किएभ, युक्रेन, १ असार : युक्रेनले यसै महिनाको सुरुमा इस्तानबुलमा भएको वार्तामा भएको आदानप्रदान सम्झौताअन्तर्गत रुसबाट थप एक हजार २०० शव हस्तान्तरण भएको जनाएको छ ।
युद्धबन्दीको सहयोगका लागि गठित युक्रेनी सङ्गठनको मुख्यालयले सामाजिक सञ्जालमा लेखेको छ, “रुसी पक्षले युक्रेनी नागरिक र सैनिकसहितको गरी थप एक हजार २०० शव युक्रेनमा फिर्ता गरिएको छ ।” युक्रेनका रक्षामन्त्री रुस्तम उमरोभले फेसबुकमा लेख्नुभएको छ, “यो साता चार हजार ८१२ शव फिर्ता गरिएको छ ।” उहाँले भन्नुभयो, “म यस मानवीय मिसनमा संलग्न सबैप्रति आभारी छु ।”
युक्रेनले कुनै पनि शव रुसी पक्षलाई हस्तान्तरण गरेको छ वा छैन भन्ने बारे केही बताएको छैन ।
गत जुन २ मा इस्तानबुलमा भएको पछिल्लो चरणको प्रत्यक्ष वार्तामा दुवै पक्षले कैदी र मारिएका सैनिकको शवको व्यापक आदानप्रदान गर्ने सहमति जनाएका थिए । रुस र युक्रेन दुवैले सामान्यतया आफ्नो सैन्य क्षतिको खुलासा गर्दैनन्।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसै वर्षको सुरुमा अमेरिकी समाचार संस्था एनबीसीलाई ४६ हजारभन्दा बढी युक्रेनी सैनिक मारिएको र तीन लाख ८० हजार भन्दा बढी घाइते भएको बताउनुभएको थियो । रुसले सन् २०२२ को सेप्टेम्बरसम्म छ भन्दा कम सैनिक मारिएको बताएको थियो । त्यसपछि उसले आफ्ना सैनिक मारिएको घोषणा गरेको छैन ।
स्थानीय अधिकारीहरू र परिवारका सदस्यहरूद्वारा मृत्यु घोषणाहरूको प्रकाशन जस्ता खुला स्रोतहरू प्रयोग गरेर धेरै स्वतन्त्र अनुसन्धानहरूले मस्कोतर्फ पनि ठूलो सङ्ख्यामा मृत्यु भएको रिपोर्ट गरेका छन् ।
रुसी वेबसाइट मिडियाजोना र बिबिसीको रुसी सेवाले मारिएका करिब एक लाख ११ हजार रुसी सैनिकको नाम पहिचान गरिएको जनाएको छ ।