनुपर्छ ।
– कुलचन्द्र न्यौपाने (कान्तिपुर)









