दमौली (तनहुँ), १४ असारः जिल्लामा पहिलो पटक ७० रोपनी क्षेत्रफलमा गरिएको व्यावसायिक अङ्गुरखेती अवलोकन गर्न आन्तरिक पर्यटकको आकर्षण बढेको छ । घिरिङ गाउँपालिका–४ बाह्रबीसेमा व्यावसायिक रूपमा थालिएको अङ्गुरखेती हेर्न जिल्लाका विभिन्न क्षेत्रबाट आन्तरिक पर्यटक पुग्न थालेका हुन् ।
काठमाडौँ चन्द्रागिरिका कुमार कार्कीले पाँच वर्षअघि यहाँ जग्गा खरिद गरी व्यावसायिक रूपमा अङ्गुरखेती गरिरहनुभएको छ । विसं २०७७ मा घिरिङ भिनेयार्ड एग्रो रिसर्च सेन्टर दर्ता गरी खेती सुरु गर्नुभएकामा अहिले फार्ममा लटरम्म अङ््गुर फलेका छन् ।
करिब ७० रोपनी क्षेत्रफलमा डिभिको, चार्डोनी, अर्काडिया, सोन्जालगायत २१ प्रजातिका अङ्गुर लगाएको कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाको पहिलो अङ्गुरखेती हेर्न दैनिक ५० जनासम्म आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका छन् ।
व्यास नगरपालिका–५ का मोहनकुमार श्रेष्ठले लटरम्म फलेका अङ्गुरले यहाँ पुग्ने जोकोहीलाई लोभ्याउने बताउनुभयो । अङ्गुर फार्ममा पुग्नुभएका छिमेकी ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले अङ्गुरखेती प्रशंसालायक रहेको उल्लेख गर्नुभयो ।
सञ्चालक कार्कीका अनुसार फार्ममा चार जनाले स्थायी र २० जनाले ज्यालादारीका रूपमा रोजगारी पाएका छन् । स्वीट्जरल्याण्डबाट प्रतिबिरुवा रु ७०० देखि एक हजारसम्ममा खरिद गरी यहाँ ल्याएर रोपिएको उहाँले जानकारी दिनुभयो । अङ्गुरखेतीका लागि हालसम्म रु एक करोड ५० लाखभन्दा बढी लगानी भइसकेको उहाँले बताउनुभयो ।
कार्कीका अनुसार यहाँ उत्पादित अङ्गुर वाइन बनाउनका लागि धादिङ पठाउने गरिएको छ । सात सय ५० मिलिलिटरका बोतलमा विभिन्न तीन प्रकारका वाइन उत्पादन भइरहेको उहाँले जानकारी दिनुभयो ।
वाइन बनाउने कम्पनीले धादिङको थाँक्रे गाउँपालिका–१० जुङेखोला केवलपुरमा विगत १५ वर्षदेखि ३०० रोपनी क्षेत्रफलमा ३० हजार बिरुवा लगाएर व्यावसायिक अङ्गुरखेती गरी वाइन उत्पादन गर्दै आएको कार्कीले बताउनुभयो ।
धादिङमा रु ३८ करोड ५० लाखको लागतमा अङ्गुरखेती र वाइन उत्पादन भइरहेको भन्दै त्यहाँ उत्पादित वाइन प्रतिबोतल रु एक हजार २०० मा बिक्री भइरहेको उहाँले उल्लेख गर्नुभयो ।
कार्कीले भन्नुभयो, “कम्पनीसँग हाल वार्षिक तीन लाख लिटर वाइन उत्पादन गर्ने क्षमता छ ।” वर्षामा एकपटक अङ्गुर फल्ने भएकाले अन्य समयमा फार्ममा रेखदेख, गोडमेल, काँटछाँट, बिरुवा मरेका ठाउँमा नयाँ बिरुवा लगाउनेलगायत कार्य गरिएको उहाँको भनाइ छ ।
फार्ममा हारियोमा सुजी, कायाबिनेट क्यान्टर, मनाज, सोबिनियन ग्रिस तथा खानका लागि फन्नी, सोफिया, आरकडिया, पोलिस्की, दुचबा, चालिचमानलगायत जातका अङ्गुर छन् । अङ्गुरको बोटमा चैत, वैशाखमा फूल फुल्छ भने त्यसपछि तीन महिनामा फल टिप्न तयार हुन्छ ।
यहाँको हावापानी उपयुक्त रहेकाले व्यावसायिक रूपमा अङ्गुरखेती भइरहेको घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले बताउनुभयो ।