१ असार, काठमाडौं : एक समय टेलिभिजनलाई ‘सानो पर्दा’ भनिन्थ्यो । तर पछिल्लो समय ओटीटी धेरै दर्शकहरूको रोजाइमा परेको छ । ओटीटी प्लेटफर्महरूले नयाँ-नयाँ कलाकार जन्माइरहेका छन् । अझ स्थापित कलाकारहरू पनि यतिबेला ओटीटीमा जबर्जस्त जमिरहेका छन् ।
बलिउडमा मनोज बाजपेयीदेखि नीना गुप्ता र जितेन्द्रसम्मका थुप्रै प्रतिभाशाली कलाकारहरूले ओटीटीमार्फत आफ्नो करियरलाई पुनः स्थापित गरेका छन् । उनीहरूको वेब सिरिजहरू सधैं चर्चामा रहन्छन् । ओटीटीमा कलाकारहरूले मोटो पारिश्रमिक पनि लिने गरेका छन् । त्यसमध्येका एक हुन् अभिनेता अजय देवगन ।
सन् २०२२मा अजय देवगनले डिज्नी प्लस हटस्टारको वेब सिरिज ‘रुद्र: द एज अफ डार्कनेस’ बाट ओटीटीमा डेब्यु गरे । यो ब्रिटिश शो ‘लूथर’ को हिन्दी रिमेक हो । यसमा अभिनय गरेपछि उनको पारिश्रमिक बढ्यो । भारतीय सञ्चारमाध्यमका अनुसार अजय देवगनले ‘रुद्र’ का सात एपिसोडका लागि कुल १ सय २५ करोड रुपैयाँ पारिश्रमिक लिएका थिए ।
यो तथ्याङ्क भारतीय ओटीटी इतिहासको अहिलेसम्मकै सबैभन्दा ठूलो पारिश्रमिक मानिन्छ ।