06/20/2025, 15:46:47

बस्ती जोगाउन कञ्चनपुरमा जैविक तटबन्ध निर्माण


कञ्चनपुर, ६ असारः खेलमैदान, कभर्ड हल र बस्ती जोगाउनका लागि शुक्लाफाँटा नगरपालिका–१० स्थित सनवोरा नदीमा जैविक तटबन्ध निर्माणको कार्य गरिएको छ । बाँसको प्रयोग गरी नदीले भू–क्षय गर्दै आएको ३०० मिटर क्षेत्रमा जैविक तटबन्ध निर्माणको कार्य गरिएको छ ।

उपकरणको सहायताले नदीमा बाँस गाडेर त्यसमा बाँसकै छेस्काले बुनेर जैविक तटबन्ध निर्माण गर्ने कार्य गरिएको नगरपालिकाको पूर्वाधार विकास शाखा प्रमुख दीपक धामीले बताउनुभयो । जैविक तटबन्ध निर्माणका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सूचीकृत भई १०० दिनको रोजगारीका लागि छनोट भएका व्यक्तिहरुलाई परिचालन गरिएको उहाँले बताउनुभयो ।

दक्ष कामदार, मेसिनरीको भाडा, इन्धन खर्च, बाँस खरिदलगायतका लागि नगरपालिकाले रु पाँच लाख बजेट खर्च गरेको छ । नदीमा जैविक तटबन्ध निर्माण भएपछि खेलमैदानको सुरक्षासँगै हालै निर्माण भएको कभर्ड हल क्षेत्रको जग्गा भूक्षय हुनबाट रोकिने उहाँले विश्वास व्यक्त गर्नुभयो । नदी छेउमै रहेको खल्ला बस्तीका बासिन्दालाई पनि नदीको बाढीबाट सुरक्षा हुने शाखा प्रमुख धामी बताउनुहुन्छ ।

बाँसको जैविक तटबन्ध उपयोगी, वातावरणमैत्री र कम लागतमै निर्माण हुन्छ”, उहाँले भन्नुभयो, “कटान रोक्न, नदी तटीय क्षेत्रको प्राकृतिक पुनःस्थापना गर्न सहायक हुन्छ ।

जैविक तटबन्ध निर्माण भएको क्षेत्रको तटीय क्षेत्रमा बोट बिरुवा, घाँसपात रोप्ने तयारी भइरहेको शाखा प्रमुख धामीले उल्लेख गर्नुभयो । घाँस र बोटबिरुवाको जराले माटोलाई बाँधेर राख्ने कार्य गर्छ, भूक्षय हुन नदिने भएकाले त्यसका लागि कार्य अगाडि बढाइने उहाँ बताउनुहुन्छ ।

सस्तो र स्थानीय साधनस्रोतमै निर्माण हुने जैविक तटबन्ध वातावरणमैत्री र दीर्घकालीन संरक्षणको उपायका रुपमा रहेको शाखा प्रमुख धामीको भनाइ छ । सो क्षेत्रको भूक्षयको उच्च जोखिममा रहेको ठाउमा भने जलस्रोत तथा सिँचाइ विभागको रु १५ लाखको लागतमा ९० मिटर तारजाली र ढुङ्गाको तटबन्ध निर्माण गरिएको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ