जेनेभा, १६ असार : दक्षिणी युरोपमा तीव्र गर्मीको लहर चलिरहेका बेला संयुक्त राष्ट्रसंघका मानवअधिकार उच्चायुक्त भोल्कर टुर्कले जलवायु परिवर्तनले मानिसको जीवन र अधिकारमा गम्भीर खतरा उत्पन्न गराइरहेको बताउनुभएको छ ।
संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्लाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “जलवायु सङ्कट भनेको मानवअधिकारको सङ्कट हो । तापक्रमको वृद्ध, समुद्री सतहको बढ्दो मात्रा, बाढी, खडेरी र डढेलोले जीवन, स्वास्थ्य, स्वच्छ, स्वस्थ र दिगो वातावरणमा बाँच्न पाउने अधिकारसहित अन्य धेरै अधिकारहरूमा असर पु¥याइरहेका छन् ।”
उच्चायुक्त टुर्कले युरोपमा देखिएको हालको गर्मीको लहरले जलवायु परिवर्तनसँग जुध्न आवश्यक तयारी तथा उपायहरू अपनाउन सबैको ध्यान जानु पर्ने बताउनुभयो । उहाँले जीवाश्म इन्धन प्रयोग गर्ने उद्योगहरूले गलत प्रचार र झुटा समाधानमार्फत वास्तविकता लुकाउने प्रयास गरिरहेको, साथै वातावरणीय क्षतिबाट ध्यान हटाएर मुनाफा कमाइरहेकोप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले यस्ता उद्योगलाई जवाफदेही बनाउने उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो ।
“प्राकृतिक स्रोतको दुरुपयोगबाट लाभ उठाउने व्यक्तिहरू र संस्थाहरूले त्यसको मूल्य तिर्नुपर्छ ।”
उच्चायुक्तका अनुसार जलवायु रूपान्तरणका लागि दिइने अन्तर्राष्ट्रिय आर्थिक सहयोग प्रायः ऋणको रूपमा हुने भएकाले यसले गरिब तथा विकासोन्मुख मुलुकहरूमा थप ऋणको बोझ सिर्जना गरिरहेको छ । “आज करिब तीन अर्ब ३० करोड मानिस यस्ता मुलुकहरूमा बसोबास गर्छन्, जसले शिक्षा, स्वास्थ्यभन्दा बढी रकम ऋणको ब्याज तिर्न खर्च गरिरहेका छन्,” उहाँले बताउनुभयो । उहाँले मानवअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय कानुनले वातावरण र जलवायु जोगाउन राष्ट्रहरूको कर्तव्य प्रष्ट रूपमा परिभाषित गर्दै लगेको र यो प्रक्रियाले जलवायु न्याय सुनिश्चित गर्न सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
जलवायु परिवर्तनसम्बन्धी छलफल भइरहेका बेला जेनेभामा अत्यधिक गर्मी भएकाले मानवअधिकार परिषद्का अध्यक्षले पोशाकसम्बन्धी नियममा केही सहजता अपनाउँदै टाइ नलगाउने निर्णय गर्नुभएका थिए । सो दिन त्यहाँको तापक्रम ३३ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको थियो ।