दाङ, ३१ जेठ : लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि आइतबार बजेट प्रस्तुत गर्ने भएको छ । दिउँसो ३ बजे बस्ने प्रदेशसभाको तेह्रौं बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले ‘राजस्व र व्ययको वार्षिक अनुमान‘ प्रदेशसभामा प्रस्तुत गर्ने सम्भावीत कार्यसूचीमा समावेश गरिएको छ ।
प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार मन्त्री कार्कीले वार्षिक बजेट प्रस्तुत गर्नुका साथै ‘प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक’ पनि सभामा पेस गर्नेछन् ।
सरकारले यस वर्षको बजेटमा प्रदेशको समृद्धि र विकाससँग जोडिएका मुख्य क्षेत्रहरूलाई प्राथमिकतामा राखेको छ । कृषि, उद्योग, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट केन्द्रित गर्ने सरकारको तयारी रहेको मुख्यमन्त्री चेतनारायण आचार्यले बताए ।
प्रदेश सरकारको नीति तथा कार्यक्रमको निरन्तरतामा आधारित यो बजेटले प्रदेशवासीको जीवनस्तर उकास्ने विश्वास सरकार लिएको उनले बताए । लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्षमा ३८ अर्ब ९७ करोडको बजेट ल्याएको थियो । यो आकारको तुलनामा आगामी वर्षको बजेट घटाएर ल्याउने तयारी सरकारले गरेको आचार्यले जानकारी दिए ।