06/18/2025, 03:04:54

ट्रम्पले इरानविरुद्ध ‘थप कदम’ चाल्न सक्ने उपराष्ट्रपति भान्सको भनाइ


वासिङ्टन, ३ असार : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक कार्यक्रम रोक्न ‘थप कदम’ चाल्न आवश्यक रहेको निर्णय गर्न सक्ने उपराष्ट्रपति जेडी भान्सले मङ्गलबार बताउनुभएको छ ।

भान्सले एक्समा लेख्नुभएको छ, “राष्ट्रपतिले हाम्रो सेनाको ध्यान हाम्रा सेनाको सुरक्षा र हाम्रा नागरिकको सुरक्षामा केन्द्रित गर्न उल्लेखनीय संयम देखाउनुभएको छ । उहाँले इरानी युरेनियम संवद्र्धन अन्त्यका लागि थप कदम चाल्न आवश्यक रहेको निर्णय लिन सक्नुहुन्छ।

–इन्टरनेट सेवा अवरुद्ध –

यसैबीच, तेहरानबाट प्राप्त सूचना अनुसार इरान र इजरायलबीच लगातार पाँचौं दिन पनि हवाई आक्रमण भइरहँदा मङ्गलबार तेहरानमा ठूलो विस्फोटका आवाजहरू सुनिएका इरानी सञ्चारमाध्यमले जनाएका छन् ।

इजरायली आक्रमणका कारण इन्टरनेट सेवा अवरुद्ध भएको र यसले सूचना र समाचारको पहँचमा कठिनाई भइरहेको इरानी सञ्चारमाध्यमले मङ्गलबार जनाएका छन् ।

धेरै प्रान्तका इन्टरनेट प्रयोगकर्ताहरूले व्यापक रूपमा इन्टरनेट अवरुद्ध भएको रिपोर्ट गरिरहेका छन्,“ हाम मिहान पत्रिकाले समाचारमा उल्लेख गरेको छ । मङ्गलबार अन्य सञ्चारमाध्यमले पनि यस्तै समाचार सम्प्रेषण गरेका छन् ।

के कारणले अवरोध भएको हो भन्ने बारे तत्काल केही खुल्न सकेको छैन । इजरायलले शुक्रबार इरानी सेना र आणविक केन्द्रविरुद्ध अभूतपूर्व हवाई अभियान सुरु गरेसँगै इरानमा व्यापकरूपमा इन्टरनेट सेवा अवरूद्ध बनेको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ