06/27/2025, 15:52:44

प्रज्ञा प्रतिष्ठानले गण्डकी प्रदेशस्तरीय प्रज्ञा नारी कावय महोत्सव गर्ने


काठमाडौँ १३ असार : नेपाल प्रज्ञा प्रतिष्ठानले यही असार १४ र १५ गते गण्डकी प्रदेशस्तरीय प्रज्ञा नारी काव्य महोत्सव गर्ने भएको छ ।

मौलिक सृजनाका माध्यमद्वारा सम्बन्धित विषयका उपयोगी कृतिहरू तयार गर्ने, गराउने उद्देश्यले मोफसलका साहित्यलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहमा प्रवर्द्धन गर्न प्रतिष्ठानले तनहुँको दमौलीमा महोत्सव गर्न लागेको हो ।

उक्त प्रदेशका ११ जिल्लाका नारी कविहरूको कविता प्रस्तुति गरिने महोत्सवमा गण्डकीका नारीकवि र कविताका प्रवृत्ति विषयक कार्यपत्र प्रस्तुति तथा पूरक व्याख्या, काव्य सृजनामा नारी अन्तक्र्रिया, सङ्गोष्ठी गरिने प्रतिष्ठानका काव्य विभाग प्रमुख बाबा बस्नेतले जानकारी दिनुभयो । त्यहाँका कवि एवं प्रतिभाको सम्मान गर्न महोत्सवले सहयोग पुर्याउने जनाइएको छ ।

प्रतिष्ठानको ६८औँ वार्षिकोत्सवका अवसरमा हालै राष्ट्रिय कविता महोत्सव गरी १० उत्कृष्ट कवि छनोट गरेको छ । मुलुकमा सबै जाति, समुदायका भाषा तथा तिनमा लेखिएका साहित्य, संस्कृति, सामाजिक शास्त्र एवं दर्शनशास्त्रसम्बन्धी विभिन्न विषयको अध्ययन, अनुसन्धान गर्दै आएको प्रतिष्ठानले अन्तरराष्ट्रियस्तरमा सृजनात्मक चिन्तन र रचनात्मक कार्यमा जनताको सहभागिता र अभिरुचि वृद्धि तथा सांस्कृतिक क्षेत्रको सर्वागीण विकास गर्ने लक्ष्य राखेको छ ।

प्रतिष्ठानले नेपाली भाषामा विदेशी भाषाका उच्चस्तरीय कृतिको अनुवाद गर्ने तथा नेपाली भाषाका उच्चस्तरीय कृतिको विदेशी भाषामा तथा नेपालकै विभिन्न भाषामा अन्तरभाषिक अनुवाद गराउँदै आएको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ