07/03/2025, 00:33:23

युद्धपछिको अवस्थामा सहायता बजेट दोब्बर आवश्यक : संयुक्त राष्ट्रसंघ


जेनेभा, १८ असार  : संयुक्त राष्ट्रसंघका उच्च अधिकारीले हालै इजरायलसँगको द्वन्द्वपछिको अवस्थालाई ध्यानमा राख्दै इरानका लागि मानवीय तथा विकास सहयोगसम्बन्धी बजेट दोब्बर पार्नु पर्ने आवश्यकता औंल्याएका छन् ।

संयुक्त राष्ट्रसंघका इरानस्थित आवासीय संयोजक स्टेफान प्रिस्नरले मंगलबार जेनेभामा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो, “हाल हामी सन् २०२५ का लागि बजेट निर्माणको प्रक्रियामा छौं । आवश्यक सहयोग रकम उल्लेखनीय रूपमा बढ्ने देखिएको छ । यद्यपि, ठ्याक्कै कति आवश्यक पर्छ भन्ने विषयमा भन्न अलि चाँडो होला, तर दोब्बर रकमको अपेक्षा गरिँदैछ ।

उहाँले सन् २०२४ मा संयुक्त राष्ट्रसंघले इरानमा मानवीय र विकास सम्बन्धी कार्यका लागि ७५ मिलियन अमेरिकी डलरको बजेट विनियोजन गरेको जानकारी दिनुभयो, जसमा करिब ५० मिलियन शरणार्थी सम्बन्धी कार्यक्रम र २५ मिलियन विकास कार्यक्रमहरूमा खर्च गरिएको थियो । प्रिस्नरका अनुसार, इरानले हाल विश्वकै सबैभन्दा ठूलो शरणार्थी जनसंख्या करिब ३५ लाखलाई आश्रय प्रदान गरिरहेको छ, जसमा अधिकांश अफगान नागरिकहरू रहेका छन् ।

तेहरानबाट सम्बोधन गर्दै उहाँले आशा व्यक्त सहायता र विकास कार्यक्रमहरूलाई अन्य राजनीतिक वा कूटनीतिक विषयहरूबाट अलग राखेर हेर्ने दृष्टिकोणले अन्तर्राष्ट्रिय सहयोगलाई अझ प्रभावकारी बनाउने गर्नुभयो ।

गत जुन १३ मा इजरायलले इरानमाथि आक्रमण आरम्भ गरेको थियो, जसमा केही वरिष्ठ सैनिक अधिकारी र आणविक वैज्ञानिकहरूको मृत्यु भएको थियो । उक्त आक्रमणमा सैन्य आधारशिविर, आणविक पूर्वाधार र बस्तीहरू समेत प्रभावित भएका थिए । इरानले त्यसको जवाफमा मिसाइल तथा ड्रोनद्वारा इजरायली सहरहरूमा आक्रमण गरेको थियो । अन्ततः जुन २४ मा युद्धविराम लागू गरिएको थियो ।

प्रिस्नरले भन्नुभयो, “सन् २०२२ मा संयुक्त राष्ट्रसंघ र इरान सरकारबीच सार्वजनिक स्वास्थ्य, सामाजिक र आर्थिक लचिलोपन, वातावरणीय संरक्षण, विपद् व्यवस्थापन र लागू औषध नियन्त्रणका क्षेत्रमा पाँचवर्षे सहयोग कार्यक्रममा सहमति भएको थियो । हाल युद्धपछिको आवश्यकता अनुसार उक्त कार्यक्रम परिमार्जन गर्ने विषयमा छलफल जारी रहेको बताइएको छ ।

संयुक्त राष्ट्रसंघको इरानस्थित कार्यालयमा करिब ५० जना अन्तर्राष्ट्रिय र ५०० जना स्थानीय कर्मचारी कार्यरत छन् । इजरायली आक्रमणको समयमा केही कर्मचारी र उनीहरूका परिवारहरूले सुरक्षित स्थानमा सर्नुपरेको भए पनि हाल पुनः नियमित रूपमा कार्य सञ्चालन भइरहेको उहाँले स्पष्ट पार्नुभयो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ