07/01/2025, 16:18:32

मेयर र अधिकृत आ–आफ्नै अडानमा, काठमाडौंको बजेट अझै अन्योलमा


काठमाडौँ, १७ असार : काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउने विषयमा अझै पनि अन्योल कायम छ । बजेट ल्याउने विषयमा नगरप्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल र वडाध्यक्षहरूबीच अनौपचारिक छलफल भए तापनि अझै कार्यपालिका बैठक बस्ने टुंगो लागेको छैन । वडाध्यक्षहरूले बहुमतका आधारमा बैठक बोलाउने भने पनि प्रस्ताव दर्ता गरिसकेका छैनन् ।

प्रमुख शाह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं अझै आ–आफ्नो अडानमा छन् । प्रमुख शाह गुरागाईंको संलग्नतामा बैठक राख्ने पक्षमा छैनन् । शाहको सचिवालयका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंका अनुसार कार्यपालिका बैठक बस्न गुरागाईं कि त बिदामा बस्नुपर्नेर् वा सरुवा भएर जानुपर्ने अडानमा शाह छन् । ‘नत्र शाह बैठक राख्ने पक्षमा छैनन्,’ उनले भने ।

प्रमुख प्रशासकीय अधिकृत गुरागाईं भने बिदामा बस्ने पक्षमा छैनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पनि उनलाई सरुवा गर्ने पक्षमा छैन । शाह र गुरागाईंबीच पुरानो बसपार्कस्थित काठमाडौं टावर भवन निर्माणको नक्सा स्वीकृतको विषयलाई लिएर विवाद रहँदै आएको छ । यही विवादका कारण महानगरको कार्यपालिकाको बैठक गत पुसदेखि बसेको छैन ।

गुरागाईंमाथि काठमाडौं टावर भवन निर्माणको नक्सा वातावरणीय परीक्षणबिना १२ तलेबाट १९ तले बनाउन प्रक्रिया नै पूरा नगरी स्वीकृत गरेको आरोप छ । काठमाडौं–२८ पुरानो बसपार्कस्थित कित्ता नम्बर १३७३ मा रहेको २३ रोपनी ५ आना ३ पैसा ३ दाममा टावर निर्माण गर्न २०७१ फागुन २० मा बसेको महानगरको कार्यपालिका बैठकले निर्णय गरेको थियो । सोही निर्णयबमोजिम २०७१ फागुन २२ गते जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स र महानगरबीच सम्झौता भएको थियो ।

प्रक्रिया नपुर्‍याई नक्सा स्वीकृत गरेको विषयमा २०८१ पुसमा गुरागाईंमाथि छानबिन गर्न पूर्वसचिव शंकरप्रसाद पाण्डेको संयोजकत्वमा ३ सदस्य समिति गठन गरिएको थियो । तर, समितिले हालसम्म पनि प्रतिवेदन बुझाएको छैन ।

समितिले प्रतिवेदन तयार गर्न नसकेपछि प्रमुख शाहले गत फागुन १९ मा महानगरकै सार्वजनिक निर्माण विभाग, सहरी व्यवस्थापन विभाग, कानुन तथा मानवअधिकार विभागबाट राय लिएर संघीय मन्त्रालयमा बुझाएका छन् । चैत २० मा उपप्रमुख डंगोल र केही वडाध्यक्षले गुरागाईंलाई जबर्जस्ती कार्यकक्षमा छिराएका थिए । टकरावबीच जेठ २८ मा प्रमुख र उपप्रमुखबीच भएको छलफलमा महानगर प्रवक्ता नवीन मानन्धर, वडा ३२ का अध्यक्ष नवराज पराजुली, १५ का अध्यक्ष ईश्वरमान डंगोल पनि सहभागी थिए । उक्त छलफलले पनि कार्यपालिका बैठक बस्ने टुंगो भने लगाउन सकेन ।

काठमाडौं महानगरपालिकाका सहायक प्रवक्ता ध्रुवकुमार काफ्ले असार मसान्तभित्र जसरी भए पनि बजेट आउने बताउँछन् । ‘विषयगत समितिको बैठक भइरहेको छ,’ उनले भने ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले समयमा बजेट नआउनुको कारणबारे काठमाडौं महानगरका जनप्रतिनिधिसँग बुझिरहेको बताए । ‘प्रमुख प्रशासकीय अधिकृत गुरागाईंको कार्यक्षमताबारे के गर्ने भनेर छलफल गरिरहेका छौं,’ उनले भने ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ